ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो सिमेन्ट, डन्डी र क्लिंकरको मूल्य

२०७७ असार, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । बन्दाबन्दी केही खुकुलो हुनासाथ निर्माण सामग्रीको मूल्य बढाएका सिमेन्ट तथा फलामे छड उत्पादकहरूले अहिले पुनः मूल्य घटाएका छन् । सरकारले निर्माण सामग्रीसहित ४४ प्रकारका उद्योग व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि सिमेन्ट उद्योगीहरूले जेठमा प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए । पूर्वाधार निर्माणको अफ सिजन शुरू भइसकेको र कोरोना महामारीका कारण माग पनि घटेपछि अहिले सिमेन्ट, फलामे छड र क्लिंकरको मूल्यसमेत घटेको हो ।

बन्दाबन्दीकै बीच पछिल्लो १ महीनाकै अवधिमा सिमेन्टको मूल्यमा कमी आएको व्यवसायीहरू बताउँछन् । अहिले सिमेन्टमा प्रतिबोरा औसतमा ५० रुपैयाँसम्म मूल्य घटेको छ भने फलामे छडको मूल्य प्रतिकेजी ४ सम्म घटेको छ । मूल्य घटेसँगै अहिले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को औसत मूल्य प्रतिबोरा ७००–७२५ रुपैयाँ छ भने पोर्टल्यान्ड पोज्जोलना (पीपीसी) प्रतिबोरा ६०० रुपैयाँसम्ममा किन्न पाइन्छ । यसअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा क्रमशः ७६०–८०० रुपैयाँसम्म र पीपीसीको मूल्य ६५० रुपैयाँसम्म थियो ।

सिमेन्टलगायत निर्माण सामग्रीको माग घट्दा सिमेन्ट उत्पादकहरूले डिलरहरूमार्फत करोडौंको उधारो कारोबारलाई पनि बन्द गरेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेलले माग घटेकाले अहिले उधारो कारोबार नै बन्द गरिएको बताए । ‘सिमेन्टको कारोबार अहिले उधारोमा हुँदैन, बजारमा करोडौं रकम उठ्न बाँकी भएको र माग पनि कम आएकाले नगदमै कारोबार भइरहेको छ,’ पोखरेलले भने, ‘नगदमा कारोबार हुँदा मूल्य थप घट्छ र यो क्रम असोज/कात्तिकसम्म जारी रहनसक्छ ।’

त्यस्तै, सिमेन्टको प्रमुख कच्चा पदार्थ क्लिंकरको मूल्यमा समेत उच्च कमी आएको छ । क्लिंकरको अभाव देखिए पनि माग कम हुँदा यसको मूल्यमा प्रतिटन १ हजार रुपैयाँले कमी आएको छ । प्रतिटन ९ हजार ५०० रुपैयाँसम्ममा कारोबार हुँदै आएको क्लिंकरको मूल्य अहिले घटेर प्रतिटन ८ हजार ५०० रुपैयाँ पुगेको छ । सिमेन्ट तथा छडहरू उत्पादन गर्दै आएका उद्यमीहरूका अनुसार अहिले बन्दाबन्दीका कारण बीच ४० देखि ५० प्रतिशत क्षमतामा मात्रै उत्पादन भएको बताउँछन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष पोखरेलले पछिल्लो १ महीनाकै अवधिमा सिमेन्टको मूल्यमा कमी आएको र खपत पनि सामान्य रहेको बताए । वर्षाको सिजन शुरू भएकाले विकास निर्माणका कामहरू धेरै नहुने र अहिले कोरोनाका कारण पनि छिटफुट निर्माण हुने संरचनाहरू पनि बन्द हुँदा विगतका वर्षहरूमा भन्दा यसको खपत घटेको उनको अनुभव छ ।

सिमेन्ट, फलामे छड उत्पादनसमेत गर्दै आएको अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपाने निर्माण सामग्रीको मूल्य घटेको बताउँछन् । ‘छडमा प्रतिकेजी ४ रुपैयाँले घटेको छ,’ उनले भने, ‘अबको २/३ महीना त मूल्यमा कमी हुने र माग पनि कम हुने गर्छ । त्यसपछि भने विकास निर्माणले कसरी गति लिन्छ भन्ने कुराले उत्पादन, खपत तथा कारोबारको अवस्था निर्धारण गर्छ ।’ पञ्चकन्या ग्रूपमा उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले गतवर्षहरूमा जस्तो यो वर्ष फलामे छडको कारोबार नभएको बताए । बन्दाबन्दीका कारण अहिले पूर्णरूपमा उद्योगहरू सञ्चालन हुन नसक्दा उत्पादनसमेत कम भएको भन्दै श्रेष्ठले भने, ‘अभैm पनि उद्योगहरू ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भएका छन् भने उत्पादित सामग्री पनि विक्रीका लागि समस्या भएको छ ।’ अहिले छड प्रतिकेजी रू. ८० सम्ममा विक्री भएको भन्दै मूल्य घटाउँदासमेत विक्री हुन नसकेको श्रेष्ठले बताए । विगत वर्षहरूमा छडको खपत वार्षिक रू. १० लाख टन हुने गरेको र अहिले भने विषम परिस्थितिका कारण खपत र मूल्य दुवै घटेको उनको भनाइ छ ।

क्लिंकर आयात गरिँदै
कोरोनापछिको बन्दाबन्दी र चुनढुंगा खानी सञ्चालन गर्न अवरोध हुँदा क्लिंकरको स्टक सकिएको व्यवसायीहरूको भनाइ छ । चुनढुंगा खानी सञ्चालन गर्न सरकारलाई सहजीकरण गर्न व्यवसायीहरूले पटकपटक आग्रह गर्दासमेत सुनवाइ नभएपछि अहिले क्लिंकर आयात गर्न बाध्य भएको उनीहरूले बताए । अहिले भारतबाट व्यवसायीहरूले बाध्यताले क्लिंकर ल्याउन शुरू गरेको न्यौपाने बताउँछन् । ‘सिमेन्टको माग शून्यमा त झरेको छैन,’ न्यौपानेले भने, ‘त्यसैले कारखाना चलाउन कच्चा पदार्थ आयात गर्नैपर्ने बाध्यता भयो ।’

सिमेन्ट तथा क्लिंकरमा आत्मनिर्भर भइसकेको नेपालले चालू आर्थिक वर्ष २०७६/७७ को जेठ अर्थात् ११ महीनासम्म आउँदा ३ अर्ब ३७ करोडको सिमेन्ट/क्लिंकर आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महीनामा नेपालले भारतबाट ४ लाख ६७ हजार टन क्लिंकर आयात गरेको छ । फागुनसम्ममा यस्तो आयात परिणाम ३ लाख ३२ हजार थियो भने क्लिंकर आयात गर्न नेपालबाट रू. २ अर्ब ३२ करोड विदेशिएको थियोे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)