ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : धितोपत्रको राफसाफ २ दिनभित्रै

२०७७ सावन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र दोस्रो बजारमा हुने कारोबारको राफसाफ २ दिनभित्र हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा हाल कायम टी प्लस थ्रीको कारोबार राफसाफसम्बन्धी व्यवस्थालाई टी प्लस टुमा झार्न लागेको हो । दोस्रो बजार पूर्ण प्रविधिमैत्री बन्दै गएको अवस्थामा राफसाफ प्रक्रियालाई पनि छोट्याउने व्यवस्था बोर्डले गरेको हो ।

बोर्डले समग्र बजार विकास तथा सुधारका लागि दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणालीलाई लगानीकर्ताहरूको बैंक खाता तथा डिम्याट खातासँग आबद्ध गर्ने, नेप्सेको टीएमएसलाई प्रभावकारी बनाउने, बजारसम्बन्धी आवधिक रणनीतिक योजना तयार गरी लागू गर्ने योजनालाई पनि यस वर्ष प्राथमिकतामा राखेको छ ।

गत वर्षदेखिकै योजनामा रहेको वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीलाई अनुमति दिने योजनालाई पुनः दोर्‍याएको छ । यस वर्षको कार्यक्रममा धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने, सूचीकृत सरकारी ऋणपत्रको पूर्णरूपमा अभौतिकीकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाउने योजना पनि बोर्डले ल्याएको छ ।

धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गर्ने कार्यक्रम पनि बोर्डले प्राथमिकतामा राखेको छ । बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स दिने बाटो सरकारले खुला गरिसकेको अवस्थामा ब्रोकरहरूको आधिकारिक प्रतिनिधिको व्यवस्थाले देशभरबाट ब्रोकरका एजेन्टमार्फत पनि धितोपत्र बजारमा आबद्ध हुन सकिने भएको छ ।

धितोपत्र दोस्रो बजारलाई सन्तुलनमा राख्न धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमति दिने काम पनि यसै आर्थिक वर्षभित्र गरिनेछ । विशिष्टीकृत लगानी कोष सञ्चालन अनुमति दिने, साना तथा मझौला कम्पनीहरूका लागि छुट्टै कारोबार हुने एसएमई प्ल्याटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्ने योजना बोर्डको छ । केन्द्रीय तथ्यांक भण्डारणसम्बन्धी सफ्टवेयर विकास गरी तथ्यांकहरूको नियमित प्रशोधन तथा अभिलेख राख्ने व्यवस्था गर्ने र बोर्डको आन्तरिक कार्यप्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरू खरीद तथा विकास गर्नेजस्ता कार्यक्रमलाई पनि बोर्डले प्राथमिकतामा राखेको छ । कानूनी संरचना सुधारका लागि बोर्डले धितोपत्र बजारको दीर्घकालीन विकासका लागि ट्रस्ट ऐनको मस्यौदा बनाउर्ने, धितोपत्र बोर्ड ऐनमा सुधार ल्याउन मस्यौदा बनाउने, धितोपत्र कारोबार ऐनको मस्यौदा बनाउने, सार्वजनिक निष्कासनमा बुक बिल्डिङ प्रणाली लागू गर्नेजस्ता कार्यक्रम यस वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।

धितोपत्र बजारमा सूचीकृत जलविद्युत् कम्पनीहरूको परियोजना सञ्चालन अवधि समाप्त भएपछि सम्बद्ध कम्पनी तथा शेयरधनीहरूको सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्थाका लागि अध्ययन गर्ने योजना पनि बोर्डको छ । हाल जलविद्युत् कम्पनीको लाइसेन्स अवधि समाप्त भएपश्चात् सम्पूर्ण स्वामित्व सरकारमा हस्तान्तरण हुने कुराले यस क्षेत्रको शेयरमा लगानीकर्ताहरूको आकर्षण घटेको देखिन्छ । यस सम्बन्धमा स्पष्ट व्यवस्था गर्न आम लगानीकर्ताले माग गर्दै आएका छन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गरी बजार विस्तार गर्ने नीति स्वागतयोग्य रहेको बताए । यो व्यवस्था कार्यान्वयनबाट धितोपत्र दलाल व्यवसायीलाई मात्र नभएर समग्र पूँजीबजार सम्बद्ध निकायका लागि प्रभावकारी हुने उनको विश्वास छ ।

लगानीकर्ता एवम् पूँजीबजार अध्येता दिलीपकुमार मुनकर्मीले समग्रमा बोर्डको नीति तथा कार्यक्रम विगतमा जस्तै राम्रो रहेको भन्दै नयाँ नेतृत्वले कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘नीतिमा समावेश सबै कार्यान्वयन भए नयाँ अध्यक्ष धन्यवादका पात्र हुनेछन्,’ उनले भने, ‘केन्द्रीय तथ्यांकहरूको नियमित प्रशोधन र अभिलेख राख्ने व्यवस्था, टी प्लस टु, टीएमएसमा सुधार लगाएका विषय सकारात्मक छन् ।’ शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले यस वर्षको नीति तथा कार्यक्रम पछिल्ला नीति तथा कार्यक्रमभन्दा फरक भएको प्रतिक्रिया दिए । पूँजी बजारको विकास र विस्तारका लागि यो कार्यक्रम सहयोगी हुने फुल्लेलको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)