ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऋणको भाका सार्ने प्रस्ताव : जापानबाहेक अन्य दातृ निकायबाट आएन प्रतिबद्धता

भारतबाट अहिलेसम्म आएन सरकारी प्रस्तावमा जवाफ, चीनले थप ब्याज खोज्यो

२०७७ सावन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारीका कारण स्रोतमाथि चाप पर्दा सरकारले दातृ निकायहरूलाई डेट मोराटोरियम (कर्जाको साँवाब्याज तथा किस्ताको भाका सार्ने) सुविधा दिन आग्रह गरे पनि धेरै दाताहरूबाट यसबारेमा आश्वासन मात्र आएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा विभिन्न मुलुकसँग ऋण तिर्ने म्याद थप्न लबिङ गरिए पनि जापानबाहेक अन्य मुलुकबाट यसबारेमा सरकारलाई प्रतिबद्धता नआएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयका अनुसार जापानले विनाशर्त भाका सार्ने प्रस्तावमा सहमति दिएको छ भने अन्यले हालसम्म आश्वासन मात्रै दिएका छन् ।

२०७७ को वैशाखदेखि पुससम्ममा सरकारले दातृ निकायलाई तिर्नुपर्ने कुल ऋण करीब २३ अर्ब रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

भारतलाई मात्रै सरकारले यस अवधिमा १ अर्ब ८८ करोड साँबाब्याज तिर्नुपर्ने छ भने चीनलाई ५५ करोड, साउदी अरबलाई १६ करोड तिर्नुपर्नेछ । त्यस्तै, दुई ठूला दाता एशियाली विकास बैंक तथा विश्व बैंकलाई सरकारले यस अवधिमा क्रमशः १० अर्ब ८३ करोड तथा ६ अर्ब ९७ करोड साँवाब्याज भुक्तानी गर्नुपर्ने दायित्व हुन्छ ।

अर्थ मन्त्रालयका अनुसार जापानले कम्तीमा ३ वर्षका लागि विनाशर्त म्याद सार्ने प्रस्तावमा सरकारलाई सहमति दिइसकेको छ । ‘जापानबाहेक अरू कुनै पनि दातृ निकायले कुनै सहुलियत दिएनन्,’ अर्थका एक उच्च अधिकारीले भने ।

जापानले सहमति दिएसँगै यस अवधिमा ७८ करोड ऋणको साँवाब्याज भुक्तानीबाट सरकार जोगिएको छ । भारतसँग भाका सार्न सरकारले प्रस्ताव गरे पनि त्यहाँबाट कुनै जवाफ हालसम्म नआएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । ‘भारतले म्याद थपमा सहमति दिनेमा आशा थियो तर उसले हालसम्म जवापैm फर्काएको छैन,’ मन्त्रालयका एक अधिकारीले भने ।

चीनसँग अर्थ मन्त्रालयले राखेको यस्तै प्रस्तावमा चिनियाँ पक्षले शर्त नै शर्त राखेको अर्थका अधिकारीहरूले बताए । मन्त्रालयका अनुसार चीनले ४ वर्षका लागि म्याद थप्न चासो देखाए पनि त्यस अवधिभरको ब्याज पनि तिर्नैपर्ने शर्त राख्दा कुरा मिल्न सकेको छैन । अन्य मुलुकको तुलनामा चीनसँग लिएको ऋणको ब्याजदर महँगो रहेकाले सरकार चीनको शर्त मान्न नसक्ने अवस्थामा रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

पछिल्लोपटक अर्थमन्त्री डा. युवराज खतिवडाले साउन ८ मा विश्व बैंकसहित दातृ निकायहरूलाई कर्जाको साँवाब्याज तथा किस्ताको भाका सार्ने सुविधा दिन आग्रह गरेका थिए ।

विश्व बैंकले प्रकाशन गरेको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिकीकरण कार्यक्रममा मन्त्री खतिवडाले दातृनिकायबाट कर्जाको साँवाब्याज तिर्ने भाका सारिदिए त्यसबाट सृजना हुने स्रोत तीव्र पुनरुत्थानमा खर्च गर्न सहयोग हुने बताएका थिए । ‘आज मैले भन्नैपर्ने हुन्छ कि दातृ निकायबाट डेट मोराटोरियम सुविधा पाइयोस् ताकि हामीले पूर्वनिर्धारित तालिकाअनुसार साँवाब्याज तिर्नु नपरोस् र यसबाट सृजित स्रोत संकटबाट तीव्र पुनरुत्थानमा खर्च गर्न सकौं,’ खतिवडाले भनेका थिए ।  सरकारी खर्च तथा भुक्तानीको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार बन्दाबन्दीको अवधिमा समेत सरकारले विदेशी ऋणको साँवाब्याज भुक्तानी दातासँग गरिएको सम्झौता कार्यतालिका अनुसार गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)