ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीपहिरोको प्रभाव : सडक र पुलमा रू. २ अर्बभन्दा बढीको क्षति

२०७७ सावन, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । यस वर्षको मनसुन शुरू भएयताका १८ दिनमा विभिन्न समयमा आएको बाढी तथा पहिरोका कारण मुलुकका सडक र पुल संरचनामा क्षति पुग्दा रू. २ अर्बभन्दा बढीको क्षति भएको छ । सडक विभागको प्रारम्भिक अध्ययनअनुसार असार २५ गतेदेखि राष्ट्रिय राजमार्गका साथै अन्य सडक र विभिन्न पुल संरचना भत्किँदा तथा बाढीले बगाउँदा वर्षायामकै शुरूमा रू. २ अर्बभन्दा बढी क्षति भएको हो ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले प्रारम्भिक आकलन भएकाले यो क्षतिको परिमाण थप बढ्न सक्ने जानकारी दिए । कमजोर भौगोलिक संरचना र पुराना भएका सडक तथा पुलहरू पुनःस्थापनामा ढिलाइ हुँदा बाढी तथा पहिरोका कारण सडक र पुलहरूमा क्षति हुने क्रम बढेको छ । साथै, मुख्य राजमार्गहरू नदी किनारासँगै जोडिएका र भीर तथा पहाडमा भएका कारण बाढीपहिरोको चपेटामा पर्ने गरेका छन् ।

बाढीपहिरोबाट सबैभन्दा बढी क्षति अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी खण्ड, महाकाली राजमार्गको बैतडी खण्ड, डुम्रे–बेंशीशहर–चामे सडक, बेनी–जोमसोम–केरोलालगायत सडकमा बढी क्षति भएको उनको भनाइ छ । ‘वर्षात् अझै कायमै रहेकाले क्षति बढ्ने देखिन्छ,’ सापकोटाले भने, ‘अहिले पहिरो गएका स्थानमा छिटोभन्दा छिटो सडक खुलाउन सबै डिभिजन कार्यालयले मेशिनहरू तम्तयारीमा राखेका छन् ।’

उनले बाढीले कटान गरेका सडक, वासआउट भएका र भत्किएका पुलहरू पूर्णरूपमा मर्मत गर्न समय लाग्ने बताए । राष्ट्रिय सडक सञ्जाललाई जोड्ने राजमार्ग तथा रणनीतिक सडकहरू तलपट्टी नदी र माथितिर ठूला पहाडको बीचबाट गुज्रिनुपर्ने अवस्थाका छन् । नदीको बहाव बढेर बाढी आउँदा नदीले सडक कटान गर्ने र कमजोर भौगोलिक अवस्था भएको पहाडबाट पहिरो आउँदा सडकमा क्षति पुग्ने र यातायात अवरुद्ध हुने प्रक्रिया वार्षिक रूपमा दोहोरिँदै आएको छ ।

वार्षिक रूपमा दोहोरिने यी समस्या समाधानका लागि दीर्घकालीनभन्दा पनि तत्कालीन समाधान मात्रै गर्ने गरिएको पूर्वाधारविद्हरू बताउँछन् । पहिरोले अवरुद्ध भएका सडकहरूमा मेशिन उपकरण राखेर पहिरो हटाउने र यातायात एकतर्फी मात्रै भए पनि सञ्चालन गर्ने विकल्प मात्रै सरकारसँग रहेको उनीहरूको भनाइ छ । बाढीले कटान गर्ने र पुलहरू बगाउने समस्या समाधानका लागि दीर्घकालीन उपाय अपनाउन नसकिएको पूर्वभौतिक पूर्वाधार सचिव तुलसीप्रसाद सिटौलाले बताए ।

भौगोलिक अवस्था, नदीकिनारासँग सडक जोडिएका र पहिरोका कारण राजमार्गमा क्षति हुने गरेको छ । तर, त्यसलाई न्यूनीकरण गर्न सकिने आधार भए पनि ठूलो लगानी आवश्यक पर्ने हुँदा तत्काल पहिरो पन्छाएर काम चलाउने मात्रै विकल्प सरकारसँग रहेको उनको भनाइ छ । गतवर्षदेखि विभागले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो रोक्ने प्रविधि प्रयोग गर्दै आएको भए पनि पर्याप्त नहुने देखिन्छ । सिटौलाले पहिरो रोक्न र बाढी कटानले सडकमा हुने क्षति कम गर्न लगानी अधिक लाग्ने भएकाले स्रोत जुटाउनै मुश्किल हुने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)