ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकहरूको खराब कर्जा बढ्ने

गभर्नरको आश्वासनले ऋण असुली प्रभावित

२०७७ सावन, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारी र बन्दाबन्दीका कारण व्यवसाय प्रभावित भएको बताउँदै ऋणीहरूले साँवाब्याज नतिरिँदा बैंकको खराब कर्जा बढ्ने खतरा रहेको बैंकरहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सक्नेहरूलाई ऋणको साँवाब्याज तिर्न आग्रह गरे पनि उनीहरूले समेत ऋण नतिर्दा खराब कर्जा बढ्ने देखिएको हो ।

महामारीको समयमा ऋणीहरूलाई छूटको घोषणा गरेका बैंकहरूले असार लागेसँगै थप छूटको योजना अघि सारेका थिए । नेपाल राष्ट्र बैंकले यसअघि नै असारमसान्तभित्र ब्याज तिर्नेलाई १० प्रतिशत छूट दिने व्यवस्था गरेको थियो । तर, छूट दिँदासमेत ऋण तिर्ने सामथ्र्य भएकाहरूले पनि साँवाब्याज भुक्तानी नगर्दा आर्थिक वर्ष २०७६/७७ मा खराब कर्जा बढ्ने देखिएको छ । सरकार र नियामक निकायले बैंकसँग पनि ठिक्क पार्ने र ऋणीहरू सरकारसँग ठिक्क पार्ने दोहोरो नीति लिएकाले बैंकहरू मर्कामा परेको बैंकरहरूको भनाइ छ ।

खराब कर्जा नबढोस् भन्नका लागि केही बैंकहरूले पुराना ऋणीबाट ब्याज असुली गर्न छूटसहितको प्याकेज अघि सारे । असार सकिनै लाग्दा पनि ब्याज भने चाहेजति उठ्न नसकेको बैंकरहरूको भनाइ छ । सरकारको अनुरोध स्वीकारेर सर्वोच्चले कर तिर्नुु पर्दैन भन्दा पनि कर कार्यालयले पछि अप्ठ्यारामा पार्ने डरका कारण राजस्व तिरेका व्यवसायीहरूले बैंकको साँवाब्याज तिर्न भने आनाकानी गरेको बैंकहरूको गुनासो छ ।

कोरोनाबाट पूर्ण प्रभावित पर्यटन, यातायातलगायत क्षेत्रलाई बैंकले ऋण तिर्न दबाब दिनुको औचित्य नभए पनि सामर्थ्य भएकालाई तिर्न अनुरोध गर्दा समेत ऋण उठ्न नसकेको कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौडेल बताउँछन् । चैतदेखि असारसम्म ब्याजमात्रै करीब १ अर्ब २५ करोड रुपैयाँ उठ्नुपर्नेमा करीब ५० करोड रुपैयाँमात्र उठाउन सफल भएको उनको भनाइ छ । ‘अझ हामीले राष्ट्र बैंकले दिएको छूटबाहेक पनि थप राहत दिएका छौं,’ पौडेलले भने, ‘२ वर्षभन्दा पुराना ऋणीहरूलाई राहतस्वरूप १०–६० प्रतिशतसम्म ब्याज छूट दियौं । तर पनि सोचेजति ब्याज उठाउन सकेनौं ।’ पौडेलका अनुसार ऋण तिर्ने सामथ्र्य भएकाले पनि कोरोनाको कारण देखाउँदै ऋण तिरेनन् ।

यस कारण असारमा खराब कर्जा बढ्ने निश्चित भएको उनको भनाइ छ । ‘चैतमा कृषि विकास बैंकको खराब कर्जा ३ दशमलव २९ थियो । तर, कोरोनाकै कारण यो बढ्ने देखिएको छ,’ उनले भने ।

ऋण उठाउन एनआईसी एशिया बैंकले छूटको आकर्षक योजना अघि सार्‍यो । बैंकले ऋणीहरूले जेठ महीनासम्ममा चुक्ता गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम जेठ मसान्तभित्रै तिरेमा ब्याज रकममा थप १० प्रतिशत छूट तथा जरीवाना ब्याजको शतप्रतिशत रकम छूट दिने बतायो । तर, ऋण असुली अपेक्षा गरेअनुरूप नभएको बैंकको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल लामो समयको बन्दाबन्दीले गर्दा तनावमा भएका ऋणीलाई धेरै ताकेता गर्न गार्‍हो भएको बताउँछन् । त्यसैले फकाइफुल्याई गरी जति पाइन्छ, त्यति नै लिनुपर्ने अवस्था भएको उनको भनाइ छ । ‘सबै ग्राहकले नतिरेका पनि होइनन् । तर, तिर्ने धेरै कम छन् । ऋण नउठ्दा खराब कर्जा त बढ्छ नै,’ उनले भने ।

दाहालका अनुसार नेपाल राष्ट्र बैंकले असारसम्म नतिरेकाको एनपीएल गणना गर्न नपर्ने बताएको छ । तर, निर्णय नै भने गरेको चाहिँ छैन । एनपीएल नदेखाउने नै हो भने पनि बैंकको ब्याज आम्दानी प्रभावित हुन्छ । ऋणीले साँवाब्याज नतिरिँदा लगानीकर्तालाई दिने वितरणयोग्य रकम घट्ने उनको भनाइ छ ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले ऋणीहरूलाई अनावश्यक तनाव नदिन र क्षमता भएकाबाट मात्र असारभित्र ऋण उठाउन बैंकरहरूलाई अनुरोध गरेका थिए । गभर्नरको भनाइकै कारण पनि अधिकांश व्यवसायी तत्काल ऋण तिर्न अगाडि नसरेको आकलन बैंकिङ क्षेत्रको छ ।

गभर्नर अधिकारीले यस अवधिमा खराब कर्जा गणना गर्नु नपर्ने मौखिक आश्वासन मात्र दिए तर त्यसबारेमा नीतिगत व्यवस्था नभइसकेकाले असार मसान्तमा सार्वजनिक गर्नुपर्ने वित्तीय विवरणमा बढेको खराब कर्जा देखाउनुपर्ने बाध्यता भएको एक बैंकरले बताए । तिर्न नसक्नेलाई मौद्रिक नीतिले भाका बढाइदिने, ऋणको अवस्था हेरेर पुनःसंरचना, पुनर्तालिकीकरणलगायत सुविधा दिने गभर्नरको आश्वासनले पनि व्यवसायीहरू ऋणको साँवाब्याज तिर्न पछि हटेको अर्का बैंकरको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)