ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टुंगियो पारिश्रमिकको विवाद : बन्दाबन्दीको पारिश्रमिक दिन रोजगारदाता संगठन सहमत

२०७७ सावन, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण उद्योग प्रतिष्ठानहरू ठप्प हुँदा निकै पेचिलो बनेको पारिश्रमिक विवाद अन्ततः ४ महीनापछि सुल्झिएको छ । मंगलवार रोजगारदाता र मजदूरका छाता संगठनबीच द्विपक्षीय सहमति भएसँगै चैत, वैशाख र जेठ महीनाको पारिश्रमिक समस्या समाधान भएको हो । असारदेखि भने आलोपालो प्रणालीअनुसार काममा लगाउने र उद्योग व्यवसाय पनि खुल्ने क्रम बढेकाले पारिश्रमिक विवाद नहुने देखिएको छ ।

रोजगारदाता र श्रमिकहरूका संगठनबीच भएको सहमतिअनुसार उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीले चैत महीनाको पूरै तलब पाउनेछन् । वैशाखको पारिश्रमिक ५० प्रतिशत भुक्तान गरी फरफारक पार्ने सहमति भएको छ । यसै गरी बन्दाबन्दीका कारण जेठमा पनि काममा आउन नसकेका कर्मचारीलाई उनीहरूले खाइपाई आएको पारिश्रमिकको ५० प्रतिशत भुक्तानी गर्ने सहमति भएको छ । उद्योग प्रतिष्ठानहरूले प्रतिष्ठानस्तरका ट्रेड युनियनसँग छलफल गरी आलोपालोलगायत विषयमा सहमति गर्न सक्ने सम्झौता पनि भएको छ ।
यससँगै अब पर्यटन क्षेत्रका होटेल, रेस्टुराँ र सानादेखि ठूला प्रतिष्ठानहरूमा बन्दाबन्दीका कारण भएको पारिश्रमिक समस्या समाधान भएको छ । होटेल तथा रेस्टुराँहरूले पनि श्रमिकलाई पारिश्रमिक दिने सहमति गरिसकेका छन् ।

द्विपक्षीय सहमति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत गठन भएको कार्यदललाई बुझाउने रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले जानकारी दिए । बन्दाबन्दीका कारण रोजगारी गुमाएका श्रमिकको पारिश्रमिक समस्या समाधान गर्न मन्त्रालयले वैशाखमै कार्यदल गठन गरेको थियो ।

पटकपटक बसेको कार्यदलको बैठकले समेत यो समस्या समाधान गर्न नसकेपछि उसले रोजगारदाता र श्रमिक संगठनलाई सहमति गरेर आउन निर्देशन दिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा रोजगारदाताका प्रतिनिधि संस्थाहरूका तर्फबाट यसमा निरन्तर पहल भएको थियो ।

अहिलेको अवस्थामा लगानी र नयाँ रोजगारी सृजना गर्न सकिने अवस्था नभएको र उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीलाई पनि रोजगारी दिन जरुरी भएको आचार्यले बताए । उनले न्यूनतम रोजगारी दिएर भए पनि श्रम सम्बन्ध सुमधुर राख्न आवश्यक देखिएको भन्दै रोजगारी सुनिश्चित गर्न आलोपालो प्रक्रियाबाट काम गर्ने वातावरण बनाउने निर्णय भएको बताए ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले असारदेखि उद्योगहरू सञ्चालन भएकाले अब पारिश्रमिकको समस्या नहुने विश्वास व्यक्त गरे । उनले अब कुनै प्रतिष्ठानले कर्मचारी तथा श्रमिकलाई निकाल्न नमिल्ने तर उद्योग प्रतिष्ठानमा काम कम भएमा साबिकको समयलाई घटाएर भए पनि काममा लगाउने सहमति बनेको बताए ।

द्विपक्षीय सहमतिमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघलगायत रोजगारदाताका संस्था र टे«ड युनियन समन्वय केन्द्रसँग आबद्ध ट्रेड युनियन महासंघका अधिकारीहरूले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार बन्दाबन्दी अन्त्य भई उद्योग व्यवसाय सञ्चालन हुन थालेकोमा काममा आउने श्रमिकलाई पारिश्रमिक भुक्तानी गरिनेछ ।

तर, आंशिक रूपमा उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने र केही श्रमिकलाई मात्र काममा लगाउनुपर्ने भएमा पनि सबै श्रमिक कर्मचारीहरूको रोजगारी सुनिश्चित गरिनेछ । उद्योग प्रतिष्ठानले श्रमिकको संख्या यकिन गरेर सिप्mट तोकी आलोपालो काममा लगाउन सक्नेछन् । सबै श्रमिकलाई समानुपातिक ढंगबाट काममा लगाई काम गरेको अनुपातमा पारिश्रमिक भुक्तानी गर्ने पनि सहमति भएको छ ।

उद्योग प्रतिष्ठानमा काम गर्न आउने समस्यामा परेका श्रमिक तथा कर्मचारीलाई कार्यरत उद्योग प्रतिष्ठान रहेको जिल्ला÷नगरसम्म आउने वातावरण सरकार र प्रतिष्ठान व्यवस्थापनले मिलाउने पनि सहमति भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)