ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल भ्रमण वर्ष २०२० का लागि रु. ३० करोड खर्च

भुक्तानीका लागि अपुग ५ करोड अर्थ मन्त्रालयद्वारा निकासा

२०७७ असार, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल भ्रमण वर्षका लागि ३० करोड रुपैयाँभन्दा बढी रकम रुपैयाँ खर्च भएको छ । सरकारले भ्रमण वर्ष सचिवालयलाई शुरूमा २० करोड र पछि ५ करोड गरी २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो । कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमा स्थगित भएपछि विभिन्न कामका लागि भुक्तानी गर्न करीब ५ करोड रुपैयाँ अपुग भएको भन्दै सचिवालयले पर्यटन मन्त्रालयसँग रकम माग गरेको थियो । योसहित भ्रमण वर्षका लागि कुल ३० करोड खर्च हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वभर प्रभाव पारेपछि सरकारले शुरूमा अप्रिलसम्मका लागि मात्र भ्रमण वर्ष स्थगित गरेकोमा अन्ततः चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष औपचारिक रूपमै स्थगित गरेको थियो । त्यति बेला नै पर्यटन मन्त्रालयले भ्रमण वर्ष सचिवालयलाई अहिलेसम्म सचिवालयबाट भएका हिसाबकिताब १ महीनाभित्र मिलाउन र १ साताभित्रै करारमा रहेका कर्मचारीलाई अवकाश दिन पत्राचार गरेको थियो । वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा घोषणा गरेको थियो । सोही अनुसार सन् २०२० को जनवरी १ मा दशरथ रंगशालामा विभिन्न देशका पर्यटनमन्त्रीहरू तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूको सहभागितामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्नुभएको थियो । यस्तै जनवरी पहिलो साता विदेशस्थित विभिन्न दूतावासमार्फत भ्रमण वर्षको उद्घाटन गरिएको थियो । सरकारले भ्रमण वर्षको राष्ट्रिय संयोजकमा गतवर्ष कात्तिक १६ गते उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको थियो ।

भ्रमण वर्ष स्थगित भएसँगै भ्रमण वर्षको सचिवालयसमेत २०७७ वैशाख १ गते विघटन गरी त्यसका सबै दायित्व नेपाल पर्यटन बोर्डमा सारिएको थियो । भ्रमण वर्ष अघि बढेपछि विभिन्न कार्यक्रमका लागि खरीद तथा अर्डर गरिएका सामानको भुक्तानीका लागि रकम अभाव भएपछि बोर्डले मन्त्रालयलाई आग्रह गरेको थियो । भ्रमण वर्षका कार्यक्रम नै स्थगित भएपछि तत्काल हिसाबकिताब मिलान गर्न मन्त्रालयले आग्रह गरेको थियो । तर भएका कामको भुक्तानीका लागि रकम अभाव भएको भन्दै मन्त्रालयमा पत्र आएपछि रकम निकासाका लागि पर्यटन मन्त्रालयबाट अर्थ मन्त्रालयसमक्ष माग गरी भुक्तानीको प्रक्रिया शुरू गरिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।

आर्थिक वर्ष अन्त हुनै लागेको र त्यति बेलाका कामहरूको भुक्तानी बाँकी रहेकोले थप रकम बोर्डमा पठाइसकिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । ‘कोरोनाको कारण बीचमै भ्रमण वर्ष रोकिएको र सोही क्रममा विभिन्न कामहरू चालू रहकाले यो रकम रोकिएको थियो । थप रकम अर्थ मन्त्रालयबाट पर्यटनमा आइसकेर हामीले पनि चेक काटेर नेपाल पर्यटन बोर्डमा पठाइसकेका छौं । उहाँहरूले भुक्तानी गर्नुहुन्छ,’ उनले भने । यस विषयमा मन्त्रालयबाट पत्र तथा रकम आएको र छिट्टै भुक्तानी गरिने पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले बताए ।

सरकारले पर्यटन वर्षको अपुग रकम भुक्तानीका लागि रकम छुट्याए पनि केही वस्तु तथा सेवा सार्वजनिक खरीद ऐनको प्रक्रिया बाहिरबाट खरीद गरिएकाले समस्या परेको छ । त्यसको उदाहरण बनेको छ त्रिभुवन विमानस्थलमा राखिएका ‘पर्यटन परी’ नामका दुईओटा रोबोट । पर्यटन मन्त्रीको चाहनामा हतार हतार विमानस्थलमा लगेर उद्घाटन गरिएका ती रोबोटको भुक्तानी अझैसम्म नभएको रोबोट निर्माण कम्पनी पाइला टेक्नोलोजीले बताएको छ ।

भ्रमण वर्षलाई प्रविधिमैत्री बनाउने भनेर गतवर्ष फागुनमा भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा ती रोबोट राखिएको थियो, जसको मूल्य ४४ लाख रुपैयाँ रहेको पाइला टेक्नोलोजीका सञ्चालक आयुश कसजूले बताए । विमानस्थलमा राखिएका रोबोटको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलमा यात्रुहरूलाई सहजता प्रदान यसले सहयोग गर्ने बताएका थिए । नेपाली प्राविधिकले निर्माण गरेको उक्त रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा प्रयोगकर्तालाई सूचना उपलब्ध गराउने गरेको थियो । सञ्चालक कसजूले आफूहरूले त्यसको भ्याट तिरिसकेको तर भुक्तानी नपाउँदा समस्या भएको गुनासो गरे । मन्त्रालयले केही प्रक्रिया मिलाउनुपर्ने भएकाले रोकिए पनि यस विषयमा मन्त्री आफै जानकार भएकाले भुक्तानीमा समस्या नहुने बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)