ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुधवारपछि सार्वजनिक यातायात चलाउने सहमति

२०७७ सावन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

साउन ५, काठमाडौं । यातायात व्यवसायी र सरकारबिच बुधवारपछि सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छ । 

सोमवार यातायात व्यवस्था विभागमा विभागका महानिर्देशक गोगनबहादुर हमाल र व्यवसायीबीच भएको यातायात सञ्चालनसम्बन्धी कार्यविधिको तेस्रो छलफलमा बुधवारपछि सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको हो । 

यातायात मजदूरको कोरोना बीमा गरिने तथा र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले बेहोर्ने तथा ५० प्रतिशत व्यवसायीले बेहोर्ने गरी विभागले सहजीकरण गर्ने सहमति भएको छ । 

सोमवार विभागमा बसेको बैठकले चालक÷सहचालकको ५० प्रतिशत कोरोना बीमा सरकारले बेहोर्ने र कोरोनाका कारण कामदारको मृत्यु भएमा त्यसको क्षतिपूर्तिका लागि सरकारले कोष बनाउनसम्बन्धी मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरेपछि व्यवसायीहरू यातायात सञ्चालन गर्न सहमत भएका हुन् । 

सरकारले असार अन्तिम साताको मन्त्रिपरिषद् बैठकमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनओटा मजदूर संगठनले सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेका थिए । 

असार पहिलो सातादेखि लकडाउन खुकुलो भएसँगै यातायात सञ्चालन गर्न पाउनुपर्ने माग सहित सरोकारवाला निकायसँग भेटघाट बढाएका व्यवसायीले कामदारको सुरक्षा र बिनाराहत सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट तथा मौद्रिक नीति २०७७/७८ ले यातायात क्षेत्रको समस्या सम्बोधन गरेपछि यातायात सञ्चालन गर्ने विषयमा यातायात व्यवसायीहरू लचिलो बनेका थिए । तर, चालक/सहचालकको सुरक्षाका विषयमा सहमति हुन नसक्दा सवारीसाधन सञ्चालनको विषयमा निर्णय गर्न यातायात व्यवसायीले आनाकानी गर्दै आएका थिए । 

त्यस्तै सोमवार विभागमा भएको छलफलमा विभागले सम्बद्ध मन्त्रालयसँग छलफल गरी जिल्लाभित्र मात्र नभएर लामो दूरीका सार्वजनिक यातायात खोल्न पनि पहल गर्ने निर्णय भएको छ । ‘हामी लामो दूरीका सार्वजनिक यातायात खोल्न सम्बद्ध मन्त्रालय र सरोकारवाला निकायमा सिफारिश गर्छौं,’ विभागका महानिर्देशक हमालले भने । 

यसका लागि विभागले मंगलवार नै कोरोना रोकथामका लागि उपप्रधामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको कोरोना उच्चस्तरीय समितिलाई भेटेर लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सिफारिश गर्ने निर्णय भएको बैठकमा सहभागी एक व्यवसायीले बताए । 

व्यवसायीले मंगलवार छलफल गरेर मात्र पूर्णरूपमा कहिलेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने बताए पनि ७ गते पछिबाट मात्र क्रमशः गाडी चलाउन सकिने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । 

‘कतिपय गाडी मर्मत गर्नुपर्ने अवस्थामा छन् भने कतिपय कर्मचारी घर गएकाले बोलाउनु पर्छ । त्यसैले गाडी पूर्णरूपमा ७ गतेपछि मात्र सञ्चालन हुन्छन्,’ उनले भने । गाडी सञ्चालन गर्न चालक/सहचालकका लागि सुरक्षा सामग्रीको व्यवस्था व्यवसायी आफैले गर्ने र बाटोमा हात सफा गर्ने विद्युतीय धाराको व्यवस्था सरकारले गर्ने सहमति भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)