ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ महीनापछि आजदेखि खुल्दै होटेल/रेस्टुराँ

स्वास्थ्य प्रोटोकलको अन्योल कायमै

२०७७ सावन, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले बन्दाबन्दी अन्त्य गरी साउन १५ गतेदेखि होटेल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएसँगै बिहीवार (आज) देखि औपचारिक रूपमा होटेल/रेस्टुराँलगायत पर्यटनसँग सम्बद्ध अन्य कार्यालय खुल्दै छन् ।

नेपालको मुख्य पर्यटकीय सिजनलाई ध्यानमा राख्दै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरू आजबाटै सञ्चालनमा आउने भएका छन् । तर, होटेल व्यवसायीहरू स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकलको अस्पष्टताले अन्योलमा परेको बताउँछन् । खासगरी विदेशबाट आउने पर्यटकका विषयमा स्पष्ट मापदण्ड नहुँदा अन्योल कायमै रहेको उनीहरूको भनाइ छ । विदेशी पर्यटक क्वारेन्टाइनमा बस्ने गरी नेपाल घुम्न नआउने भएकाले पीसीआर टेस्ट गरी आउँदा उनीहरूलाई कसरी व्यवहार गर्ने स्पष्ट नभएको उनीहरूको भनाइ छ । सरकारले होटेल खोल्न अनुमति दिए पनि विदेशबाट आउने पर्यटक क्वारेन्टाइनमा १४ दिन नै बस्नुपर्ने वा नपर्ने अथवा पीसीआर रिपोर्ट नेगेटिभ भए मात्रै पुग्नेलगायत विषयमा अन्योल कायम रहेको होटेल संघ नेपाल (हान)का अध्यक्ष सृजना राणाले बताइन् ।

प्रोटोकलले विमान कम्पनी, होटेल, रेस्टुराँ तथा पर्यटनसँग सम्बद्ध कम्पनीले यो यो गर्ने भने पनि विदेशी पर्यटक नेपाल छिरेपछि तत्कालै के गर्ने भन्ने अन्योल भएकाले चाहेर पनि विदेशीहरू नेपाल आउने सम्भावना कम रहेको हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । ‘हामी पर्यटकलाई स्वागत गर्न पूर्णरूपमा तयार छौं । तर, तत्कालै आउने पर्यटकको हकमा के गर्ने भन्ने नै स्पष्ट हुनुपर्‍यो भन्ने हाम्रो धारणा हो,’ उनले भने ।

अहिले पनि अल्पाइन कल्बका सदस्यहरू, नेपाललाई माया गर्ने पर्यटकले पुरानो बुकिङसमेत रद्द नगरी बसेको अवस्थामा यसलाई सहज गरिदिनुपर्ने उनले बताए ।

नेपाल आउने पर्यटक शहरभन्दा गाउँ जान चाहने भएकाले उनीहरूलाई त्यहाँ कसरी लैजाने भन्ने टुंगो सरोकारवालाले लगाउनुपर्ने टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानका महासचिव सरिता लामाले बताइन् । ‘नेपाल आउने पर्यटकको सबैभन्दा ठूलो संख्या टे«किङ र माउन्टेनियरिङमा छ । उनीहरूलाई त्यहाँसम्म लैजान नसके कसरी आउलान् भन्ने हाम्रो चासो हो,’ उनले भनिन् ।

पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१८ मा १ लाख ६९० हजार १८० र २०१९ मा १ लाख ७१ हजार ९३७ जना पर्यटक टे«किङ तथा माउन्टेनियरिङका लागि नेपाल आएका थिए ।

हाललाई आन्तरिक तथा बाह्य दुवै खालको पर्यटक कम आउने आकलन गर्दै न्यूनतम १० प्रतिशतसम्म सेवा सञ्चालन गर्नेगरी होटेल सञ्चालनमा ल्याउने व्यवसायीहरूको धारणा छ । पछिल्लो १ साता होटेल, रेस्टुराँ तथा बार व्यवसायीले सेवा सञ्चालनका लागि आप्mना कर्मचारीलाई तालीम दिने, स्वास्थ्य मापदण्ड बनाउनेलगायत काम सम्पन्न गरेको हानका महासचिव साजन शाक्यले बताए । अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन शुरू गरिएको उनले बताए । यस्तै होटेल सञ्चालन गर्न आवश्यकताबमोजिम कर्मचारीलाई तालीम दिइसकेको रेस्टुराँ तथा बार एशोसिएशन नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । उनले अहिले पूर्णरूपमा नखुले पनि विस्तारै खुलाउँदै लैजाने रणनीतिअनुसार आफूहरू तयारी अवस्थामै रहेको बताए ।

होटेलहरू बिहीवारबाट सञ्चालनमा आए पनि सरकारले आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू भदौ १ गतेबाट मात्रै खोल्ने निर्णय गरेकाले त्यसपछि मात्रै अन्तरराष्ट्रिय पर्यटकको अवस्था के हुने भन्ने भन्न सकिने वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)