ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थलिएको पर्यटन क्षेत्रलाई त्राण दिने अपेक्षा : कार्यान्वयनमा व्यवसायीको आशंका

२०७७ सावन, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना भाइरसबाट पर्यटन व्यवसाय ठप्प हुँदा अत्तालिएका पर्यटन व्यवसायीहरूले मौद्रिक नीतिबाट केही राहत पुग्ने विश्वास लिएका छन् । नयाँ मौद्रिक नीतिले कोरोनाबाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटेल, रेस्टुराँलगायत पर्यटन क्षेत्रका उद्यमव्यवसाय पुनरुत्थानका लागि चालू पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको विशेष व्यवस्था गरेको छ ।

व्यवसाय ठप्प भएपछि घरभाडा, पारिश्रमिकलगायत सञ्चालन खर्चको जोहो गर्न र ऋणको किस्ता तिर्न समस्यामा परेका व्यवसायीलाई कर्जाको म्याद थपले राहत दिएको व्यवसायीहरूको भनाइ छ ।  

त्यस्तै, कोरानाका कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न/सञ्चालन हुन नसकेको अवस्थामा पर्यटकस्तरीय होटेलको हकमा अधिकतम २ वर्ष थप गरिएको छ । विकास बैंकले आफ्नो कुल कर्जा लगानीको न्यूनतम २० प्रतिशत र वित्त कम्पनीहरूले न्यूनतम १५ प्रतिशत कर्जा पर्यटनलगायत गर्नुपर्ने व्यवस्थाले मझौला तथा साना होटल व्यवसायीलाई राहत पुग्ने होेटेल व्यवसायी बताउँछन् ।

मौद्रिक नीतिले कोरोनाले असर पारेको पर्यटन क्षेत्रको पुनःस्थापनाका सन्दर्भमा महत्त्वपूर्ण र सकारात्मक रहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । मौद्रिक नीतिमा आफ्नो मन्त्रालयका तर्फबाट प्रस्ताव गरिएका तथा व्यवसायीका अधिकांश सुझाव समेटिएको मन्त्री भट्टराईको भनाइ छ ।

सरकारले बजेटमा घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको थियो । सोहीबमोजिम रू.५० अर्बको कोष परिचालन गरिने मौद्रिक नीतिमा बताएको छ । यो कोषबाट सस्तो ब्याजदरमा पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसायलाई निरन्तरता दिन तथा श्रमिक कर्मचारीको पारिश्रमिक भुक्तानी दिन कर्जा उपलब्ध गराइनेछ ।

कर्जा भुक्तानीको म्याद थप, कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्थाबाट पर्यटन तथा हवाई क्षेत्र पनि लाभान्वित हुनेछ ।

कर्जाको म्याद १ वर्ष थप गर्ने तथा पर्यटन पूर्वाधार निर्माणमा सहज कर्जा उपलब्ध गराइने व्यवस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन निकै सहयोगी हुने पर्यटन व्यवसायीको भनाइ छ ।

पर्यटन व्यवसायीहरूले आफूले राखेका धेरै माग सम्बोधन भएकाले मौद्रिक नीति स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । यद्यपि उनीहरूले मौद्रिक नीतिको कार्यान्वयनमा भने आशंका व्यक्त गरेका छन् ।

मौद्रिक नीतिले समग्र पर्यटन उद्योगका माग सम्बोधन गर्ने प्रयास गरे पनि यसको कार्यान्वयनमा भने शंका रहेको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए । ‘भूकम्पका समयमा पनि समस्यामा परेको व्यवसायलाई उठाउन मौद्रिक नीतिमा राम्रा कुरा आएका थिए । तर, पछि कार्यान्वयनमा जाँदा तदनुरूप भएन । अहिले पनि यस्तो हुने आशंका छ,’ उनले भने । होटेल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले पनि थलिएको पर्यटन उद्योगलाई मौद्रिक नीतिले त्राण दिने अपेक्षा गरेको बताए । उनले नीतिभन्दा कार्यान्वयन पक्ष बढी महत्त्वपूर्ण हुने बताए । नीतिको सफल कार्यान्वयन भए कोरोनाबाट थलिएको पर्यटन चलायमान हुने अपेक्षा गरिएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)