ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्षमता विस्तार गर्दै सीजी सिमेन्ट

२०७७ सावन, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सीजी सिमेन्टले क्षमता विस्तार गर्न नेपाल इन्फ्रास्टक्चर बैंकसहित १० बैंकबाट थप रू. २ अर्ब ३७ करोड ८० लाख ऋण लिने भएको छ । कम्पनीले सानिमा बैंक अगुवाइ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाइमा थप ऋण लिन लागेको हो ।

सीजी सिमेन्ट उद्योगको क्लिंकर प्लान्टको दैनिक क्षमता १ हजार ९५० टन रहेको छ, त्यसलाई बढाएर २ हजार ९५० पुर्‍याउन बैंकबाट थप ऋण लिएको कम्पनीको भनाइ छ ।

उद्योगमा ७० प्रतिशत लगानी ऋणमार्फत र ३० प्रतिशत लगानी स्वपूँजीका रूपमा हुने गरी बैंकहरूसँग यसअघि नै सम्झौता भएको थियो । उद्योगको क्षमता बढाउन थप लगानी आवश्यक भएपछि बैंकहरूसँग थप ऋण दिनुपरेको हो ।

उद्योगमा कुल १२ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने बताइएको छ । यसअघि ९ अर्ब रुपैयाँको हाराहारीमा लगानी हुने अनुमान गरिएको थियो ।

उद्योगले यसअघि पनि सहवित्तीयकरणमार्फत रू. ६ अर्ब ६८ करोड ५० लाख ऋण ल्याउने गरी सम्झौता गरेको थियो । अहिलेको थप भएकोसँगै उद्योगमा बैंकहरूको ऋण लगानी रू. ९ अर्ब ६ करोड ३० लाख पुग्नेछ ।

बुधवार उद्योग र सम्बद्ध बैंकहरूबीच पूरक सहवित्तीयकरण सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईं र सीजी सिमेन्टका अध्यक्ष निर्वाणकुमार चौधरीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल, इन्फ्रास्ट्रक्चर बैंकका नायब सीईओ भूपेन्द्र पाण्डेको पनि उपस्थिति थियो ।

इन्फ्रास्ट्रक्चर बैंकका नायब सीईओ पाण्डेले बुधवार पूरक सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको बताए । आवश्यक प्रक्रिया पूरा गरेर बैंकहरूले तोकिएको मात्रामा उद्योगलाई ऋण रकम भुक्तानी गर्दै जाने उनको भनाइ छ । ‘पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्यसहित इन्फ्रास्ट्रक्चर बैंक स्थापना भएको हो । त्यसैले नै हामीले उक्त उद्योगमा लगानी गरेका हौं,’ उनले भने ।

सहवित्तीयकरणमा ग्लोबल आईएमई, कुमारी, सनराइज, प्रभु, नेपाल बैंक, सेन्चुरी, नेपाल क्रेडिट एन्ड कमर्श बैंक र नेपाल एसबीआई बैंक सहभागी छन् । उद्योगमा कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न २०७४ पुस ७ गते नै सम्झौता भएको थियो । सोहीअनुसार नै बुधवार बैंकहरू र उद्योगबीच पूरक सहवित्तीयकरण सम्झौता भएको हो ।

पछिल्लोपटक इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण दिने गरी सम्झौता भएको छ । मुख्य अगुवा बैंक सानिमाले उद्योगका लागि रू. १ अर्ब ६६ करोड ऋण लगानी गर्ने सम्झौता भएको छ । सनराइज र एनसीसी बैंकले आवश्यक ऋण थप गर्ने गरी सम्झौता भएको सानिमा बैंकका प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईंले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)