ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन आयात ५ वर्षयताकै न्यून

२०७७ सावन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोराना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी र अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढ्दा गत आर्थिक वर्ष २०७६/७७ मा यसको आयातमा अत्यधिक मात्रामा घटेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा पछिल्लो ५ वर्षयताकै सुन आयातमा कमी भएको छ । गत आवमा रू. १३ अर्ब ४६ करोड ४ लाख बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आवको भन्दा ६१ दशमलव ११ प्रतिशतले कमी हो । यो पछिल्लो ५ वर्षयताकै कम आयात हो । अघिल्लो आव २०७५/७६ मा ३४ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भएको थियो ।

आव २०७२/७३ मा १६ अर्ब ७ करोड रुपैयाँको सुन आयात भएको थियो । त्यसपछिका आर्थिक वर्षमा सुनको आयात बढ्दै गएको थियो । तर, मूल्य बढ्दा र बन्दाबन्दीका कारण गत आवमा भने आव २०७२/७३ को भन्दा पनि कम सुन आयात भएको छ ।

सामान्य अवस्थामा नेपालमा वार्षिक ३० अर्बभन्दा बढीको सुन आयात हुन थालेको थियो । तर, यसपटक सुन आयातमा निकै कमी आएको छ ।

परिमाणका आधारमा गत आवमा सुनको आयात ६८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ७ हजार ४९२ केजी सुन आयात भएकोमा गत आवमा १ हजार ४०० केजी सुन आयात भएको छ ।

नेपालमा बन्दाबन्दी भएपछि अर्थात् चैतयता त सुनको आयात नै गरिएको छैन । नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले चैतदेखि यता सुनको आयात नगरिएको बताए । हाल बैंकहरूसँग फागुन अघि नै आयात गरिएको ३३० केजी सुन स्टकमा छ । त्यसमार्फत नै बजारको माग व्यवस्थापन गर्ने गरिएको उनको भनाइ छ ।

‘मूल्य बढ्दा सुनको कारोबार नभएपछि व्यवसायीले सुन किन्ने गरेका छैनन् ।

दिनमा मुश्किलले १ केजी सुन मात्र उठ्ने गरेको छ,’ उनले भने, ‘त्यसकारण बाँकी सुन विक्री नभएसम्म सुन थप आयात गर्दैनौं ।’

सुनको मूल्य नयाँ उचाइमा
२०७६ असारमा सुनको मूल्य प्रतितोला ६० हजारको हारहारीमा थियो । तर, अहिले यसको मूल्य १ लाख रुपैयाँनजीक पुगेको छ । सुनको मूल्य आकाशिँदै जाँदा घरेलु बजारमा सुनको कारोबारमा अत्यन्त कमी आएको हो । व्यवसायीहरूले नै बैंकहरूलाई सुन आयात नगर्न सुझाएका थिए । फलस्वरूप सुनको आयातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘मूल्य बढेपछि गत आर्थिक वर्षभरि नै सुनको कारोबार प्रभावित भयो । यसले गत आवमा सुनको आयात राम्रो भएन,’ उनले भने, ‘त्यसमाथि गत चैतदेखि कोरोना भाइरस नियन्त्रण गर्न बन्दाबन्दी लगाइयो । त्यसले व्यवसायसँगै सुन आयातमा थप असर गर्‍यो ।’

चालू आवमा सुन आयातमा अझै कमी आउने बताइएको छ । सरकारले नै सुन आयातको दैनिक कोटा घटाएर १० केजीमा झारेको छ । कोरोना भाइरसले यो उब्जाएको अवस्था कहिलेसम्म रहन्छ भन्ने टुंगो छैन । त्यसैले चालू आवमा पनि सुन आयात घट्ने महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् ।

‘बन्दाबन्दीका कारण आम मानिसको क्रयशक्ति नै कमजोर भएको छ । त्यसमाथि सुनको मूल्य नै आकाशिएको छ,’ उनले भने, ‘यस अवस्थामा चालू आवमा पनि सुनको व्यवसाय राम्रो हुने संकेत छैन । यसकारण पनि सुनको आयात अझै घट्न सक्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)