ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रसुवागढी नाकामा फेरि अवरोध : ५० ओटाभन्दा बढी कन्टेनरको जाँचपास रोकियो

पहिरोले सामान ढुवानीमा थप समस्या

२०७७ सावन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

साउन ५, काठमाडौं । कोरोनका कारण साढे ५ महीना बन्द भएर करीब २ साता अघिबाट सञ्चालनमा आएको रसुवागढी नाकामा फेरि अवरोध आएको छ ।

वर्षा लागेसँगै नाकामा आयात गरिएका सामानको जाँचपास हुन सकेको छैन भने कच्ची सडकका कारण ठाउँठाउँमा पहिरो गएकाले जाँचपास भइसकेका मालवाहक गाडीसमेत विभिन्न ठाउँमा रोकिएका छन् ।

रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले ३ दिनदेखिको निरन्तर वर्षात्का कारण नेपालबाट मितेरी पुलमा समान लोड गर्न समस्या परेको बताए । लोड गरेका ५० भन्दा बढी कन्टेनरको सामानको जाँचपास हुन सकेको छैन । विशेषतः इलेक्ट्रोनिक्स, लत्ताकपडा बोकेका गाडी रोकिएका छन् ।

दैनिक १ करोडको हाराहारीमा राजस्व संकलन हुने यस नाकामा वर्षायामका कारण जाँचपास हुन नसक्दा सोमवार राजस्व नै उठ्न नसकेको भन्सार प्रमुख खड्काको भनाइ छ । उनका अनुसार जाँचपासमा राखिएका र कन्टेनरमा रहेको सामानलाई वर्षायाममा पानीबाट सुरक्षित राख्न नेपालतर्पm कुनै व्यवस्था छैन । ‘साँघुरो ठाउँमा समान झारेर जाँचपास गर्नुपर्ने बाध्यताले समस्या निम्तिएको हो, यसको व्यस्थापनका लागि प्रयास भइरहेको छ,’ खड्काले भने । 

खड्काका अनुसार जाँचपास व्यवस्थित बनाउन सोमवार मात्रै चीनतर्पmका अधिकारीहरूसँग छलफल भएको छ । ‘वर्षायाममा समेत लोडिङ र जाँचपासलाई सहज बनाउने बारे दुई देशका अधिकारी बिच छलफल भएको छ, चिनियाँ पक्षले त्यसमा सहयोग गर्ने बताइसकेको छ,’ खड्काले भने । 

२ हप्ताका बीचमा १ सयभन्दा बढी कन्टेनर नेपाल भित्रिएको र ६ करोडभन्दा बढी राजस्व संकलन भएको उनको भनाइ छ ।

जाँचपास भएका कतिपय मालवाहक गाडीले ठाउँठाउँमा गएको पहिरोका कारण बाटोमा नै सास्ती खेपिरहेका छन् । रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले ठाउँठाउँमा गएको पहिरो हटाउन जलविद्युत् कम्पनीको सहयोगमा स्थानीय प्रशासन लागिरहेको बताइन् । 

उनका अनुसार रसुवागढीबाट आउने मालवाहक गाडीले खोपाङ, तातोपानी, कालिका गाउँपालिकाअन्तर्गतको राम्चे भन्ने ठाउँमा झरेको पहिरोका कारण अवरोध सहनुपरेको छ । ‘बढी पहिरो जाने ठाउँमा एस्काभेटर तयारी अवस्थामा राखिएको छ, निरन्तर झरिरहेको पहिरोले अवरोध भएको हो, छिट्टै हटाउने प्रयास भइरहेको छ,’ उनले भनिन् । 

व्यापारीहरूका अनुसार साढे ५ महीनादेखि चीनतर्पm रोकिएका ३ सयभन्दा बढी मालबाहक गाडी नेपाल आउन सकेका छैनन् । 

रसुवागढी नाका निर्वाध सञ्चालनमा आएपछि खुशी देखिएका उद्योगी व्यापारी फेरि दुःखी बन्नुपरेको छ । लामो समयदेखि बन्द रहेको रसुवागढी नाका वर्षायाममा फेरि अवरोध आउन थालेपछि आफूहरू चिन्तित बनेको नेपाल चेम्बर अफ कमर्शका भन्सार सभापति नीरज राईले बताए । 

‘वर्षायाममा सञ्चालन गर्न अप्ठ्यारो नै थियो, अवरोध आइरहेको छ, आशा छ, स्थानीय प्रशासन, भन्सार कार्यालयबाट अवरोध हटाउन प्रयास हुनेछ,’ उनले भने । राईका अनुसार सामानहरू जाँचपास नहुने र अवरोध रहिरहे सामान विग्रने र लागतसमेत बढ्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)