पर्वत । जिल्लाको महाशिला गाउँपालिकास्थित मेहलढुंगामा १०८ धारा निर्माण गरिएको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय तथा धार्मिक महŒवको उक्त स्थानमा हालै १०८ धारा निर्माण गरिएको हो । नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा समेत महाशिला क्षेत्र समावेश छ । गाउँपालिकाले यो क्षेत्रमा देश विदेशका पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ ।
पर्यटन प्रवर्द्धन गर्न १०८ धारा निर्माण गरिएको र महाशिलामा अर्धनारीश्वरको मूर्ति कुँद्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । ‘गाउँपालिकाको नाम नै यही शिलाको नामबाट राखिएको छ,’ अध्यक्ष पौडेलले भने, ‘शिलाको महŒव प्रचारप्रसारमा प्राथमिकता दिएका छौं ।’ उनले यहाँ मन्दिर र सत्तल पनि बनाइएको बताए ।
गण्डकी प्रदेश सरकारले प्रदेशका पर्यटकीय ठाउँहरूको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले महाशिला क्षेत्रको विकासका लागि ५० लाख रुपैयाँ अनुदान दिएको थियो । सोही रकमबाट डीपीआर तयार गरेर विभिन्न कामहरू भइरहेको र अब कम्तीमा पनि २ सय जना मानिस अटाउन सक्नेगरी आश्रय स्थल निर्माण गर्ने पालिकाको योजना छ । शिलाको उचित प्रचार हुन सके धेरै विदेशी पर्यटक आउने तथा महाशिलाकै चिसापानी क्षेत्रमा रहेको पदमार्गमा पनि उनीहरूलाई लैजान सकिने पौडेलले बताए । महाशिलासम्म जाने सहज सडक बनाउन थालिएको छ । महाशिला–५ लुंखु देउरालीमा रहेको शिलाको प्रचारका लागि नाकाहरूमा बोर्ड राखिने भएको छ । शिव पुराणका अनुसार भगवान् शिवले युद्ध गर्दा नन्दीको रूप धारण गरी लड्दा नन्दीको एउटा सिङ भाँचिएको र त्यही सिङ नै शिला बनेर प्रतीकको रूपमा रहेको बताइएको छ । स्थानीयले यो शिलालाई मेहलढुंगा भनेर नामकरण गरेका थिए । कालान्तरमा यसलाई महाशिला भन्न थालिएको स्थानीय डिल्लीराम शर्माले बताए । यस्तै पर्वतकै पाङमा जन्मिएकी मानिने पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाऊँ भनी गरेको व्रत र तपस्यापछि भगवान् शिव अहिलेको शिला रहेकै ठाउँमा उत्पत्ति भएर पार्वतीलाई दर्शन दिएको भन्ने किंवदन्ती पनि रहिआएको छ ।