ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशत सम्पन्न

२०७७ सावन, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

साउन १३, कास्की । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनले प्रभावित भएको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्यले पुनः गति लिन थालेको छ । 

चीनमा रहेका निर्माण उपकरण र कामदार नेपाल आउन रोकिएपछि केही सुस्त भएको निर्माण कार्य लकडाउन खुलेसँगै द्रुत गतिमा अगाडि बढेको छ । 

लकडाउन खुलेपछि चीनमा रोकिएका केही उपकरण र आवश्यक प्राविधिकहरू छिट्टै आउने भएपछि विमानस्थल निर्माणको कामले तीव्रता पाएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ ।

हाल विमानस्थल निर्माण कार्यमा २७० चिनियाँ र १०० नेपालीसहित जम्मा ३७० जना कामदार कार्यरत छन् । सन् २०२१ को जुलाईसम्म सक्ने लक्ष्यका साथ अगाडि बढेको विमानस्थल निर्माणको काम ६२ प्रतिशत सकिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल परियोजनाका प्रमुख विनेश मुनकर्मीले बताए । 

उनले कोरोना महामारीका बेला समेत सुरक्षात्मक उपाय अपनाएर विमानस्थल निर्माणको कामलाई निरन्तर अगाडि बढाइएको बताए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलको हालसम्म इरिगेसन केनल, धावनमार्ग, एप्रोन, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, ह्याङ्गर, राजमार्ग, टर्मिनल भवनसम्मको पहुँच मार्गलगायतको काम सकिएको प्रमुख मुनकर्मीले बताए ।

त्यसैगरी, विमानस्थलमा रहेको खाली भाग सम्याउने कार्य ९८ प्रतिशत सकिएको, १४ ओटा भवनको संरचनाको काम सकिएको र अन्य संरचनाको काम धमाधम भइरहेको उनले बताए । मुनकर्मीका अनुसार विमानस्थलमा केही भवनहरूको फिनिसिङको काम चलिरहेको छ । 

‘कामदारहरू चाड मनाउन चीन गएको बेला चीनको वुहान शहरमा संक्रमण देखिएपछि लकडाउन घोषणा भएपछि तत्काल नेपाल फर्किन पाएनन्,’ उनले भने, ‘चीनमा लकडाउन खुलेपछि मार्च महीनामा १०७ जना कामदारलाई ल्याएर निर्माणको कामलाई अगाडि बढाइयो ।’

प्रमुख मुनकर्मीले कोरोना भाइरस संक्रमणका कारण लकडाउन घोषणा भएपछि निर्माणका लागि आवश्यक सामग्री ल्याउन नपाएका कारण विमानस्थल निर्माणमा केही ढिलो हुन गएको बताए ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल परियोजनाका वरिष्ठ इन्जिनियर कृष्णप्रसाद पौडेललले विमानस्थलको मुख्य कामका रूपमा रहेको रनवे १ वर्ष पहिले सकिएपछि अन्य भौतिक संरचना निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको बताए । 

उनले २ हजार ५०० मिटर लम्बाइको रनवे नेपालकै नयाँ र नमूना भएको बताए । ‘अन्यत्र निर्माण गरिएका विमानस्थलको रनवे पिच गर्ने गरिएको छ,’ उनले भने, ‘तर, यहाँ पहिलो पटक रनवे ढलान गरिएको छ । ढलान गर्नाले यसको टिकाउ अवधि बढी हुन्छ ।’

सरकारले विमानस्थल उद्घाटन गरेदेखि नै तोकिएको अवधिभन्दा ६ महीनाअगाडि नै तयार गर्न निर्माण कम्पनीलाई आग्रह गर्दे आएको छ । सरकारले गरेको आग्रह अनुसार निर्माण कार्य अगाडि बढाइएको भए पनि पछिल्लो समयमा देखिएको कोराना संक्रमणको असरले समस्या भएको इन्जिनियर पौडेलले बताए ।

‘सरकारकै अपेक्षाअनुसार निर्माण सम्पन्न गर्ने गरी परियोजनाको कार्य अगाडि बढेको थियो,’ उनले भने ‘अकस्मात आइलागेको कोरोना संकटका कारण केही समस्या भएको छ । तर पनि तोकिएकै समयमा काम सक्ने गरी निर्माणको काम अगाडि बढेको छ ।’

विमानस्थल निर्माणमा पहिले दैनिक ४५० जना कामदार खटिएका भएपनि अहिले भने ३७० जनाले मात्र काम गरिरहेका छन् । सन् २०२१ को जुलाईभित्र विमानस्थल निर्माणको काम सक्ने गरी सरकारले र चिनियाँ निर्माण कम्पनीबीच सम्झौता भएको छ ।

विमानस्थल निर्माणको काम चिनियाँ निर्माण कम्पनी सीएएमसीले २०७४ साउन १८ देखि थालेको हो । सीएएमसीले २०७१ साल २९ वैशाखमा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ । सम्झौताअनुसार कम्पनीले सन् २०२१ को जुलाई महीनामा नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ ।

चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिना ब्याजको ऋणमा विमानस्थल निर्माण भइरहेको छ ।

झण्डै ३ हजार ७०० रोपनी क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थल अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ । 

विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्बाइ २ हजार ५०० मिटर र रन वेको चौडाइ ४५ मिटर छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)