ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकै ठाउँमा बने तीन पुल

पर्यटन प्रवर्द्धनको पर्खाइमा स्थानीयवासी

२०७७ सावन, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

साउन ३, पर्वत । मोदी र कालीगण्डकीको दोभान । नजिकै छ मोदीवेनी धार्मिक क्षेत्र । ऐतिहासिक नृसिंह मन्दिर सहित अन्य मानव निर्मित संरचना, पहाडका थुम्काथुम्की अनि हरियाली वन । आँखै अगाडि माछापुच्छे«, अन्नपूर्ण र धवलागिरि हिमाल देखिन्छन् । एकपटक घुम्न आएका पर्यटक पटक–पटक सम्झिएर  आउने स्थान हो कुश्माको बडागाउँ क्षेत्र । यही स्थान अब थप मनमोहक र आकर्षक पर्यटकीय स्थल बनेको छ ।

कालीगण्डकी नदीमाथि मोदीबेनीलाई फेरो हालेर तीनओटा झोलुंगे पुल बनिसकेपछि यो ठाउँ घुम्नलायक क्षेत्र बनेको हो । ३ वर्षअघि निर्मित बडागाउँ–सिर्सुवा झोलुंगे पुल र बडागाउँ–कैया झोलुंगे पुलपछि सिर्सुवा–कैया झोलुंगे पुल हालै निर्माण सम्पन्न भएको छ । तीनओटा पुल एकै ठाउँमा बनेपछि कालीगण्डकीमा पुलैपुलमा फन्को मार्न सकिने स्थानीय केशवदास बैरागीले बताए । ‘दुईओटा पुल हुँदा पनि हेर्ने आउनेको भीड निकै छ,’ बैरागीले भने, ‘तीनओटा बनेपछि यो ठाउँ देशकै महŒवपूर्ण पर्यटन गन्तव्य बन्नेछ ।’ कालीगण्डकी र मोदीखोलाको खोँचमा पहाडै पहाडका टुप्पामा झुण्डिएका पुलहरूको चक्रपथले पर्यटक आकर्षित गर्ने विश्वास स्थानीयले लिएका छन् ।

सिर्सुवा–कैया झोलुंगे पुल लकडाउनको अवधिमा निर्माण सम्पन्न भएको हो । रू. १ करोड ३९ लाखको लागतमा निर्माण सम्पन्न भएको यो पुल २८० मिटर लम्बाइ र कालीगण्डकी नदीको सतहदेखि १७० मिटरको उचाइमा छ । कालीगण्डकी नदीको खोचमा बन्ने पुलहरूले कुश्मा, फलेवास र बागलुङ नगरपालिकालाई एकैसाथ जोडेका छन् । तीनैओटा पुल ५०÷५० मिटरको फरकमा छन् ।
‘लकडाउनका कारण खासै पर्यकटको आउजाउ देखिन्न,’ मुडिकुवाका होटल व्यवसायी रामप्रसाद गौडेलले भने, ‘लकडाउन खुल्नेबित्तिकै यहाँ पर्यटकको चापले खुट्टो राख्ने ठाउँ हुँदैन ।’ व्यवसाय फस्टाउने आशामा स्थानीयले पुलको मुखमा होटल तथा पसल थप्ने क्रम बढेको जानकारी उनले दिए ।  

जिल्लालाई साहसिक र धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यका साथ पुलैपुलको चक्रपथ वनाउने योजना अघि सारिएको झोलुंगे पुलका परिकल्पनाकार रामबहादुर सुवेदीले बताए । ‘विदेशतिर एउटा पुल देखाएर विश्वभरिका पर्यटक तानिन्छ,’ सुवेदीले भने, ‘हामीकहाँ भइरहेका दुईओटा पुलमा एउटा अर्को पुल थप्दा अनौठो स्थान बन्ने ठानेर प्रयास गरेका हौं । वास्तवमा हामीले प्रचारलाई जोड दिन सके पर्यटकको खाँचो पर्दैन ।’ उनले आफ्नो परिकल्पना पूरा हुन थालेको सुनाए । 

पर्वतमा एशियाकै नमूना बञ्जीजम्पको निर्माण समेत सम्पन्न भई परीक्षण भइसकेको छ । यस जिल्लामा गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, पञ्चासे लेक, शालिग्राम, महाशिला लगायत अन्य पर्यटकीय क्षेत्र छन् । यहाँका प्राकृतिकसँगै मानव निर्मित संरचनाले पनि पर्यटक आकर्षित भइरहेका छन् ।   कालीगण्डकी र मोदीखोलामाथि निर्मित अग्ला पुलले अहिले पनि पर्यटक आकर्षित गरिरहेका छन् । ५६७ मिटर लामो कुश्मा–१ पाङ र बाग्लुङ रामरेखा जोड्ने एशियाकै लामो झोलुंगे पुलको हालै निर्माण सम्पन्न भएको छ भने योभन्दा अगाडि नै पाँचओटा लामा र अग्ला झोलुंगे पुलहरूको निर्माण भइसकेको छ ।

कालीगण्डकी कोरिडोर समेत अहिले बनिरहेको पुलभन्दा तलतिरबाट विस्तार भइरहेकाले पर्वतको पर्यटन विकासमा टेवा पुग्ने सरोकारवालाहरूको विश्वास छ । बुद्धभूमि लुम्बिनी, गुल्मीको रिडी हुँदै मुक्तिनाथ यात्रामा जाने तीर्थयात्री समेत यही बाटो भएर जाने भएकाले पर्वतले पर्यटनबाट ठूलो फाइदा लिने उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए । पुलको चक्रपथले अहिले आइरहेका भन्दा दोब्बर÷तेब्बर पर्यटक बढ्ने दाबी उनले गरे ।  

पुलले पर्यटक आकर्षित गर्नुका साथै दुर्गम भूगोललाई सुगम बनाइदिएको छ । पुल बनेपछि वारिपारिका बासिन्दाका बीचमा वस्तु आयात निर्यात बढेको छ । गाउँको कृषिजन्य उत्पादन सहजै बजार लैजान सकिएको छ । पर्वतका दुर्गम गाउँका बासिन्दालाई सदरमुकाममा आउँदा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पुलकै कारण हटेको छ । बागलुङका बासिन्दालाई पर्वतको कुश्मामा व्यापार गर्न पुलकै कारण सहज भएको अगुवा कृषक थानेश्वर भुसालले बताए । ‘पुल नहुँदा वारिपारि गर्नै एक घण्टा लाग्थ्यो,’ भुसालले भने, ‘अहिले पाँच मिनेटमै वारपार गर्न सकिन्छ ।’

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)