ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–जोमसोम सडक ११ दिनदेखि अवरुद्ध

२०७७ सावन, ६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ सडक सम्पर्क विच्छेद भएको छ । गत असार २५ गतेदेखि परेको अविरल वर्षाका कारण दानको काभ्रेभीर, घोप्टेभीर, गुइँठेभीर लगायत ठाउँहरूमा पहिरोले सडक बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

सडक खुलाउन नेपाली सेना, बेनी–जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहेको भए पनि यातायात सञ्चालन गर्न नसकिएको मुस्ताङबाट ओभरसियर सचिन पौडेलले जानकारी दिए । लगातारको वर्षा, भिरालो जमीन, भूमिगत पानी र कमजोर भू–बनावटका कारण माथिबाट ढुंगामाटो सहितको लेदो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ । सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर र ब्रेकरलगायत उपकरणको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारीसाधन हिलोमै फस्ने गरेका छन् ।

सडक खण्डमा सामान्य वर्षामा समेत हिलाम्य हुँदा यात्रा कष्टकर बनेको पर्यटन व्यवसायी शेरचन बताउँछन् । ‘सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ’, उनले भने ।

उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मोटरसाइकल र साना सवारीसाधन आवतजावतमा ठूलो जोखिम रहेकाले सतर्कता उपनाउन अन्नपूर्ण गाउँपालिकाले समेत अनुरोध गरेको छ । मुस्ताङ जोड्ने सडक रघुगंगा गाउँपालिकाको चमेरेदेखि अन्नपूर्ण गाउँपालिकाको गुइँठे, रूप्से झरना, खामाभित्ताको द्वारी खोला र काभ्रेभीरमा धेरै समस्या छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्ड अन्तर्गत म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म सबैभन्दा जोखिमपूर्ण बनेको छ ।

वर्षाको समयमा यात्रुले वर्षेनी ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । सडकखण्ड अन्तर्गत गत शनिवार चमेरेदेखि मुस्ताङको सीमाना घाँसासम्म करीब आधा दर्जन स्थानमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाएर यातायातका साधन सञ्चालन गरेको तीन दिनमै पुनः अवरुद्ध भएको हो ।

८ घरधुरी विस्थापित
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान दोसल्लेको तल्लो फाँटमा पहिरोको जोखिमले ८ घर विस्थापित भएका छन् । अविरल वर्षासँगै आइतवार बिहानपख बस्तीमाथि रहेको सल्लेरी सामुदायिक वनबाट खसेको पहिरोको उच्च जोखिममा रहेका ८ घर परिवारलाई सुरक्षित स्थानमा स्थानारन्त गरिएको गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले जानकारी दिइन् ।

‘नयाँ पहिरो हो, जोखिमपूर्ण छ, चर्किएको अवस्थामा रहेकाले थप क्षति हुन नदिन सतर्क छौं’, गाउँपालिकाकी उपाध्यक्ष मगरले भनिन् । बस्तीमा निरन्तर ढुंगा खस्न थालेपछि शेरप्रसाद पाईजा, रामचन्द्र पूर्जा, मोहनसिंह पुन, विष्णु पुन, दुतबहादुर पुन, हेमबहादुर पुन, रेबहादुर पुन र हर्कवीर पुनको परिवारलाई बस्तीबाट हटाइएको उनले जानकारी दिइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)