पर्वत । पर्वतमा राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सेवा शुभारम्भ भएको घोषणा गरे । तिमिल्सिनाले आफ्नो व्यक्तिगत विवरण फारम भरे भने दर्ता सहयोगी मार्फत फोटो खिचाएका थिए ।
प्रशासन कार्यालयमा सेवा शुभारम्भ गर्दै तिमिल्सिनाले राष्ट्रिय परिचयपत्रको महत्वको बारेमा पनि प्रष्ट्याएका थिए । राष्ट्रिय परिचयपत्रले नागरिकलाई विभिन्न सेवा लिन र सरकारलाई व्यक्तिगत विवरण संकलन गर्न सहयोग पुग्ने उनको भनाइ छ । यो परिचयपत्रमा प्रयोग हुने चिप्समा व्यक्तिगत विवरण, भौतिक सम्पत्तिको अवस्था, बैंकिङ कारोबारको अभिलेख, सुरक्षा व्यवस्थापन लगायत विवरण राख्न सकिने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रशासनले बिहीवारदेखि सर्वसाधारणका लागि पनि परिचयपत्र वितरणको शुरुआत गरेको जानकारी दिएका छन् । तत्कालका लागि जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गरी परिचयपत्र वितरणको शुभारम्भ भएको भन्दै रेग्मीले भविष्यमा सातओटै स्थानीय तहमा सेवा विस्तार गरिने बताए । आगामी ३ वर्षमा १ लाख ५० हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ । अब नागरिकता प्राप्त सबै व्यक्ति र नयाँ नागरिकता प्राप्त गर्न आउने सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने जिल्ला प्रशासन कार्यालयको तयारी छ ।