ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१८ दिनदेखि ठप्प बेनी–जोमसोम सडक खुलाउन १ महीना लाग्ने

महीनौंदेखि बाटैमा अलपत्र सर्वसाधारणका लागि चार्टर उडानको तयारी

२०७७ सावन, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । गत असार ४ र ५ गतेको भीषण वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्ड १८ दिनदेखि ठप्प छ । तर, यो सडक खुल्न अझै १ महीना लाग्ने सम्बन्धित अधिकारीहरू बताउँछन् ।

बाढीपहिरोका कारण १८ दिनदेखि म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन स्थानीय प्रविधि र जनशक्तिले सम्भव नहुने हुँदा संघीय सरकारसँग पहल भइरहेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन बताउँछन् ।

कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडकखण्ड) का आयोजना प्रमुख अशोक तिवारीका अनुसार म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्म १ दर्जन भन्दा बढी ठूला पहिरोका कारण सडक बिग्रिएको छ । उनका अनुसार अवरुद्ध सडक मर्मतको काम तत्काल शुरू गरिए करीब एक महीना समय लाग्छ ।

पेट्रोलियम पदार्थको अभाव
सडकमा पहिरो र नदी कटानका कारण यातायातका साधनहरू सञ्चालन हुन नसकेपछि मुस्ताङमा सञ्चालित विकास निर्माणका कामहरू पनि प्रभावित भएका छन् ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डमा आधा दर्जन बढी पुलहरू निर्माणाधीन छन् । पेट्रोलियम पदार्थको ढुवानी हुन नसकेपछि कालीगण्डकी कोरिडोर आयोजना त प्रभावित भएको छ नै यहाँ सञ्चालित अन्य पुल निर्माणलगायत काम पनि प्रभावित भएका छन् ।

जनजीवन प्रभावित
लामो समयसम्म यातायात ठप्प भएपछि मुस्ताङको जनजीवन प्रभावित बनेको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण विगत ४ महीनादेखि ठप्प मुस्ताङको पर्यटन व्यवसाय लकडाउन खुलेसँगै केही राहत हुने आशा गरिएको थियो । तर, पहिरो र नदी कटानका कारण यातायात नै ठप्प भएपछि यहाँको जनजीवन पनि प्रभावित बनेको जोमसोमका शिव भट्टचनले बताए ।

बाटैमा रोकिए सर्वसाधारण
पहिरोका कारण सडकमा आवतजावत रोकिएपछि लामो समयसम्मको बन्दाबन्दीका कारण पोखरामा रोकिएका मुस्ताङका सर्वसाधारण पोखरामा र मुस्ताङबाट पोखरा आउनु पर्ने सर्वसाधारण पनि मुस्ताङमा नै रोकिन बाध्य छन् ।

कहिले लकडाउन खुल्ला र थातथलोमा फर्कौंला भनेर दिन गनेर बसेकाहरूलाई बेनी–जोमसोम सडकखण्डमा आएको पहिरो फेरि बाधक बनेको छ । पोखरा जोमसोम हवाई उडानसमेत सञ्चालनमा आइनसकेको अवस्थामा पोखरामा अलपत्र परेका सर्वसाधारणलाई लक्षित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको पहलमा चार्टर्ड उडानको तयारी गरिएको छ ।

विद्युत् आपूर्ति पनि बन्द
पहिरोका कारण ठाउँ ठाउँमा बिजुलीका खम्बा ढलेपछि विद्युत्सेवा अवरुद्ध भएको छ । मुस्ताङका बासिन्दा १८ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत्सेवा अवरुद्ध भएपछि सामान्यदेखि सरकारी क्षेत्रका कामकाजहरू समेत प्रभावित भएको स्थानीय विष्णु शेरचनले जानकारी दिइन् ।

ठाउँठाउँमा गएको पहिरो पन्छाएर विद्युत्को पोल गाडी बिजुली सञ्चालन गर्न धेरै समय लाग्ने भएकाले १३.६ मेगावाट क्षमताको थापा खोला जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)