ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आवको पहिलो दिन शेयरबजारमा हरियाली

१४ सय विन्दुनजीक पुग्यो नेप्से

२०७७ सावन, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन साउन १ गते नेपालको शेयरबजार हरियो भएको छ । यस दिन नेप्से परिसूचक ३२ दशमलव ४२ अंक बढेर १ हजार ३९४ दशमलव ७७ विन्दुमा पुगेको छ । 

२ दशमलव ३८ प्रतिशत बढेको बजारमा रू. १ अर्ब ४ करोड १७ लाख ७० हजार बराबरको कारोबार भएको छ । कारोबार रकम पनि असार ३१ गतेको तुलनामा थोरै बढेको छ । असार ३१ गते बुधवार रू. १ अर्ब १६ करोड ४ लाख ९१ हजार बराबरको कारोबार भएको थियो । यस दिन लगानीकर्ताको सम्पत्ति कुल बजार पूँजीकरण रू. १८ खर्ब ३५ अर्ब ४२ करोड ८० लाख पुगेको छ ।

लामो समय घटेको बजार सुधारका लागि सम्बद्ध पक्षहरूले आआफ्ना तर्फबाट पहल गरेका कारण बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको भनाइ छ । 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएको प्रभाव पूँजीबजारमा परेको बताए । उनका अनुसार पूँजीबजार र बैैंक तथा वित्तीय संस्थाको ब्याजदरबीच अन्तरसम्बन्ध हुन्छ । 

‘साउनदेखि धेरैजसो बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन्, जसले गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने निश्चत छ,’ उनले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएकाले पूँजीबजारमा लगानी बढेको हो ।’ अबको समय भनेको लगानीकर्ताको बाली भित्र्याउने समय भएकाले बजार नघट्ने विश्वास रौनियारको छ ।

नेपालको शेयरबजारमा कोरोनोको भन्दा पनि ठूलो असर विगका ३ वर्षमा देखिसकिएकाले अब यसले असर नगर्ने उनको भनाइ छ । पछिल्लो समय बैंकमा लगानीयोग्य पूँजीको पर्याप्तता, कम ब्याजदर, घरमै बसेर कारोबार गर्न सक्ने वातावरणलगायतले बजारले गति लिएको शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बाँस्तोला बताउँछन् । पूँजी बजारका विषयमा अर्थ समितिले गठन गरेको उपसमितिको प्रतिवेदन पनि बजारलाई सकारात्मक बनाएको बाँस्तोलाको भनाइ छ । 

नेपाल राष्ट्र बैंकले आगामी साता सार्वजनिक गर्ने नयाँ मौद्रिक नीतिले मार्जिन लेन्डिङ खुकुलो बनाउनेलगायत नीति लिन सक्ने आशामा पनि खरीद बढाएको लगानीकर्ता बताउँछन् ।

बिहीवार सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको प्रतिकित्ता रू. ५२१ मा रू. ९ करोड ४१ लाख ७२ हजार बराबरको किनबेच भयो । दोस्रो बजारमा कारोबार शुरू भएको छैटौं दिन पनि एनआईसी एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन कम्पनीको शेयर मूल्य रू. ५३ ले वृद्धि भएको छ । 

दोहोरो अंकले बढेको बजारमा ४५ कम्पनीको शेयर मूल्य घटेको छ । ओरियन्टल होटेल र राधी विद्युत् कम्पनीका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । ओरियन्टल होटेलको शेयर मूल्य रू. २१ र राधी विद्युत् कम्पनीको शेयर मूल्य रू. ९ ले घटेको छ । 

बिहीवारको कारोबारमा सबै समूहको परिसूचक हरियो देखिएको छ । यस दिन बैंकिङ समूहको ३ दशमलव ५६ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ५९ प्रतिशत, होटल समूहको शून्य ८४ प्रतिशत, विकास बैंकको ३ दशमलव ५१ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव शून्य ३ प्रतिशत, वित्त समूहको २ दशमलव ५७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव २७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ६९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २७ प्रतिशत , जीवन बीमा समूहको १ दशमलव ६२ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव २६ प्रतिशत परिसूचक बढेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)