ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक उत्पादन बढेपछि विद्युत् निर्यात गर्न शुरू

आगामी आवमा ४०० मेवासम्म विद्युत् निर्यात हुने

२०७७ असार, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । वर्षात्का कारण नदी खोलामा पानीको मात्रा बढेर विद्युत् उत्पादन बढेपछि भारततर्फ विद्युत् निर्यात गर्न शुरू गरिएको छ । हाल भारततर्फ दैनिक ७० मेगावाटदेखि ८० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ ।

नेपाल–विहारको परवानीपुर र रामनगर १३३ केभीे प्रसारण लाइनबाट भारततर्फ विद्युत् निर्यात भएको हो । विशेषगरी रातको समयमा बढी मात्रामा विद्युत् निर्यात हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत हप्तादेखि नै भारततर्फ विद्युत् निर्यात भइरहेको छ । भारतको विहार सरकारको आग्रहमा उक्त विन्दुबाट विद्युत् निर्यात गरिएको प्राधिकरणको भनाइ छ ।

अहिले नेपालमा निजीक्षेत्र, प्राधिकरणलगायतका आयोजनाबाट ११९८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमा ११२२ मेगावाट विद्युत् नेपालमा नै खपत भइरहेको छ, त्यसबाहेक बाँकी रहेको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

वर्षात्का कारण गत शुक्रवार विभिन्न जलविद्युत् आयोजनाको ५०० मेगावाट बराबरको उत्पादन बन्द भएको थियो । तर, हालसम्म अधिकांश प्रभावित आयोजना सञ्चालनमा आइसकेका छन्, फलस्वरूप विद्युत् आपूर्तिमा अहिले कुनै समस्या नभएको प्राधिकरणले बताएको छ । अहिले प्राधिकरणका आयोजनाबाट ५०६ मेगावाट, निजीक्षेत्रका आयोजनाबाट ३९७ मेगावाट र अन्य विविध आयोजनाबाट २९५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

भारतको विहार सरकारले विद्युत् माग व्यवस्थापन गर्न कठिन भएपछि नेपालसँग विद्युत् माग गरेको थियो । फलस्वरूप भारतमा विद्युत् विक्री गर्न सहज भएको प्राधिकरणको भनाइ छ ।

नेपालमा वर्षात्मा खोला नदीमा पानीको बहाव बढी हुनाले नेपालमा आन्तरिक बजारलाई आवश्यक पर्नेभन्दा बढी विद्युत् उत्पादन हुने गर्छ । त्यसैले यो समयमा प्राधिकरणले भारततर्फ विद्युत् निर्यात गर्दै आएको छ । प्राधिकरणले गत आर्थिक वर्षदेखि भारतको विहारमा विद्युत् निर्यात गर्दै आएको छ । हिउँदमा भने पानी कम भएर उत्पादन पनि कम हुने भएपछि भारतबाट नै आयात गरेर विद्युत् आपूर्तिमा सन्तुलन ल्याइने गरिएको छ ।

प्राधिकरणका अनुसार चालू आवमा भारतबाट रू. १२ अर्ब बराबरको १ हजार ५१९ गिगावाट विद्युत् आयात गरिएको छ । त्यस्तै, चालू आवको पुससम्म ६८ करोडभन्दा बढीको विद्युत् निर्यात भएको छ ।

भारतले नेपालबाट १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ९.८८ रुपैयाँ (भारू.६.१८) मा किन्दै आएको छ । नेपालले सोही प्रसारण लाइनमार्फत आउने विद्युत् पनि सोही दरमा नै आयात गर्दै आएको छ । ३३ केभी प्रसारण लाइनमार्फत हुने विद्युत्को आयातनिर्यातको मूल्य भने प्रतियुनिट १०.६८ रुपैयाँ (भारू.६.६८) पर्छ ।

विशेषगरी जेठदेखि कात्तिकसम्म नेपालदेखि भारतमा विद्युत् निर्यात हुने गर्छ । साउन असार, साउन तथा भदौमा २०० मेगावाटभन्दा बढी विद्युत् निर्यात हुने गरेको छ । प्राधिकरणका प्रवक्ता अधिकारीले आगामी साउन भदौमा पनि २०० मेगावाट विद्युत् निर्यात हुने बताए ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत आयोजनाबाट उत्पादन शुरू भएमा आगामी आवमा ४०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने उनको भनाइ छ । नेपालमा १२०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भएमा विद्युत् निरन्तर निर्यात गर्न सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)