ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनकै बीच पर्यटनमा ‘नयाँ प्रडक्ट’को खोजी

बूढानीलकण्ठ–गोसाइँकुण्ड पदमार्गले पर्यटन व्यवसायी उत्साहित

२०७७ सावन, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण नेपालको पर्यटन क्षेत्र सुस्त बनिरहेको अवस्थामा पर्यटन व्यवसायीले काठमाडौं उपत्यकाबाटै यात्रा शुरू गर्न सकिने नयाँ ‘पर्यटन प्रडक्ट’को खोजी गरेका छन् । गत चैत ११ देखि देशभर लकडाउन भइरहेको अवस्थामा पर्यटन व्यवसायीले लामो यात्रा गरी राजधानी काठमाडौंसँग जोडिएको नयाँ पदयात्रा मार्गको खोजी गरेका हुन् ।

टोलीले काठमाडौंको बूढानीलकण्ठदेखि रसुवाको गोसाइँकुण्डसम्मको ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पद मार्गको पहिचान गरेको हो । काठमाडौं, नुवाकोट र रसुवालाई जोड्ने यो पदमार्गको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नुवाकोट–रसुवा पर्यटन समाजले गरेको पदयात्रा सम्भाव्यता अध्ययन प्रतिवदन समाजका अध्यक्ष बलराम न्यौपानेले बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई हस्तान्तरण गरेका छन् । जम्मा ८ दिनको यो पदमार्ग बूढानीलकण्ठ–अल्छे–मानेभञ्ज्याङ–समुद्रटार–बाघमारा–सागरकुण्ड–राउचुली–झ्याकुमभुली–गोसाइँकुण्ड पुगेर धुन्चे हुँदै फर्कन सकिनेछ । यो पदमार्गले शिवपुरी नागार्जुन र लाङटाङ राष्ट्रिय निकुञ्जलाई समेटेको छ । यस्तै पदमार्गले गोसाइँकुण्ड–धुन्चे पदमार्ग, गोसाइँकुण्ड–हेलम्बु–मेलम्ची पदमार्ग, लाङटाङ पदमार्ग, फिकुरी पदमार्ग, तामाङ हेरिटेज पदमार्ग, रुबी भ्याली पदमार्ग र गणेश हिमाल पदमार्गसम्मको कनेक्टिभिटी गराउने अध्ययन टोलीले जानकारी दिएको छ । प्राकृतिक, जैविक र सांस्कृतिक विविधताले परिपूर्ण यो पदमार्गमा अनगिन्ती पवित्र हिमाली ताल, विविध जातजाति, उनीहरूको चाडपर्व र जीवनशैलीको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्ययन टोलीका सदस्यहरूको भनाइ छ ।

प्रतिवेदन बुझ्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले लकडाउनको असहज परिस्थितिमा पनि टोलीले जोखिमपूर्ण रूपमा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गर्न सफल भएको भन्दै पदमार्गलाई नयाँ प्रडक्टका रूपमा विकास गरिने बताए । ‘नेपालको प्राकृतिक सम्पदा आफैमा सिंगो पर्यटन प्रडक्ट नै हो । र पनि हामीसँग भएका पुराना संरचनाहरूको संरक्षण तथा नयाँ सम्भावनाहरूको खोजी गर्नुपर्ने आवश्यकता छ । पर्यटन बोर्ड सरोकारवालाहरूसँगको सहकार्यमा त्यस्ता कामलाई निरन्तरता दिन चाहन्छ,’ उनले भने । नेपाल आउने पर्यटकको बसाइ लम्ब्याउन यस्ता पदमार्गले सहयोग गर्ने उनले बताए । पर्यटन मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हाल नेपाल आउने पर्यटक औसत १३ दिन नेपाल बस्ने
गरेका छन् ।

बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले राजधानी काठमाडौंसँग जोडिएको यो पदमार्ग नयाँ नभई उचित ध्यान जान नसकेकाले प्रयोगमा नआएको बताए । यो पदमार्ग नयाँ होइन । बूढानीलकण्ठदेखि गोसाइँकुण्डसम्मै ढुँगे सिँडी पदमार्गमा ठूलो धनराशि खर्चिए तापनि लगानी अनुरूप उपयोग गर्न नसकेको उनको भनाइ छ । महतका अनुसार हालसम्म पदमार्गमा ८० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।  यस्तै पर्यटन बोर्डले हालै ६० लाख रुपैयाँ खर्च गरेर भैगेरी बाघमारा भन्ने स्थानमा सामुदायिक गेष्टहाउस (कम्युनिटी लज)समेत निर्माण गरेको छ ।

पदमार्ग अध्ययन भ्रमण टोलीका संयोजक शिव लामिछानेले यो पदमार्गमा पहिल्यै थुप्रै पूर्वाधार बनिसकेकाले केही पूर्वाधार निर्माण गरी प्रवद्र्धन गरेमा पर्यटन क्षेत्रका लािग नयाँ ‘प्रडक्ट’ हुने बताए । उक्त पदमार्गका जानकार युवा समाजसेवी रमेश महतले वर्षौंअघि पूर्व सम्भाव्यता अध्ययन भई ठूलो बजेट खर्च भइसके पनि यो पदमार्गले अहिले आएर सार्थकता पाएको भन्दै यसलाई प्रमुख व्यावसायिक पदमार्गका रूपमा विकास गर्न सकिने बताए । सडक यातायातको विकासले कतिपय पुराना पदमार्ग लोप हुले अवस्थामा पुगेकाले यसको संरक्षण आवश्यक भएको समेत उनले औंल्याए ।

पर्यटन व्यवसायी लामिछानेको संयोजकत्वमा ६ सदस्यीय टोलीले यही असार १२ देखि १९ गतेसम्म ८ दिन लगाएर यो पदमार्गको स्थलगत अध्ययन गरेको थियो । काठमाडौंको १ हजार ४०० मिटर उचाइदेखि शुरू हुने पदयात्रा ४ हजार ३८० मिटरको गोसाइँकुण्ड पुगेर समाप्त हुन्छ । त्यस्तै विभिन्न गुफा, ओडार, चौंरीगोठ, भेडीगोठ आदिको पनि यो पदमार्गमा अवलोकन गर्न सकिन्छ । उपत्यका, पहाडी र हिमाली दृश्यको फराकिलो दृश्यावलोकनको अवसर पनि मिल्ने भएकाले सबैखाले पर्यटकका लागि यो पदमार्ग उपयुक्त गन्तव्य बन्ने पर्यटन व्यवसायीको विश्वास छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)