ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ जहाज उडान बन्द : आन्तरिक उडानमा निगमको बजार अंश थप घट्ने

२०७७ सावन, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएको चिनियाँ जहाज बिहीवारबाट औपचारिक रूपमा बन्द गरेसँगै आन्तरिक उडानमा निगमको बजार अंश घट्ने भएको छ ।

नेपालको आन्तरिक उडानमा निगमको बजार अंश सुदृढ गर्न ल्याइएका ६ ओटै चिनियाँ जहाज पूर्णरूपमा सञ्चालन गर्न नसक्दा निगमले आप्mनो बजार अंश बढाउन त सकेन नै, उल्टै घाटा सहनुपर्‍यो ।

पर्याप्त अध्ययनविनै राजनीतिक दबाबमा चीनको एभिक इन्टरनेशनलबाट किनिएका जहाजका कारण आलोचित हुँदै आएको निगमको सञ्चालक समितिको बैठकले साउन १५ बाट यी जहाजको उडान सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

निगमका अनुसार आन्तरिक उडानमा निगमको अहिले करीब ३ प्रतिशत बजार अंश रहेको छ । चिनियाँ जहाजको उडान बन्द गर्ने निर्णयसँगै यो बजार अंशसमेत थप गुम्ने निश्चित छ । यसको मुख्य कारण आन्तरिक उडानका लागि निगमसँग पर्याप्त जहाज नहुनु नै हो । बन्दाबन्दी खुलेसँगै सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान खुला गर्ने निर्णय गरेपछि निजी विमान सेवा कम्पनीले आफ्नो उडान शुरू गर्न तयारी तीव्र पारेका छन् । तर, निगम भने जहाजकै अभावमा आप्mनो अंश गुमाउन बाध्य हुँदै छ ।

चिनियाँ जहाज प्रयोगमा नल्याउने भएसँगै निगमसँग आन्तरिक उडानका लागि तीनओटा ट्वीनअटर विमान छन् । तर, तीमध्ये एउटा ट्वीनअटर मर्मतमै रहेकाले उडान गर्ने अवस्थामा दुईओटा मात्रै रहेको निगमले बताएको छ ।

अब यिनै दुई ट्वीनअटरमार्फत आन्तरिक उडानमा सेवा दिने निगमकी प्रवक्ता अर्चना खड्का बताउँछिन् । ‘बिहीवारबाट चिनियाँ जहाजबाट हुने उडान औपचारिक रूपमा बन्द भएकाले अब निगमसँग रहेका ट्वीनअटर विमानबाटै आन्तरिक उडान गरिनेछ,’ उनले भनिन्, ‘त्यसमा पनि एउटा मर्मतमै रहकाले हाल दुईओटाबाट मात्रै उडान गरिनेछ ।’

हाल रहेका १७–१९ सीटे दुई ट्वीनअटर जहाजले दुर्गम भेगमा सेवा दिने निगमको भनाइ छ । यससँगै धेरै यात्रु हुने मुख्यमुख्य ट्रंक रूटमा भने निगमको सेवा अब नहुने देखिएको छ ।

यसअघि निगमले भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, सिमरा, विराटनर र चन्द्रगढीलगायत ट्रंक रूटमा चिनियाँ एम–६० जहाजमार्फत उडान गर्दै आएको थियो ।

नेपालको आन्तरिक उडानमा निजीक्षेत्रकै विमानसेवा कम्पनीहरूको वर्चस्व छ । नेपालका प्रमुख ट्रंक रूटहरूमा बुद्ध एयर, यति एयर तथा श्री एयरलाइन्स निगमभन्दा निकै बलिया छन् ।

निगमले चिनियाँ जहाज विस्थापन गरेपछि आन्तरिक उडान प्रतिस्पर्धी बनाउन निगमले नयाँ जहाज किन्ने विषयमा छलफल अघि बढाएको प्रवक्ता खड्का बताउँछिन् । यसका लागि एकीकृत आन्तरिक व्यावसायिक योजनाको प्रतिवेदन तयार गरी लागू गर्ने बताइएको छ ।

आन्तरिक उडानका लागि निगमले १८–सीटे चारओटा वाई–१२ तथा ५६–सीटे दुईओटा एमए–६० गरी ६ ओटा चिनियाँ जहाज विभिन्न चरणमा ल्याएको थियो । तीमध्ये अहिले एमए–६० र एउटा वाई–१२ जहाज मात्र उडानयोग्य छन् । अर्को एमए–६० र दुईओटा वाई–१२ जहाज भने लामो समयदेखि ग्राउन्डेड छन् । नेपालगञ्जमा दुर्घटना भएको अर्को वाई–१२ त्यही ग्राउन्डेड छ ।

चिनियाँ जहाज सञ्चालन गर्दा निगमले आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७६/७७ सम्म २ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोर्नु परेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)