ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय बस खरीद : बजेट विनियोजन नभए पनि टेन्डरका लागि बसको स्पेशिफिकेशन बनाइँदै

२०७७ सावन, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । चालू आर्थिक वर्षको बजेटमा स्रोत विनियोजन नभए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरीदको टेन्डर अगाडि बढाउने तयारी गरेको छ ।

यसअघि साझा यातायातलाई दिइएको बस किन्ने जिम्मेवारी फिर्ता लिएको मन्त्रालयले असारको पहिलो साता ब्याट्रीबाट चल्ने पूर्ण विद्युतीय बसको विवरण पेश गर्न बस उत्पादक तथा वितरकहरूलाई सार्वजनिक सूचना जारी गरेको थियो ।

मन्त्रालयका अनुसार ४१ ओटा कम्पनीले विद्युतीय बसको विवरण बुझाएका छन् । यसरी विवरण बुझाउने कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी छन् भने पाँच भारतीय कम्पनी छन् ।

तिनै कम्पनीले पेश गरेको विवरणका आधारमा विद्युतीय बसको टेन्डरका लागि स्पेशिफिकेशन काम अगाडि बढाइएको मन्त्रालयले बताएको छ ।

‘स्पेशिफिकेशन बनाउन बजार अध्ययनका लागि विवरण माग गरिएको थियो । कम्पनीहरूले पेश गरेको विवरणलाई अध्ययन गरेर स्पेशिफिकेशन बनाउने काम अघि बढाइएको छ,’ मन्त्रालयका यातायात व्यवस्थापन शाखाका प्रमुख शंकर सिंह धामीले भने । स्पेशिफिकेशन बनाउने काम अन्तिम चरणमा पुगेको बताउँदै उनले त्यसलगत्तै टेन्डर आह्वान गरिने बताए । सरकारले २०७५ पुसको दोस्रो साता मन्त्रिपरिषद् निर्णयमार्फत ३०० ओटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो ।

२०७६ वैशाखदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरेको सरकारले २०७६ असारको अन्तिम साता मात्रै विद्युतीय बस किन्ने जिम्मा साझा यातायातलाई दिएको थियो । साथै, ३ अर्ब रुपैयाँ निकासासमेत गरेको थियो ।

तर, त्यसको ३ महीनाभित्रै अर्थात् असोज १ गते सरकारले दिएको मापदण्ड र तोकिएको समयमा बस किन्न नसकेको भन्दै बस किन्ने रोक्न मन्त्रालयले साझालाई पत्र काट्यो । माघ दोस्रो साता साझालाई दिइएको रकम फिर्ता लिँदै बस किन्ने जिम्मेवारी यातायात मन्त्रालयलाई नै दिइयो ।  

त्यसयता यातायात मन्त्रालयले वैशाखभित्रै एकैपटक ३०० ओटै बसको टेन्डर खोल्ने गरी काम गरिरहेको थियो । त्यसका लागि सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयरिङ अध्ययन संस्थान, विद्युत् प्राधिकरण, साझा यातायातलगायतका प्रतिनिधिसँग छलफलमार्फत टेन्डर डकुमेन्ट बनाउन तयारी गरिँदै थियो । तर, कोरोना संक्रमण नियन्त्रण गर्न देशव्यापी लगाइएको बन्दाबन्दीका कारण उक्त काम रोकिन पुग्यो ।

अहिले मन्त्रालयले सहसचिव प्रमिला वज्राचार्यको संयोजकत्वमा स्पेशिफिकेशन बनाउने काम गरिरहेको छ । विद्युतीय बसका लागि टेन्डर आह्वान गर्ने तयारी गरे पनि चालू आवको बजेटले उक्त बस किन्नका लागि स्रोत विनियोजन भने गरेको छैन । यद्यपि, यसले बस किन्नमा कुनै बाधा नपुग्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । टेन्डर खोल्ने सबै तयारीपछि मन्त्रिपरिषद्को निर्णयबाट अर्थ मन्त्रालयले बजेट निकासा गर्ने मन्त्रालयका यातायात व्यवस्थापन शाखा प्रमुख धामीले बताए । ‘एकैपटक ३०० बस किनिँदैनन्, चरणबद्ध रूपमा बस किनिने भएकाले आवश्यकताअनुसार अर्थ मन्त्रालयले बजेट निकासा गर्ने बताएको छ,’ उनले अभियानसँग भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)