ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाको असर : माग घटेपछि उद्योगको उत्पादन ६० प्रतिशतमा खुम्चियो

२०७७ सावन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रवारदेखि २ साताका लागि विरानगरमा निषेधाज्ञा जारी गरेकाले उद्योग र बजारमा त्यसको प्रत्यक्ष असर परेको छ । महानगरका उद्योगहरू केही बन्द छन् भने केही आंशिक सञ्चालनमा छन् । व्यापार व्यवसाय भने ठप्प छ ।

बजारमा माग घटेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूले उत्पादन क्षमता ६० प्रतिशतमा झरेका छन् । ४ महीना लामो बन्दाबन्दी अन्त्य भएपछि बजार र उद्योग खुले पनि वस्तुको माग र खपत भने सामान्य अवस्थामा भन्दा कम छ । उत्पादन विक्री नभएपछि उत्पादनमा ४० प्रतिशत कटौती गर्नुपरेको उद्योगी व्यवसायीहरूले बताएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार ४ महीनापछि बन्दाबन्दी हटे पनि बजारको माग नसुध्रिएकाले उद्योगहरूले उत्पादनमा कटौती गर्नुपरेको हो । उनका अनुसार बजारमा उपभोक्ताको किन्न सक्ने क्षमतामा कमी आएको छ र उपभोक्ताले आवश्यकभन्दा कम वस्तु किनिरहेका छन् । त्यसैले उद्योगहरूले उत्पादनमा ४० प्रतिशत कटौती गर्नुपरेको उनको भनाइ छ । ‘कोरोनाका कारण उपभोक्ताको किन्न सक्ने क्षमतामा कमी आएको छ,’ उनले भने ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले चारमहीने लकडाउनका कारण थला परेका उद्योगहरू महानगरमा भएको निषेधाज्ञाले थप समस्यामा परेको बताए । उनले उद्योगहरूले ६० देखि ७० प्रतिशत मात्र उत्पादन गरिरहेको बताउँदै बजारमा माग नभएका कारण उत्पादन कटौती गर्नुपरेको उल्लेख गरे । उनका अनुसार उत्पादन कटौती भएपछि उद्योगमा काम गर्ने मजदूरको रोजगारीमा समेत कटौती भइरहेको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका ५०० उद्योगमा कार्यरत ५० हजार मजदूरमध्ये ३० प्रतिशतले कोरोनाका कारण रोजगारी गुमाउनेछन् । अहिले १५ प्रतिशतले रोजगारी गुमाइसकेको उनले बताए ।  

घिमिरेले उद्योग बचाउन बैंक ब्याज, बीमा प्रिमियम, डिमान्ड शुल्क र लेबर चार्जमा छूट हुनुपर्ने उल्लेख गरे । उनले भने, ‘सरकारले उद्योग बचाउन अब ‘नो वर्क नो पे’को नियम लगाउन उद्योगलाई छूट दिनुपर्छ ।’ विराटनगर महानगरमा लगाइएको निषेधाज्ञाले उद्योगी, व्यापारी र व्यवसायीलाई धराशयी बनाउने विराट व्यापार संघका अध्यक्ष सुजन थापाको भनाइ छ । उनले भने, ‘कोरोना संक्रमणको चेन ब्रेक गर्न हामीले २ साता बन्द गर्न सहमति जनायौं तर अहिले भीडभाड भने उस्तै छ । सतर्कता देखिँदैन ।’

चार महीना लामो लकडाउनपछि व्यापारिक प्रतिष्ठानहरू खुले पनि उपभोग्य सामग्रीको विक्रीसमेत पहिलेको जस्तो नभएको उनले जानकारी दिए । उपभोक्तासँग किन्न सक्ने क्षमतामा कमी आएकाले पहिलेको तुलनामा लकडाउन खुले पनि सन्तोषजनक व्यापार हुन नसकेको थापाले बताए । अहिले निषेधाज्ञा भएकाले विराटनगरका व्यापारी व्यवसायी थप समस्यामा परेको उनको भनाइ छ । उनले भने, ‘सरकारले प्रभावकारी कदम चाल्न आवश्यक छ, जसलाई आम सर्वसाधारणले पालना गरून् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)