ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोबिल्लाको पुल र बस्ती जोखिममा

२०७७ सावन, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । बाढीपहिरोका कारण पोखराको दक्षिण–पूर्वी क्षेत्रलाई जोड्ने दोबिल्लास्थित फुस्रे खोलाको पुल जोखिममा परेको छ । पोखरा महानगरपालिका–१७ र २१ जोड्ने फुस्रे खोलामा बनेको उक्त पुलनजिकैको भाग पहिरोले बगाएपछि जोखिम बढेको हो ।

अविरल वर्षाका कारण पुल निर्माण गरिएको ठाउँनजिकै ठूलो पहिरो गएका कारण त्यस क्षेत्रको बस्ती र सडकसमेत जोखिममा परेको स्थानीयले बताएका छन् ।

पोखरामा १ सातादेखि परेको अविरल वर्षासँगै फुस्रे खोलामा आएको बाढीले नदीकिनाराको भागमा पहिरो जाँदा स्थानीय प्रताप राना मगरको शौचालय, गोबर ग्यास प्लान्ट र गोठ समेत बगाएको छ । गत ३१ असारको राति परेको मुसलधारे वर्षाले मगरको घर पछाडिको १० मिटरभन्दा धेरै जमीन खोलाले बगाएको थियो ।

दोबिल्ला पुलनजिकै रहेको घरमा पहिरोको जोखिम बढेपछि घर छोडेर अन्यत्र बस्ने गरेको रानामगरले बताए । ‘मुसलधारे वर्षासँगै आएको पहिरोले घर पछाडिको सबै जमीन बगाएछि घर नै जोखिममा प¥यो । अहिले परिवारसहित घर नै छाडेर अन्यत्र बस्न थालेका छौं’, उनले भने, ‘पहिरोका कारण दोबिल्ला पुलसँगै पुरै बस्ती पहिरोको जोखिममा छ ।’

‘दोबिल्लाको सडक र बस्तीमा गरी २०० मिटर जति कटान भएको छ’, स्थानीय समाजसेवी अशोक रायमाझीले भने । वर्षासँगै आएको बाढीपहिरोका कारण यस क्षेत्रका ३५ घर जोखिममा परेको उनको भनाइ छ । बढ्दो जोखिमपछि यहाँका बासिन्दाले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जोखिमबारे जानकारी गराएका छन् ।

स्थानीयको जानकारीपछि प्रदेशसभा सदस्य कृष्ण थापासहित वडाका प्रतिनिधिले बस्ती र पुलको अवलोकन गरेको स्थानीय राम थापाले बताए । तर, जुन गतिमा जोखिम व्यवस्थापनका लागि काम गर्नु पर्ने हो, त्यो भने हुन नसकेको उनको गुनासो छ ।

दोबिल्ला क्षेत्रको बस्ती, सडक र पुल विगत केही वर्षदेखि लगातार पहिरोको प्रकोपमा पर्दै आएको छ । फुस्रे खोलाले वर्षेनि कटान गर्दै जाँदा त्यस क्षेत्रको सडक समेत भासिएको छ । जिल्लाका दक्षिणपूर्वी भेग जोड्ने त्यो सडक हुँदै दैनिक सयौं यातायातका साधन गुड्ने गरेका छन् । जोखिम व्यवस्थापन गर्नतर्फ समयमै सम्बन्धित निकायले चासो नदिँदा भने कुनै पनि बेला पुल र बाटो भत्किने खतरामा छ ।

विगतका वर्षमा पनि निर्वाचित जनप्रतिनिधिले त्यो क्षेत्रको निरीक्षण गर्ने र आश्वान दिँदै आएका थिए । तर, जनप्रतिनिधिको त्यस क्षेत्रमा बाक्लो आवतजावत भए पनि समस्या समाधानमा भने ध्यान दिएका छैनन् ।

सडक डिभिजन कार्यालयले खोलामा थालेको तटबन्ध निर्माणको काम पनि अधुरो छ । तटबन्ध निर्माण समयमा पूरा भएको भए बाढी पहिरोको जोखिम कम भइ बस्ती सुरक्षित हुन सक्ने स्थानीयको आँकलन छ ।

बस्तीसहित पुल जोगाउनका लागि गुरुयोजना बनाउन पनि स्थानीयले माग गरेका छन् । बाढीबाट जोगाउन खोलामा तटबन्धसँगै चेकड्याम पनि निर्माण गरिनु पर्ने स्थानीय बासिन्दा बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)