ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरबैंक एटीएम कारोबार निःशुल्क गर्न निर्देशन

२०७७ सावन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । एटीएम प्रयोगकर्ताले जुनसुकै बैंकबाट नगद झिक्दा शुल्क नलिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले कोभिड–१९ को असर रहेसम्म अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेपछि आइतवार राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७६ मा उक्त व्यवस्था थप गर्दै यसलाई तत्काल कार्यान्वयन ल्याउन निर्देशन दिइएको हो । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार अब एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कुनै शुल्क काटिने छैन ।

कोभिड–१९ को प्रभाव नेपालमा देखिन थालेपछि चैत ८ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाले जुनसुकै एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । लकडाउन खुकुलो भएपछि भने बैंक तथा वित्तीय संस्थाका संघहरूले संयुक्त सूचना जारी गर्दै पुनः शुल्क लाग्ने घोषणा गरेका थिए । संघहरूले यस्तो सूचना जारी गरे पनि केही बैंकहरूले भने एटीएम प्रयोग भएबापत स्वैच्छिक रूपमा शुल्क नलिएको जानकारी दिँदै नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले आफ्नै बैंक (सानिमा बैंक)को उदाहरण दिएका थिए ।

भुक्तानी सेवा सञ्चालक तथा प्रदायक संस्थाहरूको अनुमति स्थगित
राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरू सञ्चालन गर्न नयाँ अनुमति दिने कार्य स्थगित गरेको छ । नयाँ अनुमति बन्द गरिए पनि यसअघि सैद्धान्तिक सहमति प्रदान गरिएकालाई भने सञ्चालनको अनुमति दिइने केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आवको मौद्रिक नीतिले भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरू सञ्चालन गन नयाँ अनुमति दिने कार्य स्थगित गर्ने व्यवस्था गरेकाले यसलाई कार्यान्वयनमा ल्याइएको भुक्तानी
प्रणाली विभागको भनाइ छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म अनुमति पाएका भुक्तानी प्रणाली सञ्चालक ९ ओटा छन् । यस अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेड, स्मार्टच्वाइस टेक्नोलोजिज, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स), युनियन पेइन्टर नेशनल कम्पनी लिमिटेड शाङ्घाई चीन, भिजा वर्ल्डवाइड प्रालि सिंगापुर, नेपाल पेमेन्ट सोलुसन प्रालि, मास्टरकार्ड एशिया/प्यासिफिक प्राइभेट लिमिटेड सिंगापुर, फोनपे पेमेन्ट सर्भिस लिमिटेड र फस्ट पे टेक्नोलोजी प्रालि सञ्चालनमा छन् । यसैगरी हालसम्म १४ ओटा भुक्तानी सेवा प्रदायक संस्थाहरू सञ्चालनमा छन्, जस अन्तर्गत आईएमई पे, ई–सेवा, सेल पे, सीजी पे, स्प्यारो पे, पे नेप प्रालि, क्यू पे प्रालि, नेपाल पे टाइम प्रालि, स्मार्ट कार्ड नेपाल प्रालि, मोहर डिजिटल प्रालि, प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेड प्रभु पे, ई–नेट पेमेन्ट प्रालि ई–नेट पे, फोकसवान पेमेन्ट सोलुसन्स प्रालि  र कुराकानी पे प्रालि छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)