ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तःशुल्क स्टीकर छपाइको जिम्मा जनक शिक्षालाई

२०७७ सावन, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । अन्तःशुल्क स्टीकरको स्टक रित्तिँदै गएपछि सरकारी कम्पनी जनक शिक्षा सामग्री केन्द्रलाई छपाइको ठेक्का दिइने भएको छ ।

मदिरा तथा सुर्तीजन्य वस्तुमा टाँसिने अन्तःशुल्क स्टीकरको भण्डारण रित्तिनै लागेकाले आन्तरिक राजस्व विभागको प्रस्तावमा जनक शिक्षालाई छपाइ गर्न दिन अर्थ मन्त्रालयले सहमति दिएको हो । स्टीकर असार महीनाका लागि मात्रै पुग्ने स्टक बाँकी रहेको छ । ग्लोबल टेन्डर गरेर स्टीकर छाप्न नभ्याइने भएपछि विभागले केन्द्रलाई छपाइको काम दिन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव पठाएको थियो ।

जनक शिक्षालाई पहिला पनि स्टीकर छाप्न दिइएको थियो । त्यसमा समस्या आएपछि विदेशी कम्पनीलाई दिन थालिएको हो । तत्कालका लागि केन्द्रलाई छाप्न दिने र ग्लोबल टेन्डरको प्रक्रिया पनि शुरू गर्ने विभागका अधिकारीको भनाइ छ । यसका लागि विभागले स्टीकर खरीद प्रक्रिया अघि बढाउन एक अध्ययन टोलीसमेत बनाएको बताइएको छ । टोलीले १५ दिनभित्र प्रतिवेदन दिने र त्यसैअनुसार स्टीकर छपाइको निर्णय लिने बताइएको छ ।

अर्थ मन्त्रालय मातहतका निकायलाई आवश्यक पर्ने ४० भन्दा बढी प्रकारका स्टीकर सरकारले ग्लोबल टेन्डरमार्पmत विदेशमा नै छाप्दै आएको छ । तर, स्टीकर छपाइमा संसदीय समितिले छानविन गरेपछि खरीद प्रक्रियामा अन्योल र ढिलाइ भएको थियो । स्टीकर छपाइको जिम्मा स्वदेशीलाई दिने वा विदेशी कम्पनीलाई दिनेबारे लामो समयदेखि बहस चल्दै आएको छ ।

‘संकटका बेला विदेशी कम्पनीलाई प्रतिस्पर्धा गराएर दिने वातावरण नबनेपछि स्वदेशीलाई दिने विकल्पमा सकारात्मक हुनुपर्ने अवस्था बन्यो,’ विभागका उपमहानिर्देशक प्रमुख थानेश्वर गौतमले अभियानलाई भने ।

उनका अनुसार केकति र कुनकुन प्रकारको स्टीकर दिनेबारे अभैm अन्तिम चरणमा पुग्न भने बाँकी छ । अन्तःशुल्क स्टीकरको मौज्दात सकिनै लागे पनि सरकारले मदिरा तथा चुरोटमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइबारे निर्णय लामो समयदेखि लिन सकेको थिएन ।

ग्लोबल टेन्डरमार्फत अन्तःशुल्क स्टीकर छपाइको जिम्मा पाएको इन्डोनेशियाली कम्पनी पेरुमपेरुरी छपाइको कामबाट पछाडि हटेपछि स्टीकर छपाइमा समस्या आइपरेको हो ।

आन्तरिक राजस्व विभागले सरकारी मुद्रण विभाग तथा जनक शिक्षा सामग्री केन्द्रलाई तत्कालका लागि छपाइको जिम्मा दिनेबारे अध्ययनसमेत गरेको थियो । सोही अध्ययनका आधारमा जनक शिक्षालाई जिम्मा दिने काम अघि बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।

जनक शिक्षा सामग्री केन्द्रका अधिकारीले स्टीकर छपाइका बारेमा औपचारिक पत्र प्राप्त गर्न बाँकी रहेको बताएका छन् ।

अर्थबाट सहमति आएको अनौपचारिक जानकारी आए पनि परिणाम, छपाइको प्रक्रियाबारे औपचारिक जानकारी आइनसकेको केन्द्रका महानिर्देशक महेशप्रसाद तिमिल्सिनाले बताए । उनले भने, ‘अर्थ मन्त्रालयसँग अन्तःशुल्क छपाइसम्बन्धी भएका पछिल्ला छलफलहरू सकारात्मक थिए, सोहीअनुरूप आफूहरूलाई विश्वास मानेर जिम्मा दिने काम भइरहेको छ ।’ विभागले केन्द्रलाई स्टीकर छपाइको जिम्मा दिने भने पनि कति परिमाण दिने भन्ने निर्णय भने गरिसकेको छैन ।

उनका अनुसार अर्थ मन्त्रालयले स्टीकर छपाइको पूर्ण विवरण पठाएपछि केन्द्रले आवश्यक तयारी अघि बढाउनेछ । केन्द्रले स्टीकर छपाइका लागि मसी किन्नुपर्ने र अन्य केही प्राविधिक तयारी पनि गर्नुपर्ने बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)