ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आउने भयो टेलिकमको ‘मोबाइल मनी’

राष्ट्र बैंकले दियो आशयपत्र

२०७७ सावन, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई युटिलिटी पेमेन्ट सर्भिससहितको भुक्तानी सेवा (मोबाइल मनी) सञ्चालन गर्न आशयपत्र दिएको छ । नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि नेपाल टेलिकमलाई भुक्तानी सेवाप्रदायकका रूपमा मोबाइल मनी सेवा सञ्चालन गर्न बाटो खुलेको छ ।

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा भुक्तानी सेवा सञ्चालन गर्न १ वर्षअघि राष्ट्र बैंकमा निवेदन दिएको थियो । टेलिकमका प्रवक्ता राजेश जोशीले नेपाल राष्ट्र बैंकबाट आशयपत्र पाएको बताए । आशयपत्र पाएसँगै सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

सेवा सञ्चालन गर्न बैंक र टेलिकमले संयुक्त लगानीको कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । आवश्यक पूर्वाधार जुटाएर ६ महीनाभित्र अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि राष्ट्र बैंकले आवश्यक अध्ययन गरेर ३० दिनभित्र सेवा सञ्चालनका लागि अन्तिम स्वीकृति दिनेछ । त्यसपछि उनीहरूले सेवा सेवा सञ्चालन गर्न सक्नेछन् ।

राष्ट्र बैंकले कम्पनीको कार्यालय, कर्मचारी, सफ्टवेयरलगायत विषयमा अध्ययन गरेर अन्तिम स्वीकृति दिनेछ । त्यसपछि कम्पनीले सेवा सञ्चालन गर्न पाउने राष्ट्र बैंकको भनाइ छ ।

टेलिकमको बहुमत शेयर हुने गरी स्थापना हुने संयुक्त कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँको हुनेछ । १ हप्ताभित्र टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुुक्त लगानीको कम्पनी स्थापना हुने प्रवक्ता जोशीले बताए ।

‘हामीले संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाइसकेका छौं । सम्भवतः हप्ता दिनभित्र कम्पनी दर्ता हुन्छ,’ उनले भने, ‘त्यसपछि सफ्टवेयर जडान गर्ने, कार्यालय स्थापना गर्नेलगायत आवश्यक पूर्वाधार जुटाउँछौं र अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जान्छौं ।’

टेलिकमको यो सेवा एक प्रकारको वालेट हो । नेपाल टेलिकमअन्तर्गतको मोबाइल नम्बर र वाणिज्य बैंकमा रहेको खाता नम्बर रजिस्टर गरेर एप्समार्फत सेवाग्राहीले विभिन्न किसिमको भुक्तानी गर्न सक्नेछन् ।

यसमा रिचार्जको सुविधा पनि हुनेछ । टेलिकमका अनुसार एप्समार्फत सबै प्रकारको कारोबार गर्न सकिनेछ । यसको बैंक सेटलमेन्टमा भूमिकामा राष्ट्रि वाणिज्य बैंक रहेको छ ।

विदेशमा दूरसञ्चार कम्पनीहरूले भुक्तानी सेवाप्रदायकका रूपमा काम गर्दै आएका छन् । कतिपय मुलुकमा बैंकभन्दा टेलिकम कम्पनी नै यस विषयमा अगाडि भएको पाइन्छ । नेपालमा भने टेलिकम कम्पनीको नेतृत्वमा भुक्तानी सेवा सञ्चालन गर्न लागिएको यो पहिलोपटक हो । यसका लागि नेपाल टेलिकमले गत पुसमा नै आवश्यक कार्यविधि पारित गरिसकेको छ ।

टेलिकमकै नेतृत्वमा नै यो सेवा सञ्चालन गर्दा दूरदराजमा रहेका मानिसमा पनि डिजिटल कारोबारको पहुँच पुग्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन् । ‘बैंकिङ सेवा नपुगेको ठाउँमा पनि टेलिकमको सेवा पुगेको छ । धेरै मानिसले टेलिकमअन्तर्गतको नै मोबाइल नम्बर प्रयोग गर्छन्,’ उनले भने, ‘यस अवस्थामा उनीहरूलाई बैंकिङ सेवामा ल्याउन सहज हुने अपेक्षा पनि छ ।’ वित्तीय समावेशीकरण र डिजिटल कारोबारको पहुँच बढाउने उद्देश्यसहित मोबाइल मनी सेवा सञ्चालन गर्न लागेको उनको भनाइ छ । टेलिकम र वाणिज्य बैंकले संयुक्त रूपमा सेवा सञ्चालन गर्दा अझ बढी प्रभावकारी हुन उनको भनाइ छ ।

‘हामीसँग देशव्यापी रूपमा नेटवर्क छ भने राष्ट्रिय वाणिज्य बैंकसँग वित्तीय क्षेत्रको लामो अनुभव छ,’ उनले भने, ‘हामीले दुई आधारलाई प्रयोग गरेर यो सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्छौं ।’ दुवै सरकारी मातहतको कम्पनी भएकाले यो अझै विश्वासिलो हुने पनि उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)