ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका दर्जनौं बस्ती बाढीपहिरोको उच्च जोखिममा

२०७७ सावन, २  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका दर्जनौं बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । यसअघि सुरक्षित मानिएका बस्तीहरूमा समेत धमाधम बाढीपहिरो आउन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । ३ दिनअघि मात्र जिल्लाका मराङ र बिममा पहिरो जाँदा ठूलो क्षति पुगेको छ ।

भिरालो जमीन, कमजोर भूबनोट, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगायत विभिन्न कारणले जिल्लाका अधिकांश बस्ती पहिरोको चपेटामा परेको भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतका सहायक अधिकृत शम्भुकुमार मिश्रले बताए । उनका अनुसार म्याग्दीका केही बस्ती ठूला पहिरोको जोखिममा भएकाले ती ठाउँको अवस्थाबारे अध्ययन भइरहेको छ ।

‘जथाभावी खनिएका ग्रामीण सडक, बस्तीमाथिको क्षेत्रमा विकास निर्माणका गतिविधि र नदीखोलाको कटानले म्याग्दीका ग्रामीण क्षेत्रहरूमा बाढीपहिरोको सम्भावना बढाएको छ,’ मिश्रले भने, ‘जिल्लामा विशेषगरी म्याग्दी, कालीगण्डकी र रितुङ खोलाका आसपासका बस्ती नदी कटान, पहिरो र बाढीको उच्च जोखिममा छन् ।’ जिल्लामा १८ भन्दा बढी ठूलो पहिरा र सयौंको संख्यामा रहेका मध्यम तथा साना पहिराले दर्जनौं बस्तीका हजारौं घर जोखिममा रहेको उनको भनाइ छ । भू–क्षय तथा पहिरोबाट गुर्जा, मुदी, लुलाङ, वेगखोला, निस्कोट, रुम, पात्लेखेत, भुरुङ–तातोपानी, नारच्याङ, कुइनेमंगले, पुलाचौर, पाखापानी, ओखरबोट, मुना, मुदी, भकिम्ली, बगरफाँट, बरञ्जा, अर्मन, हिस्तान, दोवा, शिख, घारका विभिन्न बस्ती संवेदनशील क्षेत्रमा समावेश गरिएको छ । त्यस्तै कालीगण्डकी कटानका कारण उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी बजार, बेगखोला, रघुगंगा गाउँपालिकाको पिप्लेको चमेरे, बेनी नगरपालिका अन्तर्गत पर्ने गलेश्वरबजार, बेनीबजार, आनन्द बगरलगायत तटीय क्षेत्रमा रहेका बस्तीमा पहिरोको खतरा छ ।

उता, म्याग्दी खोलाले जिल्लाकै दोस्रो व्यापारिक केन्द्र दरवाङबजार, रातोढुंगा, सिम, ताराखेत, बाबियाचौर, अर्मन हाडेभीर, निस्कोटको खोप्टी गाउँ, तातोपानी, बगरफाँट, सिंगा, बेनी मंगलाघाट बजार जोखिमपूर्ण क्षेत्रको सूचीमा राखिएको छ । गाउँमाथिबाट अव्यवस्थित तवरले सडक निर्माण गर्दा मंगला–५ मा पर्ने अर्मन गाउँ नै जोखिममा परेको छ । स्थानीय युवा ठाकुर सुवेदीले भने, ‘पहिरोको खतरा बढेकै कारण अर्मन गाउँ नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।’ 

ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा मापदण्ड विपरीत धमाधम सडक विस्तारले बाढीपहिराको सम्भावना बढ्दै गएको प्राविधिकहरू बताउँछन् । जिल्लामा राहुघाट खोला, घट्टेखोला, फूलबारी रितुमखोलाको कटान समेत बढेको छ । जिल्लाका स्थानीय तहहरूले विपद् व्यवस्थापनमा सक्रियता देखाए पनि पर्याप्त बजेटको अभावले समस्या भएको बताइएको छ । स्थानीय तहमा विपद् व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गर्नसमेत जनप्रतिनिधिले माग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)