ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्रोत अभावमा पर्यटन बोर्डको बजेट खुम्चँदै

२०७७ असार, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभाव हुँदा नेपाल पर्यटन बोर्डको आगामी आर्थिक वर्षको बजेटमा ठूलो कटौती हुने भएको छ । नयाँ बजेटलाई अन्तिम रूप दिँदै गरेका बोर्डका अधिकारीहरूका अनुसार बोर्डको बजेट आर्थिक वर्ष २०७७/७८ का लागि २०–२३ करोडको हाराहारी हुने बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको चालू आवको बजेट १ अर्ब ६३ करोड रुपैयाँको थियो ।

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ह्वात्तै घटाइएको बोर्डले बताएको छ । पर्यटकीय गतिविधि सम्पूर्ण बन्द भएको तथा बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले आगामी वर्षको बजेटको आकार सानो भएको बोर्डको भनाइ छ ।

बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम तथा पर्यटकबाट लिइने टुरिज्म सर्भिस फि (टीएसएफ) बाट आउने रकम हो । अहिले पर्यटक आगमन बन्द हुँदा यी दुवै आय प्रभावित भएको छ । बोर्ड सञ्चालक समितिले बजेटको अन्तिम ड्राफ्ट तयार पारेको र छिट्टै पारित गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।

स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको र यो रकम पनि नेपाली पर्यटनको डिजिटल प्रमोशनका लागि केन्द्रित हुने बोर्डका सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले अभियानलाई बताए । विदेशी पर्यटक आउने सम्भावना कम रहेको अवस्थामा आन्तरिक पर्यटन प्रवर्द्धन तथा अत्यावश्यक कामका लागि मात्र बजेट तयार पारिएको उनको भनाइ छ ।

कोरोनाका कारण बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बोर्डका सूचना अधिकारी मणि लामिछानेले बताए । ‘पर्यटन बोर्डले वर्षमा कम्तीमा पनि विश्वका ३० देखि ४० ठाउँमा प्रवर्धनात्मक कार्यक्रम गर्ने गरेकोमा यसपटक ७÷८ ठाउँमा मात्र कार्यक्रम गर्ने योजना अघि सारिएको छ,’ उनले भने, ‘अन्य कार्यक्रम पनि कटौती भएका छन् ।’

क्यानडामा हुने बर्ल्ड टुरिज्म मार्केट र जर्मनीको बर्लिनमा हुने इन्टरनेशनल टुरिज्म बोर्सी (आईटीबी) जस्ता ठूला कार्यक्रममा अवस्था हेरी सहभागिता जनाउने योजना बोर्डको छ ।
लमिछानेका अनुसार कोरोनाका कारण पहिले जस्तो प्रवर्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले प्रविधिको प्रयोग गरी पर्यटन प्रवर्द्धन गर्ने बोर्डको योजना छ । त्यस्तै, पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सृजना गर्नेलगायत कार्यक्रम बजेटले समेटेको छ ।

बोर्डले गर्दै आएको काठमाडौंमा गरिने हिमालयन ट्राभल मार्ट र लुम्बिनीमा गरिने लुम्बिनी ट्राभल मार्टजस्ता कार्यक्रम अवस्था हेरेर मात्र अगाडि बढाइने भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)