ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कञ्चनपुरमा २ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज

असारमा मात्रै अढाई अर्ब खर्च

२०७७ सावन, १८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरमा गत आर्थिक वर्षमा २ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक (कोलेनिका)को कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा २ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बजेट फ्रिज भएको हो ।

जिल्लास्थित सरकारी कार्यालय, योजना तथा पूर्वाधार विकास कार्यालयहरूले प्रदेश र संघ सरकारबाट प्राप्त बजेट खर्च गर्न नसक्दा ठूलो परिमाणमा बजेट फिर्ता भएको हो । कञ्चनपुरका प्रमुख कोष नियन्त्रक मणिभक्त न्यौपानेका अनुसार गत आवमा जिल्लामा चालू र पूँजीगत गरी कुल १३ अर्ब ३८ करोड १७ लाख ३८ हजार बजेट प्राप्त भएकोमा ११ अर्ब २७ करोड ८३ लाख ३४ हजार रुपैयाँ मात्र खर्च भएको छ । कोरोना संक्रमणको महामारीका कारण करीब ४ महीना गरिएको लकडाउनले बजेट खर्च प्रभावित भएको न्यौपानेको भनाइ छ ।

‘विशेषगरी पूँजीगत बजेट खर्च अन्तिम चौमासमा हुन्छ,’ उनले भने, ‘चैतदेखि गरिएको बन्दाबन्दीका कारण विकास निर्माण ठप्प भएपछि लक्ष्य अनुसार बजेट कार्यान्वयन हुन सकेन । यद्यपि जिल्लामा समग्र रूपमा ७८ प्रतिशत बजेट खर्च भएको छ, जुन सन्तोषजनक नै हो ।’ जिल्लामा सडक र पुल आयोजनामा बजेट खर्च बढी भएकाले लकडाउनका बीच पनि जिल्लामा बजेट खर्च राम्रो देखिएको उनको दाबी छ ।

कोलेनिका कञ्चनपुरको तथ्यांक अनुसार जिल्लामा संघीय सरकारबाट विनियोजित बजेटको खर्चभन्दा प्रदेश सरकारको बजेट खर्च न्यून देखिएको छ । केन्द्र सरकारबाट प्राप्त ११ अर्ब २२ करोड २४ लाख ६६ हजार बजेटमध्ये ९ अर्ब ७९ करोड ५४ लाख ७५ हजार खर्च भएको छ भने १ अर्ब ४२ करोड ६९ लाख ९१ हजार रुपैयाँ फिर्ता भएको छ । त्यस्तै प्रदेश सरकारको २ अर्ब १५ करोड ९२ लाख ७२ हजार बजेटमध्ये १ अर्ब ४८ करोड २८ लाख ५८ हजार खर्च भएर ६७ करोड ६४ लाख १३ हजार रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकार संरचना अझै पूर्ण नभइसकेकाले बजेट कार्यान्वयनमा कमी आएको प्रमुख कोष नियन्त्रक न्यौपानेको भनाइ छ ।

कञ्चनपुरमा चालूतर्फ ८० दशमलव ९८ र पूँजीगततर्फ ७१ दशमलव ७८ प्रतिशत बजेट मात्र रकम खर्च भएको छ । चालूको तुलनामा पूँजीगततर्फ ९ दशमलव २ कम खर्च भएको छ । पूँजीगततर्फ प्रदेश र संघ दुवैको गरी ९ अर्ब ४६ करोड १९ लाख ६ हजार बजेटमध्ये ७ अर्ब ९६ करोड ३० लाख ७७ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

जिल्लामा आर्थिक वर्षको अन्तिम महीनामा मात्रै करीब अढाई अर्ब बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरको तथ्यांकले गत आवको असारमा २ अर्ब ४६ करोड ४४ लाख २३ हजार रुपैयाँ खर्च भएको देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)