ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुख्य नाकामा कोरोनाको त्रास : रोकियो रातो च्यानलका मालसामानको जाँचपास

२०७७ सावन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्ज कोरोनाको केन्द्रबिन्दु बनेपछि यस नाकाका भन्सार कार्यालयले रातो च्यानलमा परेका मालसामानको जाँचपास बन्द गरेका छन् । कोरोना संक्रमित र मृतक बढ्दै गएको सदरमुकाम वीरगञ्जमा ९ दिनदेखि लगाइएको निषेधाज्ञा सोमवारदेखि पर्सा जिल्लाभरि लागू गरिएको छ ।

भारतबाट मालसामान लिएर आएका गाडी चालक र सहचालकका कारण नाकामा संक्रमणको जोखिम उच्च रहेको भन्सार अधिकारीहरू बताउँछन् । जोखिम बढेकाले आइतवारदेखि ७ दिनसम्मका लागि रातो च्यानलका मालसामानको जाँचपास रोकिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।

‘रातो च्यानलमा पर्ने मालसामान जाँच्ने क्रममा मानिसहरूको बढी सम्पर्क हुने र यसबाट संक्रमण फैलिन सक्ने देखिएकाले अहिलेका लागि रोकिएको छ,’ भन्सार प्रमुख श्रेठले आर्थिक अभियानसँग भने । ७ दिनपछि समीक्षा गरेर अर्को निर्णय लिइने उनले बताए ।

अहिले भन्सारले प्रयोग गरेको आशिकुडा वल्र्ड अनलाइन प्रणालीमा आयातकर्ताले मालसामानको विवरण समावेश गरेपछि प्रणालीले हरियो, पहेंलो र रातो च्यानलमा वर्गीकरण गर्छ । यस्तो वर्गीकरण मालसामानको प्रकृति र राजस्व चुहावटको जोखिम मूल्यांकनमा आधारमा हुने भन्सार अधिकारीहरू बताउँछन् ।

हरियोमा परेको मालसामानमा राजस्व चुहावटको सम्भावना न्यून हुने भएकाले प्रज्ञापनपत्रमा भन्सार कर्मचारीले हस्ताक्षरमात्रै गर्छन् । पहेंलोमा कागजपत्र जाँच गरी हस्ताक्षर गरिन्छ । रातो च्यानलमा पर्नेको कागजात र मालसामान दुवै राम्ररी जाँच गरेरमात्र छोड्नुपर्ने भएकाले संक्रमणको जोखिम पनि बढी हुने श्रेष्ठले बताए ।

वीरगञ्ज भन्सारले पनि रातो च्यानलमा पर्ने वस्तुको जाँचपास अहिलेका लागि रोक्नेबारेमा भन्सार विभागसँग समन्वय भइरहेको बताएको छ । ‘संक्रमणको जोखिम अधिक देखिएकाले यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको छ,’ वीरगञ्ज भन्सारका सूचना अधिकृत विमल साहले भने ।

सुक्खा बन्दरगाहमा आउने मालसामानमध्ये रातो च्यानलमा पर्नेको परिमाण ३० देखि ३५ प्रतिशतसम्म रहने भन्सारले बताएको छ । तर, मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारमा यस्ता वस्तु ६० प्रतिशतसम्म आउने भएकाले सहजीकरणमा समस्या हुनसक्ने भन्सार अधिकारीहरू बताउँछन् ।

वीरगञ्ज नाकाका कर्मचारीले दिनहुँ भारतबाट मालसामान लिएर आएका चालक, सहचालक, स्थानीय सेवाग्राही र सरोकारवालासमेत करीब २ हजार मानिससँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपरेको साहले बताए ।

नाकामा खटिएका भन्सार कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा रहेको साहले बताए ।

राज्यले नाकामा खटिएका भन्सार कर्मचारीलाई प्रोत्साहन नगरेको कर्मचारीहरू बताउँछन् । संक्रमणको जोखिम मोलेर नाकामा काम गर्ने कर्मचारीको मनोबल उच्च राख्न आग्रह गर्दै ३ महीनाअघि वीरगञ्ज भन्सारले आफ्नो विभागलाई पत्राचार गरेको थियो ।

कागजमै सीमित सुरक्षा विधि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वशाखमै जोखिम न्यूनीकरणका लागि भन्सार कर्मचारीलाई आयात नियमनको सुरक्षा विधि सुझाएको थियो । आयातित मालसामान, ढुवानीका साधन र चालकबाट हुने संक्रमणको सम्भावना घटाउन सुरक्षा विधि तयार पारिएको हो ।

मुख्य नाका वीरगञ्जमै अहिलेसम्म यो सुरक्षा विधि लागू हुन नसकेको भन्सार कर्मचारीको भनाइ छ । भन्सार कार्यालयहरूले विभागलाई यसबारेमा पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन । ढुवानीका साधन निःसंक्रमण गरेर कन्साइन्मेन्ट लोड गरिएको प्रमाणपत्र र चालक सहचालकको स्वास्थ्य परीक्षणजस्ता विधि कार्यान्वयनमा छैनन् । भारतबाट आउने उनीहरूलाई निःसंक्रमित भएको निश्चित गरिनुपर्नेमा ज्वरोमात्रै नापेर छोडिन्छ । जाँचपासमा संलग्न कर्मचारीलाई जिउ छोप्ने कपडा र आँखाको सुरक्षाका लागि ठूलो आकारको चश्मा लगाउनुपर्ने उल्लेख छ । ‘दुवै हातमा रबरको डिस्पोजिबल पन्जा र सर्जिकल मास्क लगाउन भनिएको छ । तर, भन्सारका कर्मचारी सामान्य पन्जा र मास्कको भरमा काम गरिरहेका छन्,’ साहले भने ।

पासवर्ड उपयोगमा उदासीन
सम्भव भएसम्म विद्युतीय माध्यमबाट कागजात हेर्ने भनिए पनि विभागले कानूनमै भएको आधिकारिक पासवर्डबाट जाँचपासको प्रक्रियासमेत उपयोग गरेको छैन । भन्सार ऐनमा ‘भन्सार अधिकृतले कम्प्युटर प्रणालीमा भएको अभिलेखअनुसार आधिकारिक पासवर्डमार्पmत अघि बढाएको कागजी प्रक्रियामा दस्तखत नभए पनि त्यस्तो कागजातलाई दस्तखत भएसरह मानिने’ व्यवस्था छ ।

कोरोना संक्रमण फैलिएकाले यो कानूनअनुसार जाँचपासको व्यवस्था मिलाउन भन्सार कार्यालयहरूले विभागलाई आग्रह गरेका थिए । यो प्रक्रिया उपयोग गर्दा हरियो र पहेंलो च्यानलका मालवस्तुको जाँचपासमा सेवाग्राहीसँग सम्पर्क नहुने र संक्रमणको सम्भावना घट्ने नाकाका कर्मचारी बताउँछन् ।

विभागले यसमा चासो नदिँदा अहिले आयातकर्ताले प्रिन्ट गरेर ल्याएको कागजातमा भन्सार कर्मचारीले हस्ताक्षर गरिरहेका छन् । विद्युतीय प्रणालीको दुरुपयोगको सम्भावनाका कारण तत्कालै यो प्रणालीमा जान नसकिएको भन्सार विभागका उच्च अधिकारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)