ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चल्न थाले सार्वजनिक यातायात

राहत नपाएसम्म यातायात नचलाउने अडानमा महासंघ

२०७७ असार, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडाैं । सोमवारबाट राजधानी काठमाडौंलगायत केही क्षेत्रमा सार्वजनिक यातायात चल्न थालेका छन् । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आफ्ना माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । तर, सोमवारदेखि महासंघइतर कम्पनीहरूले सार्वजनिक यातायात चलाउन थालेका छन् । उपत्यकाबाहिर आइतवारदेखि नै फाट्टफुट्ट सार्वजनिक यातायात चल्न थालेका थिए ।

सरकारले गत शुक्रवारदेखि काठमाडौं उपत्यकाका तीनै जिल्ला र अन्य ठाउँमा जिल्लाभित्र सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । सोमवार काठमाडौंमा मयूर यातायात प्रालि र संयुक्त यातायात प्रालिका केही सार्वजनिक बस चलेका देखिए । मयूरले सातओटा बस चलाएको बताएको छ भने संयुक्तले सडकमा बस जाँच गर्न निकालेको बताएको छ । मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठका अनुसार सोमवार काठमाडौंमा कम्पनीका सातओटा बस सञ्चालनमा आए । मयूरसँग जम्मा ४४ ओटा बस रहेकोमा यही साता १५ ओटासम्म बस सञ्चालन गर्ने र साउन १५ सम्म सबै बस सञ्चालन हुने कम्पनीले बताएको छ ।

संयुक्त यातायात प्रालिले बसको अवस्था सामान्य भए साउन १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिरहेको छ । आम्दानी र खर्चको अध्ययन गरी त्यसअनुसार अघि बढ्ने तयारी गरिरहेको कम्पनीका अध्यक्ष भरत तिमिल्सिनाले बताए । उनका अनुसार सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रलाई केही राहतको व्यवस्था गर्‍यो भने साउन १ देखि बस चलाउने तयारी कम्पनीले गरिरहेको छ । सरकारले राहत नदिए बस सञ्चालनमा केही ढिलाइ हुन सक्ने उनले बताए ।

विद्युतीय बस सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिले पनि बस सञ्चालन गर्ने तयारी गरिरहेको छ । कम्पनीसँग अहिले चारओटा विद्युतीय बस छन् । सरकारले साविकको भन्दा ५० प्रतिशत भाडा बढी लिन पाउने व्यवस्था गरे पनि बढी भाडा नलिईकनै सुरक्षा व्यवस्था अपनाई गाडी चलाउने तयारी गरेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । सरकारी स्वामित्वमा रहेको साझा यातायात प्रालिले पनि साउन १ गतेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने गरी बसको मेन्टेनेन्स गर्ने र सुरक्षा व्यवस्था अपनाउने काम गरिरहेको छ ।

काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गरिरहेको दिगो यातायात प्रालिले पनि सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गरिरहेको छ । दिगोका बस २६ सीट क्षमताका भए पनि यातायात व्यवस्था विभागमा दर्ता हुँदा बसको प्रविधिअनुसार उभिएरसहित ५० सीट क्षमता भनी दर्ता भई त्यहीअनुसार रूट पर्मिट गरिएकाले यसबारेमा छलफल गरी बस सञ्चालनको तयारी गरिने कम्पनीका सचिव लालप्रसाद गुरागार्ईंले बताए । ‘सीटभन्दा आधा यात्रु राखे हामीले गाडी सञ्चालन गर्दा सुरक्षा व्यवस्थापनको खर्च नजोडेरै आम्दानीभन्दा खर्च बढी हुने भएकाले यसबारेमा छलफल गर्ने तयारी गरिरहेका छौं,’ उनले भने । विभागसँग रूट पर्मिटमा लिएको सीटअनुसार यात्रु राख्न पाउने व्यवस्था भए वा सरकारले राहत उपलब्ध गराए गाडी सञ्चालन गरिने उनले बताए । ‘हामी गाडी चलाउने तयारीमा छौं तर कसरी चलाउने भन्ने समस्याको समाधान खोजिरहेका हौं,’ उनले भने ।

महासंघले सरकारले राहत उपलब्ध नगराएसम्म सार्वजनिक यातायात सञ्चालन नगर्न आफू आबद्ध कम्पनीलाई सर्कुलर जारी गरेको छ । तर, महासंघमा आबद्ध नभएका कम्पनीहरूले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)