म्याग्दी । प्रशस्तै पर्यटकीय सम्भावनाहरू भएर पनि ठोस योजना र आवश्यक लगानी अभावमा म्याग्दीको पर्यटन क्षेत्र फस्टाउन सकेको छैन ।
स्थल मार्गका लागि मुस्ताङको प्रवेशद्वार, अन्नपूर्ण संरक्षण क्षेत्रको आकर्षक स्थल, प्राकृतिक सौन्दर्य र हिमाली दृश्य नियाल्ने आँखीझ्याल मानिने म्याग्दीमा सरोकारवालाहरूको बेवास्ता र लगानीकर्ताहरूको अभावका कारण पर्यटन क्षेत्र ओझेलमा परेको छ ।
राउन्ड अन्नपूर्णको आकर्षक गन्तव्य मानिएको घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, प्राकृतिक चिकित्सालयको रूपमा चर्चित सिंगा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रूपसे झरना, धावलागिरि र अन्नपूर्ण आधार शिविर तथा ढोरपाटन शिकार आरक्ष लगायतका केही स्थानमा केही वर्षयता सामान्यरूपमा भैतिक पूर्वाधारहरू निर्माण भए पनि जिल्लाका अन्य पर्यटकीय स्थलहरू दशकौंं अघिकै अवस्थामा छन् ।
म्याग्दीमा संसारकै सातौंं अग्लो हिमाल धवलागिरि पहिलो (८ हजार १६७ मिटर), अन्नपूर्ण पहिलो (८ हजार ८१ मिटर), गुर्जा, मानापाथीलगायत विभिन्न ११ ओटा हिमाल छन् । यी हिमालहरूको आधार शिविरसम्म पुग्नका लागि व्यवस्थित पदमार्ग, होटल तथा रेष्टुराँ र होमस्टेको उचित प्रबन्ध नगरिँदा ओझेलमा परिरहेको छ ।
बस्ती बस्तीबाटै देखिन्छन् हिमाल
म्याग्दीका ६ ओटै स्थानीय तहका अधिकांश बस्तीहरूबाट हिमश्रृंखला र हिमसौंन्दर्यको दृश्यावलोकन गर्न सकिन्छ । तर, यहाँको स्थानीय सरकारले हिमाल दर्शनका लागि आवश्यक योजना र लगानीतर्फ कुनै चासो नदेखाएको पर्यटन व्यवसायीहरू बताउँछन् ।
साथै धवलागिरि आइसफल, धवलागिरि सेञ्चुरी, अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, खोप्रा, खयर, बयली, गुर्जा, पश्चिम धवलागिरि, टोड्के, लभ्लीहिल, मोहरेडाँडा, करबाकेली म्याग्दीका पछिल्लो समय पहिचान गरिएका पर्यटकीय स्थलहरू हुन् ।
प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने अन्नपूर्ण र धवलागिरि चक्रीय पदमार्गमा समेटिए पनि म्याग्दीले पर्यटनबाट अपेक्षाकृत लाभ लिन सकेको छैन ।
‘प्रकृतिले म्याग्दीलाई दिएको उपहारलाई पर्यटकीय स्थलका रूपमा विकास गरेर समुदाय र देशको आर्थिक विकासमा रूपान्तरण गर्नुपर्छ’, धवलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले भने, ‘पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनको आवश्यकता छ ।’
दानाको रूपसे, हिस्तानको महभीर, लुलाङको नर्जा, मुदीको घोप्टेओडार, भुङकोटलगायत दर्जनौं झरना कुनै षोड्शी युवतीले ओढेको सेतो पछ्यौरी हावाले उडाउन लाग्दा सम्हाल्न खोजेजस्तो दृश्य देखिन्छ ।
घारको पुनहिल, राम्चेको मोहरे, शिखको खोप्रा, भगवतीको रुइसे, कुहुँको टोड्के, बिमको मालिका, भकिम्लीको स्वर्गाश्रम, लुलाङको जलजलालगायत दर्जनौं टाकुराबाट बिहानीमा लाली छाउँदै उडाउने सूर्योदय हिमालका चुचुरोमा पर्दा झनै मनमोहक दृश्य देख्न सकिन्छ ।
ताल र गुफा त कति कति !
दानामा रहेको ६ हजार ९६७ मिटर गहिरो अन्धगल्छी म्याग्दीको गहना हो । दरवाङ दुखुको भाले बास्ने, शिखको खयर, हिस्तानको प्यारी, नांगी बाराही, निस्कोट, गुर्जा, गाईखर्क, कालीदह लगायत ठाउँमा दर्जनौं तालतलैया छन् । बेनी नगरपालिका–४ को तातोपानी प्राकृतिक उपचार स्थल र अन्नपूर्ण–२ को भुरुङ तातोपानी पर्यटकीय स्थलका रूपमा परिचित छन् ।
शिख, दोवा, दर्मिजा, मुदी र गुर्जाको तातोपानी कुण्डको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार हुन सकेको छैन । प्राकृतिक संग्रहालयका रूपमा रहेका कल्लेनीको क्यामध्याम, देवीस्थानको देवताभीर, काभ्रेको बाजाढुंगा र गलेश्वरको जडभरत गुफा ओझेलमा छन् ।
बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरमा पछिल्लो समय धार्मिक पर्यटकको आगमन बढे पनि बेनीकै महारानी, वरको रूखमुनि रहेको बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बौद्धगुम्बा, राम्चेको करबाकेली थान, पुलाचौरको जगन्नाथ, पछै, रघुगंगा गाउँपालिकाको रिखार, मालिकाथान लगायत दर्जनौं स्थल भक्तजनको प्रतीक्षामा छन् ।
समुदायको पहलमा भए केही काम
बेनी, तातोपानी, भुरुङ, दाना, घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । टिकोट, कुहुँको पूर्णगाउँ, झीँ, गुर्जामा, खिवाङ, होमस्टे सञ्चालन भएको छ । नांगी, मोहरेडाँडा, फूलबारी, टिकोट, ढाँडखर्क, बयली र खोप्रामा सामुदायिक लज सञ्चालित छ ।
ती सामुदायिक लजको आम्दानी सामुदायिक विद्यालय र स्वास्थ्य संस्था सञ्चालनमा परिचालन गरेर नमूनायोग्य काम भएको छ । मगर, छन्त्याल, थकाली, नेवार समुदायको मौलिक कला र संस्कृति पर्यटन विकासको अर्को आधार हो ।
म्याग्दीका स्थानीय तहले चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधार विकाससम्बन्धी ४२ ओटा योजनालाई रू. तीन करोड ४० लाख विनियोजन गरेका छन् । पर्यटन विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको भनाइ छ ।