ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमेन्ट उत्पादनमा नीतिगत विरोधाभास

गुणस्तर मिलाउन क्लिंकर आयात गर्दै उद्योगी

२०७७ सावन, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले एकातिर सिमेन्टमा आत्मनिर्भर हुने नीति लिएको छ भने अर्कातिर सरकारी नीतिकै कारण उद्योगी क्लिंकर आयात गर्न बाध्य भएको पाइएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसीमा) म्याग्नेसियम अक्साइड (एमजीओ)को मात्रा ५ प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड बनाएको छ । तर, स्वदेशी क्लिंकरमा यसको मात्र ६ प्रतिशतभन्दा बढी हुँदा गुणस्तरको मापदण्ड मिलाउनकै लागि भारतबाट क्लिंकर आयात गर्नुपरेको उद्योगीहरूले बताएका छन् ।

कतिपय स्वदेशी क्लिंकर उद्योगले कम एमजीओ भएका खानीबाट चुनढुंगा किनेर एमजीओको सन्तुलन मिलाइरहेका छन् । अधिकांश ग्रान्डिङमा आधारित उद्योगले क्लिंकर आयात गर्छन् । नेपालको पश्चिमी क्षेत्रको खानीमा एमजीओको मात्रा बढी पाइएको छ ।

पूर्वीक्षेत्रका खानीमा एमजीओ मापदण्डअनुसार नै पाइए पनि पश्चिमका पाल्पा र दाङमा यसको मात्रा बढी भेटिएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । ‘एमजीओ बढी भएका खानीबाट निकालिएको चुनढुंगामा कम एमजीओको चुनढुंगा मिसाएर उत्पादन गर्नु परेको छ । यसले उत्पादनको लागत बढी हुन्छ,’ अध्यक्ष थापाले आर्थिक अभियानसँग भने ।

पाल्पा र दाङका चुनढुंगामा ४ प्रतिशतसम्म एमजीओ रहेको र यसबाट क्लिंकर तयार हुँदा ६ प्रतिशत पुग्ने थापाले बताए । क्लिंकरमै ६ प्रतिशत एमजीओ भएपछि ५ प्रतिशतको मापदण्ड अव्यावहारिक भएको र यसैका कारण क्लिंकरको आयात प्रतिस्थापनको उद्देश्य पूरा हुन नसकेको उद्योगी बताउँछन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले खानीअनुसार एमजीओ फरक पाइएको सुने पनि विभागमा यसबारेमा तथ्यांक नभएको बताए । ‘विभागले सिमेन्टको मापदण्डअनुसार सिमेन्टको गुणस्तर हेर्ने हो । एमजीओ बढी भएको क्लिंकरमा कम मात्राको मिसाएर गुणस्तर कायम गरिरहेका छन्,’ विभागका निर्देशकसमेत रहेका ठाकुरले भने ।

अहिले ६५ ओटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये १८ ओटाले आपैm क्लिंकर उत्पादन गर्छन् । अन्यले स्वदेशी उद्योगबाट क्लिंकर किनेर सिमेन्ट उत्पादन गरिरहेका छन् । सरकारले ४ वर्षअघि नै सिमेन्टमा आत्मनिर्भर हुने योजना राखेकोमा अहिले पनि क्लिंकर आयात रोकिएको छैन ।

भन्सार विभागका अनुसार बितेको आर्थिक वर्ष २०७६/७७ को जेठसम्ममा ४ लाख ६७ हजार ४४० मेट्रिकटन क्लिंकर आयात भएको छ । स्वदेशी उद्योगले अभावको बेला क्लिंकर नदिने र कतिपय क्लिंकर उत्पादकले एमजीओको मिलाउन क्लिंकर आयात गरेको उद्योगीले बताए ।

ग्रान्डिङमा आधारित अधिकांश उद्योगले भारतबाट ल्याएको क्लिंकर मिसाएर उत्पादन गरिरहेका छन् ।

‘सरकार एकातिर सिमेन्टमा आत्मनिर्भर हुने बताइरहेको छ, अर्कातिर मापदण्ड कायम गर्नकै लागि आयात गर्न भनिरहेको छ,’ एक उद्योगीले आार्थिक अभियानसँग भने ।

केही ठूला आयोजनाले अहिले पनि तयारी सिमेन्ट आयात गरिरहेको भन्सारका अधिकारीहरू बताउँछन् । कुल खपतको ५ प्रतिशत जति सिमेन्ट आयात भइरहेको उद्यमीको दाबी छ । अहिले सिमेन्टको वार्षिक खपत ८० देखि ९० लाख मेट्रिकटन भएको अनुमान सिमेन्ट उत्पादक संघको छ ।

सरकारले १ वर्षअघि ओपीसीमा एमजीओ मापदण्ड परिमार्जन गरेर ६ प्रतिशत पुर्‍याउने तयारी गरेकोमा विरोध भएपछि पछि हटेको थियो । भारतमा भारत, चीन र अमेरिकालगायत देशमा एमजीओ ६ देखि ७ प्रतिशतसम्म मान्य भएको भन्दै सिमेन्ट उत्पादकले संशोधनको माग गरेका थिए ।

पीपीसीमा यसको मापदण्ड ६ प्रतिशत छ । एमजीओको मात्रा बढी हुँदा सिमेन्टको शक्ति कमजोर हुने विभागले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)