पर्वत । पर्वत र बागलुङ जोड्ने गरी कालीगण्डकी माथि निर्माण गरिएको सिंगल स्पानको झोलुङे पुल शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङबाट बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने पुल आवातजावतका लागि खुला भएको हो ।
यो पुल ५७६ मिटर लामो छ भने नदीको सतहबाट १३० मिटर अग्लो छ । वैशाखको शुरूमै निर्माण सम्पन्न भएर पनि लकडाउनका कारण औपचारिक शुरूआत हुन पाएको थिएन । शुक्रवारदेखि सर्वसाधारण आवातजावत गर्न पाउने गरी खुला गरिएको कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुबेदीले जानकारी दिए ।
२०७६ फागुनमै सक्ने भनिएको पुल दुई ओटा राजमार्ग माथिबाट लट्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लट्ठा तानेको थियो । पुलले १ पटकमा ६१२ जना (८५ मेट्रिक टन) भार धान्न सक्ने गरी निर्माण गरिएको छ ।
पुल निर्माण तथा सञ्चालनमा आएसँगै दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पुल बनेपछि पाङका बासिन्दालाई हिँडडुलमा सहज भएको बताए । ‘पुल नहुँदा भीरको बाटो एक घण्टा लगाएर मालढुंगा झरेर बागलुङ जानु पथ्र्यो’, जोशीले भने, ‘पुलबाट १० मिनेटमै पुग्न सकिने भयो ।’
पुलमार्फत कृषि उपज बजारीकरण गर्न पनि सजिलो भएको जोशीले बताए । स्थानीयलाई पुलमार्फत बागलुङ बजारमा तरकारी विक्री गरेर आर्थिक उपार्जनमा लाग्न पनि नगप्रमुख जोशीले अनुरोध गरे ।
पुल बनेपछि जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता हटेकोमा स्थानीय खुशी छन् । लामो समयको प्रयासबाट पुल बनेकोमा स्थानीय शंकर रिजालले खुशी व्यक्त गरे । पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी, मुस्ताङ जाने पर्यटकहरूलाई समेत यसले आकर्षित गर्ने अपेक्षा रहेको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । शुरूमा रू. १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लट्ठा र लट्ठा तान्ने मेशिन मन्त्रालयले उपलब्ध गराएपछि रू. ६ करोड ९१ लाखमा निर्माण सम्झौता भएको थियो ।