काठमाडौं । श्रीराम सुगर मिल्स बन्द हुने सूचना सार्वजनिक भएसँगै श्रीराम सुगर मिल्सका शेयरधनीहरू आफ्नो लगानी गुम्ने चिन्तामा छन् । यो उद्योग साउन १३ गतेदेखि स्थायी रूपमा बन्द भएको घोषणासँगै शेयर कारोबारसमेत बन्द भएको छ ।
साउन १२ गते सोमवारसम्म कम्पनीको शेयर कारोबार भएको थियो । उक्त दिन ७७० कित्ता शेयर किनबेच भएको थियो । रू. १ सयको शेयर सोमवार प्रतिकित्ता रू. ३३८ मा कारोबार भएको थियो । दोस्रो बजार वा प्राथमिक शेयर किनेका लगानीकर्ताको रकम फिर्ता हुने सम्भावना कम देखिन्छ ।
१९ वर्षअघि शेयर जारी गरेको कम्पनीले एकपटक मात्र ७/ ८ प्रतिशत मात्र लाभांश दिएको शेयरधनी डमरुवल्लभ घिमिरे बताउँछन् । सर्वसाधारणलाई शेयर जारी गरेका ६७ ओटा कम्पनीहरूले बन्द भएपछि शेयरमा गरेको लगानी फिर्ता नदिएको घिमिरेको भनाइ छ ।
धितोपत्र दोस्रो बजारमा सूचीकृत भएका र नभई लगानी डुबाएका यसअघिको ६७ कम्पनीबाट हालसम्म लगानी फिर्ता नभएकाले यस कम्पनीको पनि पाउनेमा आफू ढुक्क नभएको उनी बताउँछन् । कम्पनीले आफ्नो चलअचल सम्पत्ति विक्री गरेर श्रमिक, कर्मचारी, कृषक, बैंक कर्जालगायतको बाँकीबक्यौता भुक्तानी गर्दागर्दै शेयरधनीको भागमा केही पनि नआइपुग्ने उनको भनाइ छ । डुबेका कम्पनीहरू चलाउने सञ्चालकहरूको प्राइभेट कम्पनी नाफामा हुने तर पब्लिक कम्पनी घाटामा गएको भन्दै बन्द गर्ने गरेको घिमिरेको आरोप छ ।
सरकारी तथा निजीक्षेत्रद्वारा सञ्चालित तीन दर्जनभन्दा बढी कम्पनीे शेयरबजारबाट बेपत्ता भएका छन् । नेकोन एयर, गोरखकाली रबर उद्योग, क्रिस्टल फाइनान्स, बाँसबारी छाला जुत्ता कम्पनी, नेपाल ब्याट्रीजस्ता थुप्रै कम्पनी बन्द भए तर कुनैले पनि लगानीकर्तालाई शेयर रकम फिर्ता गरेका छैनन् ।
शेयर रकम फिर्ता पाउने आशामा कैयौंले शेयर प्रमाणपत्र अझै सुरक्षित राखेका छन् । ‘नेकोन, क्रिस्टल फाइनान्सको शेयर अजै छ तर फिर्ता पाउने केही पनि आशा छैन,’ शेयर लगानीकर्ता रोजकुमार श्रेष्ठ भन्छन् । आफूसँगमात्रै ५/६ ओटा यस्ता कम्पनीको शेयर रहेको र कम्पनी लिक्वीडेशनमा नगएकाले केही मूल्य आउँछ कि भनेर प्रमाणपत्र राखिरहेको उनको भनाइ छ ।
शेयरधनीहरूले दामासाहीसम्बन्धी ऐन २०६३ मा भएको व्यवस्थाका आधारमा लगानी फिर्ता पाउनुपर्ने हुन्छ । कम्पनीको सम्पत्ति एवम् दायित्व मूल्यांकनका लागि लिक्वीडेटरलाई जिम्मेवारी दिने र लिक्वीडेटरको मूल्यांकनका आधारमा चलअचल सम्पत्तिको मूल्यांकन गर्ने व्यवस्था कानूनमा छ । कम्पनीले दायित्व भुक्तानी गर्दा पहिलो प्राथमिकता उद्योगका श्रमिक तथा कर्मचारीलाई दिनुपर्ने व्यवस्था छ ।
त्यसपछि बाँकी रहेको रकम ऋण चुक्ता गर्न र लिक्वीडेटरको पारिश्रमिकमा खर्च हुन्छ । श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकमलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । यी दायित्व फछ्र्योट गरेपछि रकम बाँकी रहेमात्रै लगानीकर्ताले पाउनेछन् ।
तर, मिल्सको सबै सम्पत्ति विक्री गर्दा बाँकीबक्यौता तिर्न पनि पुग्न मुश्किल रहेको बताइन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले अहिले श्रीराम सुगर मिल्सले शेयरधनीहरूको सम्पत्ति फिर्ता गर्न सक्छ वा सक्दैन भन्ने अवस्था नरहेको बताए ।
लिक्वीडेटरले कम्पनी खारेजीको आदेश दिएमा बजार सञ्चालकको अधिकारलाई प्रयोग गरेर फछ्र्योटमा शेयरधनीहरूलाई प्राथमिकतामा राखियो या राखिएन भन्नेमा नेप्सेले ध्यान दिने उनले बताए ।
पूँजीको अभाव भन्दै कम्पनीले गत ४ महीनादेखि उद्योगमा कार्यरत श्रमिकको कर्मचारी सञ्चय कोषबापतको रकम र पारिश्रमिकसमेत भुक्तानी गर्न सकेको छैन । चलअचल सम्पत्ति विक्रीबाट यो रकम चुक्ता गर्ने कम्पनीले बताएको छ । यसका लागि कम्पनी व्यवस्थापन पक्षले नेपाल सरकारसँग आवश्यक अनुमतिका लागि प्रक्रिया शुरू गरिसकेको समेत जानकारी दिएको छ । यस कम्पनीको रू. ३० करोड ४५ लाख ९९ हजार बराबरको ३० लाख ४५ हजार ९९० कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत छ ।