ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीले पर्खाल बगाएपछि बगरफाँट गाउँ जोखिममा

२०७७ सावन, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई म्याग्दी नदीको कटानबाट जोगाउन म्याग्दी नदीको किनारामा लगाइएको ग्याबिन पर्खाल बाढीले बगाएपछि बगरफाँट गाउँ पुनः जोखिममा परेको छ । बिहीवार राति म्याग्दी नदीमा आएको बाढीले बस्ती संरक्षणका लागि नदी किनारामा लगाइएका ४७० थान जालीमध्ये ३८ थान जाली बाढीले बगाएको छ ।

नदी नियन्त्रणका लागि लगाएको पर्खाल नै बगेपछि नदीको प्रवाह बस्तीतिर सोझिएको र बगरफाँटका खहरेखोला, पुल क्षेत्र, घन्सेघर, पलाँसे लगायत क्षेत्र उच्च जोखिममा परेको म्याग्दी खोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । बाढीले गाउँ जोखिममा पर्नुका साथै ३८ थान जाली बगाउँदा ४ लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको अध्यक्ष कार्कीले जानकारी दिए ।

गत साल रुपाताल संरक्षण एकीकृत विकास परियोजना काँस्कीको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बांगेघरासम्म करीब २ किलोमिटर क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गर्ने योजना अनुसार रातोढुंगादेखि झोलुंगे पुलसम्म ४७० थान ग्याबिन जाली भरेर पर्खाल लगाइएको थियो ।

अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४७० थान जाली भरिएकोमा गतवर्ष पनि बाढीले १०० थानभन्दा बढी जाली बगाएको थियो । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रूपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरूमा सामान्य ग्याबिन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन ।

करीब २०० घरधुरीको बसोवास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैं जोखिममा रहने गरेको स्थानीयले बताएका छन् । अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका वडा नं ६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करीब ५ मिटर क्षेत्रबाट एक्स्क्याभेटरको प्रयोग गरी नदीजन्य वस्तु (ढुंगा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।

नदीले बगरफाँटको करीब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् । नदी कटानका कारण वर्षेनि त्रासमा रहने बगरफाँटवासीलाई तटबन्धले केही राहत मिलेको र गाउँको संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासी जितबहादुर कार्कीले बताए   । बगरफाँट सदरमुकाम बेनीबजारसँगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)