ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खुले साना तथा पर्यटकीय होटेल

अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा ठूला होटेल, नजिकिँदै गरेको मुख्य पर्यटकीय सिजनका लागि तयारी गर्ने मौका पाएको व्यवसायीको भनाइ

२०७७ सावन, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले औपचारिक रूपमा होटेल तथा रेस्टुराँ सञ्चालन गर्ने अनुमति दिएसँगै बिहीवारबाट साना तथा पर्यटकीयस्तरका होटेल खुलेका छन् । होटेल एशोसिएशन नेपाल (हान)का अनुसार काठमाडौं उपत्यकासँगै पोखरा, चितवनलगायत प्रमुख पर्यटकीय गन्तव्यका एकतारेदेखि तीनतारेस्तरका पर्यटकीय होटेलले आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएका छन् ।

होटेलसँगै पर्वतारोहण, पदयात्रा तथा ट्राभल÷टूर्ससम्बन्धी व्यवसाय गर्ने कम्पनीहरूले पनि बिहीवारबाट आफ्ना कार्यालय सञ्चालनमा ल्याएका छन् ।

तर, चारतारे तथा पाँचतारे स्तरका होटेल भने कमै सञ्चालनमा आएका छन् । पाँचतारे होटेल सोल्टी क्राउन प्लाज, काठमाडौं अलफ्ट र मेरियट होटेल खुले पनि काठमाडौंका अन्य पाँचतारे होटेल तत्काल ग्राहक नपाउने  देखिएपछि आफ्नो सेवा तत्काल शुरू नगर्ने मनसायमा छन् ।

हाल आन्तरिक रूपमा होटेल सञ्चालनको गृहकार्यमा जुटेका यी होटेल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा छन् । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णयसमेत गरिसकेको छ ।

आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन नहुँदासम्म आन्तरिक र बाह्य पर्यटकको आगमन शून्यप्रायः हुने भएकाले तत्कालै होटेल सञ्चालन गरिहाल्नुपर्ने अवस्था नदेखिएकाले विस्तारै होटेल सञ्चालन गर्ने तयारी होटेल व्यवसायीहरूको छ । ‘अहिले होटेलहरूको बुकिङ नभए पनि अब नेपालमा होटेल व्यवसाय पुनः सञ्चालन भएको सन्देश गएको छ,’ हानका महासचिव साजन शाक्यले भने, ‘भदौ १ देखि अन्तरराष्ट्रिय उडान हुने भनिएको छ । त्यसअनुसार कस्तो परिस्थिति हुन्छ, पर्ख र हेरको अवस्थामा छौं ।’

होटेल सञ्चालनमा आउन थाले पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकलको अस्पष्टताले अन्योलमा परेको होटेल व्यवसायीहरू बताउँछन् । खासगरी विदेशबाट आउने पर्यटकका विषयमा स्पष्ट मापदण्ड नहुँदा अन्योल रहेको उनीहरूको भनाइ छ । विदेशबाट आउने पर्यटक क्वारेन्टाइनमा १४ दिन नै बस्नुपर्ने वा नपर्ने अथवा पीसीआर रिपोर्ट नेगेटिभ भए मात्रै पुग्नेलगायत विषयमा अन्योल रहेको हानको भनाइ छ ।

नेपाली पर्यटनको मुख्य सिजन नजिकिँदै जाँदा यसपटक १०–१५ प्रतिशत पर्यटन आउने प्रारम्भिक प्रक्षेपण हानको छ । गतवर्ष (सन् २०१९) को यही सिजनमा २ लाखदेखि २ लाख ५० हजारसम्म विदेशी पर्यटक नेपाल आएका थिए । तर, यो अवस्थामा फर्कन पुनः ३÷४ वर्ष लाग्ने व्यवसायीको भनाइ छ ।

मुलुकका अन्य पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा तथा अन्य स्थानका होटेल आंशिक रूपमा खुलेका छन् । हान पोखरा च्याप्टरका अध्यक्ष विकल्प तुलाचनले सरकारले अनुमति दिए पनि आन्तरिक र बाह्य उडान शुरू नभएको र सार्वजनिक यातायातसमेत नखुलेकाले पोखराका ठूला होटेल सञ्चालनमा नआएको बताए ।

‘होटेल खोल्ने निर्णयले नजिकिएको पर्यटकीय सिजनको तयारी गर्ने मौका दिएको छ ।

यस क्षेत्रका होटेललाई सञ्चालन र बुकिङलगायत गृहकार्य गर्न पर्याप्त समय मिलेको छ,’ तुलाधनले भने ।

होटेल सञ्चालनभन्दा पनि स्वास्थ्य मन्त्रालय तथा पर्यटन मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना चुनौतीपूर्ण भएको होटल व्यवसायीहरूको भनाइ छ । ‘विशेषगरी साना तथा मझौला होटेललाई थप व्ययभार पर्ने देखिन्छ,’ तुलाचनले भने ।

हानका चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराईले चितवनमा आंशिक रूपमा होटेलहरू खुलेको जानकारी दिए । ११० पर्यटकीय होटेल रहेको चितवनमा अहिले सौराहा घुम्न खुला गरिएको उनले बताए । सबै पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिँदै भट्टराईले पर्यटन क्षेत्रका लागि जारी स्वास्थ्य प्रोटोकल कडाइका साथ पालना गर्न सबै होटेललाई परिपत्र गरिएको बताए । तत्काल विदेशी पर्यटकको बुकिङ नभए पनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सौराहाका होटेल तथा पर्यटकीय गतिविधि सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यद्यपि बन्दाबन्दीअघि विदेशी पर्यटकबाट गरिएको केही बुकिङ बाँकी रहेको र सेप्टेम्बर अक्टोबरका लागि पनि कतिपय पर्यटकले बुकिङका लागि चासो दिइरहेको होटेल व्यवसायी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)