ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यात्रु नपाउँदा सवारी साधन घटाउने तयारीमा व्यवसायी

२०७७ सावन, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । साउनको पहिलो सातादेखि काठमाडाैं उपत्यकामा सार्वजनिक यातायात चलाएका निजी यातायात कम्पनीहरूले अपेक्षा गरेअनुरूप यात्रु नपाउँदा सञ्चालनमा ल्याइएका सवारीसाधनको संख्या घटाउने तयारी गरेका छन् ।

कोरोना जोखिमका कारण सीट क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाइने सरकारले निर्णय गरे पनि सञ्चालनमा आएका सार्वजनिक यातायातले आधा मात्र पनि यात्रु नपाएको यातायात व्यवसायीहरू बताउँछन् ।

काठमाडौंमा विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिले हाल उपत्यकामा चारओटा बस सञ्चालन गरिरहेको छ । साबिकको भन्दा ५० प्रतिशत बढी भाडा लिने व्यवस्था सरकारले गरे पनि सुन्दरले पुरानै भाडामा सेवा दिइरहेको छ । ‘पुरानै भाडामा सेवा दिए पनि यात्रु छैनन्, कतिपय बेला त सडकमा बस रित्तै कुद््छन्,’ सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने । अवस्था यस्तै रहे दुईओटासम्म मात्र बस चलाउने तयारी कम्पनीको छ ।

त्यस्तै, शुरूमा दुईओटा बसबाट यातायात सञ्चालन शुरू गरेको दिगो यातायात प्रालिले हाल नौओटा बस सञ्चालनमा ल्याएको छ । तर, यात्रु नै नपाएपछि बस संख्या घटाउने मनसाय कम्पनीको छ । दिगो यातायातका सचिव लालप्रसाद गुरागाईं यात्रुको संख्यामा सुधार नआए आइतवारबाट चारओटा बस मात्रै सञ्चालनमा ल्याइने बताउँछन् । कम्पनीले साउन तेस्रो सातादेखि आफ्ना सबै १७ बस नै सञ्चालन गर्ने तयारी गरेको थियो ।

कुल ३९ बस रहेको महानगर यातायातले हाल १० ओटा मात्र सञ्चालनमा ल्याएको छ । ‘इन्धन र स्टाफ खर्चसमेत नउठ्ने अवस्थाका कारण तत्काल थप बस सञ्चालनमा ल्याउने योजना हाम्रो छैन,’ महानगरका कार्यकारी प्रमुख केशव नेपालले बताए ।

साउन १ गतेदेखि २६ ओटा बसमार्फत सेवा पुनः शुरू गरेको सरकारी स्वामित्वको साझा यातायातले साउन महीनाभित्रै आफ्ना सबै ७१ बस नै सञ्चालनमा ल्याउने तयारी गरेको थियो । तर, हाल सञ्चालनमै आएका बस पनि रित्तै चल्न थालेपछि साझाले तत्काल थप बस सञ्चालनमा नल्याउने निर्णय गरेको छ । ‘बस सञ्चालन खर्च पनि उठ्दैन तर सरकारको निर्णयपछि यातायात सेवाका लागि भनेर हामीले बस सञ्चालन गरिरहेका छौं,’ साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले भने ।

यातायात अभियन्ता भीमज्वाला राई अन्तर–जिल्ला यातायात सेवा नचलेसम्म सार्वजनिक यातायातमा यात्रुको चहलपहल नबढ्ने बताउँछन् । अहिले जिल्लाभित्र मात्रै यातायात सञ्चालन गर्न दिइएको छ तर यसले यातायात व्यवसायमा कुनै प्रभाव नपारेको उनले बताए । ‘सुरक्षित रूपमा अन्तरजिल्लामा पनि यातायात सञ्चालन गर्न दिनुपर्छ,’ उनले भने ।

अन्तरजिल्ला यातायात नचलेसम्म चहलपहल नबाक्लिने भएकाले अहिले गाडी चलाउनु र नचलाउनुमा कुनै अन्तर नभएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘सरकारले जिल्लाभित्र मात्रै यातायात सञ्चालन गर्न दिइनु गलत हो जबकि विभिन्न जिल्लाबाट सीमामा आएर मान्छेहरू काठमाडौं छिरिरहेका छन्, तर सरकार मान्छे छिर्न दिएर बस सञ्चालन भने रोकेर बसेको छ,’ उनले भने । ‘४÷५ जना यात्रु बोकेर गाडी हिँडिरहेका छन्, कतिपय गाडी त रित्तै गुडेका पनि देखिए ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)