ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौद्रिक नीति सकारात्मक : शेयर लगानीकर्ता

मार्जिन कर्जाको सीमा बढ्यो, नगद लाभांशमा कडाइ

२०७७ सावन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई पूँजीबजारका लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन् । नयाँ गभर्नरले पूँजीबजारसम्बद्ध मागलाई सम्बोधन गरेको लगानीकर्ताले बताएका छन् ।

शेयर धितो राखेर लिने कर्जाको सीमा बढेको छ भने औसत धितो मूल्यांकन अवधि घटाइएको छ । राष्ट्र बैंकले नगद लाभांशलाई कडाइ गरेकाले बैंक तथा वित्तीय संस्थाले बोनस शेयरमा जोड दिने देखिन्छ । गतवर्ष धेरैजसो बैंक तथा वित्तीय संस्थाले यसअघि नै पूँजी वृद्धिका लागि हकप्रद र बोनस वितरण गरेको भन्दै नगद लाभांशमा जोड दिएका थिए । लगानीकर्ताले नगद लाभांश मात्र दिएका कम्पनीको वार्षिक साधारणसभामा प्रस्ताव पारित गराउनसमेत रोक लगाएको अवस्था थियो । यस वर्ष नेपाल राष्ट्र बैंकले चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम वितरणयोग्य नाफा भएका कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने व्यवस्था गरेको छ । बोनस शेयरको अपेक्षा गर्ने केही लगानीकर्तालाई यसले उत्साहित बनाएको छ । बोनस शेयर बढी पाउनेपछि त्यसले बजार उकालो लाग्ने विश्वास उनीहरूको छ ।  

यसअघि ६५ प्रतिशत रहेको शेयर धितो कर्जाको सीमा ५ प्रतिशत बढाएर ७० प्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकले शेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा सुरक्षण मूल्य अनुपात ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था गरेको हो । यस्तो प्रकृतिको कर्जा प्रवाहमा शेयरको मूल्यांकन गर्दा विद्यमान १८० दिनको अंकित मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्य जुन कम छ, त्यसैका आधारमा गर्नुपर्ने व्यवस्था परिवर्तन गरी १२० को औसत मूल्य कायम गरेको छ ।

स्वैच्छिक मर्जरलाई सेवासुविधासहित प्रोत्साहन गरेको छ । तथा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले त्यस क्षेत्रको विकास र विस्तारका लागि पनि स्वागतयोग्य योजनाहरू ल्याएकाले यसबाट पूँजीबजारमा प्रत्यक्ष असर पर्ने आशा लगानीकर्ताको छ ।

आफूहरूको मागबमोजिम मौद्रिक नीति आएकोमा लगानीकर्ता उत्साहित देखिएका छन् । शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बाँस्तोलाले यस वर्ष पहिलोपटक सम्पूर्ण क्षेत्रलाई समेटेर सन्तुलित किसिमको अर्थतन्त्र बनाउन सहयोग पुग्ने खालको मौद्रिक नीति आएको बताए । कोरोना संक्रमणले असर पारेको अर्थतन्त्रलाई अवसरमा बदल्न सक्ने अवस्थाको सृजना यस वर्षको मौद्रिक नीतिले गर्ने बाँस्तोलाको विश्वास छ ।

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष एवम् सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले पनि यो वर्षको मौद्रिक नीतिले सबै क्षेत्र र वर्गलाई समान रूपमा सम्बोधन गरेको धारणा राखेका छन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीति स्वागतयोग्य रहेको बताएकी छन् । लगातार ४ वर्षदेखि घटेको बजारले पछिल्लो समय राम्रो गति लिन थालेको छ । यो गतिलाई निरन्तरताका लागि मौद्रिक नीतिले सहयोग गर्ने उनको विश्वास छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)