ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एसआर सिक्स जलविद्युत्को भौगोलिक अध्ययन सम्पन्न

२०७७ सावन, १२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिममा एसआर सिक्स जलविद्युत् आयोजना निर्माणका लागि भौगोलिक अध्ययनको काम सम्पन्न भएको छ । पश्चिम सेतीसँगै निर्माण गरिने भनिएको ६६९ मेगावाट विद्युत् उत्पादन क्षमताको एसआर–६ आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएर ड्रिलिङ लगायतको काम थालिएको हो ।

विद्युत् विकास विभागले अहिले गरिरहेको सम्भाव्यता अध्ययन अनुसार आयोजना २७८ देखि अधिकतम ३०० मेगावाट क्षमतामा मात्र बनाउन सकिने बताएको छ । मानवबस्ती, मुआब्जा, जग्गा अधिग्रहण लगायत कारण आयोजनाको क्षमता झण्डै आधा घटाएर सम्भाव्यता अध्ययनको काम भइरहेको विद्युत् विकास विभागका इन्जिनीयर राजेश श्रेष्ठले बताए ।
लगानी बोर्डले लगानी सम्मेलनका क्रममा तयार पारेको प्रोजेक्ट बैंक सम्बन्धी विवरण अनुसार एसआर–६ जलविद्युत् आयोजना २ दशकअघि जापान सहयोग नियोग (जाइका)ले सामान्य अध्ययन गरेको थियो । जाइकाले सन् १९९३ मा यो आयोजना पहिचानसहित अध्ययन गरेको थियो ।

जाइकाको अध्ययन अनुसार यो आयोजनाबाट ६०३ देखि ६६९ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने उल्लेख थियो । उक्त आयोजना निर्माण गर्दा अछाम र डोटी जिल्लाका विभिन्न बस्ती डुबानमा पर्ने भन्दै क्षमता घटाएर अध्ययन गरिएको विभागको भनाइ छ । यो आयोजनाका लागि ६६८ मिटर अग्लो पर्खाल बनाएर जलाशय निर्माण गर्न सकिने जाइकाले तयार पारेको अध्ययनले देखाएको थियो । ‘अहिले १२० मिटर घटाएर आयोजनाको पर्खाल बनाउन अध्ययन भइरहेको छ,’ इञ्जिनीयर श्रेष्ठले भने, ‘अग्लो पर्खाल बनाउँदा अछामको साँफेबगर लगायत मानवबस्ती डुबानमा पर्ने देखियो ।’

पूर्व सम्भाव्यता अध्ययन गरेर गत असोजभित्रै प्रतिवेदन बुझाउन भने पनि विभागले समयमा काम नसकेपछि थप ७ महीना समय थपिएको थियो । एसआर–६ कर्णाली चिसापानीभन्दा माथि र पश्चिमसेती जलविद्युत् परियोजनाभन्दा तल पर्ने जलाशययुक्त आयोजना हो । आयोजना निर्माण गर्ने भनिएको स्थलसम्म सडक पूर्वाधार बनेको छैन । उक्त आयोजनाको विद्युत्गृहबाट राष्ट्रिय प्रसारणलाइन ३० किलोमिटर टाढा छ । सार्वजनिक–निजी साझेदारीमा बनाउने भनिएको आयोजनामा जग्गा अधिग्रहण, मुआब्जा वितरण तथा आयोजनाको सुरक्षा सरकारले गर्ने तथा निजीक्षेत्रले आयोजनाको योजना, अध्ययन, लगानी, निर्माण र सञ्चालनको जिम्मा लिनुपर्ने उल्लेख छ ।

सन् १९९३ मा जाइकाले गरेको अध्ययन अनुसार आयोजनाको १ खर्ब ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । ७५० मेगावाट विद्युत् उत्पादन क्षमताको पश्चिमसेतीलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको भए पनि अहिलेसम्म कुनै काम नभएकाले लागत मात्रै बढ्दै गएको भन्दै पश्चिमसेती तथा एसआर सिक्स संयुक्त जलविद्युत् (१२०० मेवा) अघि बढाउनुपर्ने माग यहाँको निजीक्षेत्रले गर्दै आएको छ । साढे ४ खर्ब लगानी अनुमान गरिएका माथिल्लो चमेलिया जलविद्युत् (४० मेगावाट), पश्चिमसेती जलविद्युत् (७५० मेगावाट), पश्चिमसेती तथा एसआर सिक्स संयुक्त जलविद्युत्, धनगढी क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी तथा सुदूरपश्चिम परिवहन परियोजना अन्तरराष्ट्रिय लगानीका लागि यसअघि संघीय सरकारले काठमाडौंमा आयोजना गरेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत गरिएका योजनाहरू हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)