ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यावसायिक उडानको मापदण्ड बनाउँदै क्यान

२०७७ सावन, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुलाउने घोषणा गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्यसका लागि आन्तरिक तयारी थालेको छ । क्यानले कोरोना महामारीकै बीच उडानलाई कसरी सञ्चालन गर्न भन्नेबारे सुझाव दिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णको संयोजकत्वमा व्यवसायीहरूसमेत रहेको एक समिति गठन गरेको छ । समितिले आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका लागि आवश्यक प्रक्रिया तथा सम्भावनाबारे अध्ययन गरी १ साताभित्रै प्रतिवेदन पेश गर्ने क्यानले जानकारी दिएको छ ।

बन्दाबन्दीका कारण बन्द व्यावसायिक उडानलाई नियमित गर्न आवश्यक तयारीबारे समितिले १ साताभित्रै क्यानलाई प्रतिवेदन बुझाउने र त्यसैको आधारमा अब हुने उडानहरूबारे निर्णय गरिने क्यानका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । उडानका क्रममा संक्रमण फैलिन नदिन यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रोटोकल बनाइरहेको छ । बन्दाबन्दी खुले पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले तत्काल सबै उडान सम्भव नहुने भएकाले भदौ १ देखि आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फ सीमित उडान हुने प्रवक्ता क्षत्रीले बताए । ‘नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा सबै वायुसेवा प्रदायक कम्पनीहरूले सुरक्षित उडानका लागि आआफ्नै निर्देशिका बनाएका छन् । उडान खुले पनि पहिले जस्तो यात्रुहरू पनि नहुने भएकाले दुवैतर्फ सीमित उडान गरिनेछ । ‘अवस्था हेरी उडान थपघट गर्न सकिनेछ,’ उनले भने । प्रवक्ता क्षत्रीका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पिक सिजनमा आन्तरिक तथा बाह्य गरी ५०० मुभमेन्ट (उडान तथा अवतरण) हुने गथ्र्याे । सामान्य अवस्थामा दैनिक ३७० जति मुभमेन्ट हुने गथ्र्याे ।

शुरूमा यसको करीब ३० देखि ४० प्रतिशतभन्दा माथि उडान हुनसक्ने आकलन गरिएको छ । अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा संख्या तय हुने उनले बताए । तर, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले भने शुरूमै पूर्ण क्षमतामा उडान गर्दा जोखिम हुन सक्ने भएकाले सामान्य अवस्था जस्तो गरी गर्न गाह्रो हुने बताए । ‘यो हाम्रो मात्र सरोकारको विषय होइन । यसमा स्वास्थ्य मन्त्रालय, विभिन्न स्वदेशी तथा विदेशी विमान सेवा कम्पनीहरूदेखि अन्य यात्रुहरूको सरोकारको विषय हो । त्यसैले हतारिएर सबै उडान गरिहालौं भन्ने अवस्था छैन,’ उनले भने । सरकारले दिएको निर्देशन पालना गर्दै सबै उडान भनेकै मितिमा गराउन विमानस्थल पूर्ण तयारी अवस्थामै रहेको उनले बताए । महाप्रबन्धक केसीका अनुसार अन्तरराष्ट्रिय उडानहरूका लागि पनि २५ देखि ३० प्रतिशतभित्रै रहेर सञ्चालन गर्ने गरी सम्पर्क र समन्वय भइरहेको छ । उनले कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका प्रोटोकललाई पूर्ण रूपमा पालना गर्नुपर्ने बताए ।

वायुसेवा कम्पनीहरूले आफूहरू आन्तरिक उडानका लागि पूर्ण तयारीमा रहेकाले भदौ १ सम्म नकुरेर ‘फुल अक्युपेन्सी’मै तत्कालै उडान शुरू गर्न दिन आग्रह गरेका छन् । उडान सम्बन्धमा अध्ययन गर्न बुधवार गठित अध्ययन समितिको बिहीवार बसेको पहिलो बैठकमै उनीहरूले सो माग राखेका हुन् । सरकारले भदौ १ देखि उडान शुरू भने पनि आपूmहरू तयारी अवस्थामै रहेकाले तत्कालै उडान शुरू गर्न आग्रह गरिएको हवाई सेवा सञ्चालक संघ (आवोन)का महासचिव मनोज कार्कीले बताए । ‘अहिले देशैभरि बाढीपहिरोका कारण बाटोघाटो बन्द छ । नियमित उडान शुरू हुँदा उद्धारदेखि अन्य यातायातका लागि सर्वसाधारणले सुविधा पाउन सक्छन्,’ उनले भने, ‘त्यसैले फुल अक्युपेन्सीमै उडान शुरू गर्न सकिन्छ भन्ने धारणा राखेका छौं ।’

क्यानले ५० प्रतिशत अक्युपेन्सीमै उडान गर्न भने पनि त्यसबाट व्यावसायिक उडानको खर्च उठाउन कठिन हुने भएकाले फुल अक्युपेन्सीमै उडान शुरू गर्नुपर्ने आफूहरूको धारणा रहेको उनले बताए । महासचिव कार्कीका अनुसार नेपालका आन्तरिक उडानका गन्तव्यहरू १ घण्टाभन्दा बढी समयका नरहेको र अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डअनुसार पनि नेपाल त्यो हिसाबले कम जोखिममा रहेकाले फुल अक्युपेन्सीमै उडान गर्दा फरक पर्दैन । भदौ १ को मिति अगाडि सार्ने विषयमा क्यानले पर्यटन मन्त्रीसँग छलफल गर्ने कुरा भएको आवोनका महासचिव कार्कीको बताए । सरकारले साउन ६ गते मंगलवार मध्यरातिदेखि बन्दाबन्दा अन्त्य भएको घोषणा गर्दै पर्यटन क्षेत्रअन्तर्गत होटेल, रेस्टुराँहरू साउन १५ गतेदेखि र आन्तरिक तथा अन्तरराष्ट्रिय उडान भदौ १ गतेदेखि शुरू गर्ने निर्णय गरेको थियो । उडानका लागि क्यान र वायुसेवा कम्पनीहरूले आईकाओको मापदण्डभित्र रहेर पहिले नै आआफ्नो कार्यविधि तय गरिसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Anita

[Jul 23, 2020 10:11pm]

Bhadra 1 bata udan starts garne vanx tyo ni sure xain,kasto khal ko sarkar hamro,hami ta mar ma parne vayou,vhadaini pani pregnant xa tatkaal flight vayen vaye sayad travel garna mildain hola hamro ta haribjog hola jasto xa uhuhuhu



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)