ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होटेल क्षेत्रको पारिश्रमिक विवाद : मध्य पुससम्मका लागि कर्मचारीले न्यूनतम पारिश्रमिक पाउने

२०७७ असार, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । बन्दाबन्दीका कारण होटेल व्यवसाय नै ठप्प भएपछि विगत ३ महीनादेखि विवादमा रहेको होटल क्षेत्रको पारिश्रमिक मुद्दा समाधान भएको छ । होटेल संघ नेपाल (हान) र होटेलसम्बद्ध तीन मजदूर युनियनबीच विभिन्न चरणको छलफल पछि भएको सहमतिअनुसार मध्यपुस अर्थात् डिसेम्बर २०२० सम्ममा काममा बोलाउन नसके पनि होटेलको स्तरअनुसार कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक दिइनेछ ।

हान र तीन मजदूर युनियनबीच आइतवार भएको सहमतिअनुसार काममा नआउने अर्थात् होटेलले काम दिन नसके पनि कर्मचारी तथा श्रमिकले होटेलको स्तरअनुसार न्यूनतम रू. ४ हजार ३०० देखि अधिकतम रू. १० हजारसम्म मासिक पारिश्रमिक पाउनेछन् ।

हान स्रोतका अनुसार पारिश्रमिक दिने विषयमा लगभग टुंगो लागे पनि केही प्राविधिक विषय अभैm बाँकी रहेकाले यो सहमति केही दिनपछि मात्रै सार्वजनिक गरिनेछ ।
सहमतिअनुसार पाँचतारे (डिलक्स), पाँचतारे, चार, तीन र दुईतारे होटेलका नियमित रूपमा काममा आउने कर्मचारी तथा श्रमिकले साविककै पारिश्रमिक पाउनेछन् । तर, एकतारे र पर्यटकीय स्तरका होटेलका हकमा भने आपसी सहमतिमा पारिश्रमिकको विषय टुंगाउने निर्णय भएको छ ।

अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदूर संघका केन्द्रीय महासचिव मुक्ति दाहालले आपसी सहमतिमा पारिश्रमिक समस्या समाधान गरिएको अभियानलाई बताए । उनका अनुसार आगामी डिसेम्बरसम्मका लागि यो व्यवस्था लागू हुनेछ । ‘होटेलको स्तरअनुसार पारिश्रमिकको रकम निर्धारण गरिएको छ,’ दाहालले भने ।

होटेल बन्द रहेको अवस्थामा पनि डिसेम्बरसम्म कर्मचारी कटौती गर्न नपाउने सहमति दुवै पक्षबीच भएको बताइएको छ । डिसेम्बरपछि त्यतिखेरको अवस्था हेरी दुवै पक्षले अर्को सहमति गर्ने सहमतिसमेत हान तथा मजदूर युनियनबीच भएको छ ।

चैतदेखि जारी बन्दाबन्दीका कारण पर्यटन व्यवसाय नै ठप्प हुँदा यस क्षेत्रको पारिश्रमिकको विषय जटिल बन्दै आएको थियो । विदेशी पर्यटकहरूमा आश्रित नेपाली होटल उद्योग पर्यटक नआउँदा अहिले ठप्प प्रायः छ ।

हानले श्रम सम्बन्धलाई सकारात्मक बनाइराख्न केही अंश भए पनि पारिश्रमिक दिने निर्णय गरेको बताएको छ ।

झन्डै ११ लाख कर्मचारी तथा श्रमिकलाई रोजगारी दिएको मुलुकको होटेल क्षेत्र अहिले अन्तरराष्ट्रिय उडान खुल्ने प्रतीक्षामा रहेको छ ।

अहिले पनि पुराना विदेशी ग्राहकहरू नियमित सम्पर्कमा रहेको र अक्टोबर–डिसेम्बरसम्ममा नेपाल भ्रमणमा आउन सक्ने संकेत देखिएपछि होटल व्यवसायीहरू केही आशावादी देखिएका छन् । हानका महासचिव साजन शाक्यले नेपाल आउन चासो देखाउनेको संख्या कमै रहे पनि व्यवसाय नै ठप्प भएको अवस्थामा यसरी चासो देखाइँदा सकारात्मक ऊर्जा मिलेको बताए । अहिले काठमाडौंका ६० ओटा होटेल क्वारेन्टाइनका रूपमा प्रयोग गर्दा त्यहाँ केही आर्थिक गतिविधि भएको र कम्तीमा १५÷१६ जनाले रोजगारी पाइरहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)