ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्दै लगानी प्रतिबद्धता : गत आवमा पछिल्लो ३ वर्षयताकै कम

२०७७ सावन, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले लगानीको वातावरण सुध्रिएको दाबी गरिरहँदा गत आर्थिक वर्षमा पछिल्लो ३ वर्षयताकै कम लगानी प्रतिबद्धता आएको छ ।

कोरोना महामारीका कारण स्वदेशी तथा विदेशी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहँदा आव २०७६/७७ मा नेपालमा कुल लगानी प्रतिबद्धता ४६ दशमलव १३ प्रतिशतले घटेको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

गत आवमा नेपालमा स्वदेशी र विदेशी पूँजी लगानीमा साना, मझौला र ठूला गरी कुल २७७ उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता भएका छन् । दर्ता भएका यी उद्योग व्यवसायबाट १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

तर, आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आवमा उद्योग दर्ता र लगानी प्रतिबद्धता दुवैमा उल्लेख्य कमी आएको छ । आव २०७५/७६ मा नेपालमा स्वदेशी तथा विदेशी गरी ४३९ ओटा उद्योग विभागका दर्ता भएका थिए । र, यी उद्योगमार्फत २ खर्ब ८३ अर्ब रुपैयाँ लगानी हुने प्रतिबद्धता थियो । लगानी रकम खस्कनुमा कम संख्यामा उद्योग दर्ता हुनु प्रमुख कारण हो । कोरोना महामारीका कारण गत आवको अन्तिम ४/५ महीनामा औद्योगिक वातावरण नराम्ररी बिथोलिन पुग्दा आव २०७६/७७ मा उद्योग दर्ताको संख्या ३६ दशमलव ९ प्रतिशतले घटेको हो ।

समग्र लगानीको प्रतिबद्धतामा कमी आए पनि वैदेशिक लगानी प्रतिबद्धतामा भने गत आवमा सुधार देखिएको छ । गत आवमा विदेशी लगानी प्रतिबद्धता करीब ५१ प्रतिशतले वृद्धि भएको छ । नेपालमा गतवर्ष २२३ कम्पनी/उद्योगले ३८ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने वाचा गरेका छन् । यस्तो लगानीको प्रतिबद्धता अघिल्लो आवमा २५ अर्ब ४७ रुपैयाँ बराबरको थियो ।

विभागका प्रवक्ता विनोद खड्काले कोरोना महामारीका कारण पछिल्लो ३/४ महीनासम्म उद्योग दर्ताको क्रम ठप्प हुँदा उद्योग दर्ता प्रभावित भएको बताए ।

खड्काका अनुसार पुसदेखि नै विदेशी लगानीका उद्योग नेपालमा दर्ता हुने क्रम क्रमशः घट्दै गएको थियो । ‘यसबाहेक अहिले प्रदेश सरकारअन्तर्गत रहेका घरेलु कार्यालयमा उद्योग दर्ता हुने क्रम शुरू भएको र त्यहाँ दर्ता भएका उद्योगको तथ्यांक उद्योग विभागसँग नहुने हुँदा पनि लगानीमा कमी देखिएको हो,’ प्रवक्ता खड्काले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले कोरोनाका कारण गत आवमा लगानीका लागि अन्योल भएको बताए । चैतदेखि असारसम्म अर्थात् १ चौमासिक नै कोरोनाका कारण प्रभावित भएकाले समग्र लगानीको वातावरणमा अनिश्चितता देखिएको उनको भनाइ छ । विभागको तथ्यांकले ऊर्जा, पर्यटन र उत्पादनमूलक क्षेत्र लगानीकर्ताको मुख्य रोजाइमा रहेको देखाउँछ । गत आवमा ऊर्जाक्षेत्रमा सबैभन्दा बढी १०० अर्ब बराबरको लगानी गर्ने गरी ४४ उद्योग दर्ता भएका छन् ।

त्यसपछि सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा आएको छ । यस क्षेत्रमा रू. २० अर्बभन्दा बढी लगानीको प्रतिबद्धतासहित ९१ उद्योग दर्ता भए । कोरोना महामारीपछि कृषि सबैको प्राथमिकतामा परे पनि गत आवमा सबैभन्दा कम लगानी यही क्षेत्रमा आएको छ । उद्योग विभागमा कृषिक्षेत्रका लागि मात्र नौओटा उद्योग दर्ता भए, जसले १ अर्ब १२ करोड लगानी प्रतिबद्धता गरेका छन् । वास्तवमा कृषिमा लगानी आव २०७५/७६ भन्दा पनि कम छ । आव २०७५/७६ मा ४ अर्ब १० करोड बराबरको लगानी कृषिक्षेत्रका लागि प्रस्ताव गरिएको थियो । विभागका अनुसार गत आवमा निर्माण र खनिजजन्य क्षेत्रमा लगानी आएन । नेपालमा विदेशी लगानी भित्र्याउने सवालमा अघिल्ला वर्षमा झैं चीन र भारत नै अगाडि रहे । गत आवमा यी दुई देशसहित कुल १७ देशका लगानीकर्ताले नेपालमा लगानी गर्न १७४ उद्योग दर्ता गराएका छन् । यीमध्ये चीनका लगानीकर्ताले १७७ ओटा उद्योग विभागमा दर्ता गराएका छन्, जसमार्फत २५ अर्ब ५७ करोड रुपैयाँको लगानी भिœयाउने प्रस्ताव उनीहरूको छ । त्यस्तै भारतबाट १६ ओटा उद्योगका लागि ३ अर्ब २४ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)