ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिक स्टक डिलर कम्पनीले पायो आशयपत्र

२०७७ सावन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको काम गर्न आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ । गत साता बसेको बोर्ड सञ्चालक समितिको बैठकले कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीलाई आवश्यक पूर्वाधार तयार गर्ने निर्देशनसहित आशयपत्र दिने निर्णय गरेको हो ।

बोर्डले सोमवार आधिकारिक रूपमा नै नागरिक स्टक डिलर कम्पनीलाई यससम्बन्धी पत्र पठाउँदै छ । कम्पनीले आशयपत्रका लागि बोर्डमा दिएको निवेदनका आधारमा उसलाई स्टक डिलरको काम गर्न आशयपत्र दिने निर्णय गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले बताए ।

‘नागरिक स्टक डिलर कम्पनीलाई आवश्यक पूर्वाधार विकास गर्ने निर्देशनसहित आशयपत्र दिने निर्णय भइसकेको छ । सोमवार हामीले आधिकारिक रूपमा नै पत्र पठाउँदै छौं,’ उनले भने ।

बोर्डको निर्णयसँगै नागरिक लगानी कोषलाई स्टक डिलरको कम्पनीका रूपमा काम गर्ने बाटो खुलेको छ । अब नागरिक स्टक डिलरले सेवा सञ्चालनका लागि ६ महीनाभित्र आवश्यक पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । आवश्यक पूर्वाधार तयार भएपछि सेवा सञ्चालनका लागि पुनः बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि बोर्डले आवश्यक अध्ययन गरी सेवा सञ्चालनका लागि अन्तिम स्वीकृति दिनेछ ।

कम्पनीले बोर्डबाट अन्तिम स्वीकृति पाएपछि नेपाल स्टक एक्सचेन्जबाट ब्रोकर कोड नम्बर लिनुपर्छ ।

त्यसपछि कारोबार सेटलमेन्टका लागि नेपाल क्लियरिङ हाउसको सफ्टवेयरसँग आफ्नो सफ्टवेयर मिलान गर्नुपर्ने हुन्छ । त्यसपछि नागरिक स्टक डिलरले पूर्णरूपमा सेवा सञ्चालन गर्न सक्छ ।

कम्पनीले आशयपत्र पाउनुअघि नै आवश्यक पूर्वाधार जुटाउने काम गर्दै आएको छ । कम्पनीको सीईओ नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पु¥याइएको छ भने कम्प्युटर सफ्टवेयरहरू जडान गर्ने काम पनि भइरहेको छ । कम्पनीको सीईओका लागि चार जनाले आवेदन दिएका छन् । ‘अब छिट्टै कम्पनी सञ्चालनमा आउनेछ,’ लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले भने ।

छनोट तथा मूल्यांकन समिति बनाएर यथाशीघ्र सीईओ नियुक्ति गरिने नेपालले बताए । साथै, काठमाडौंको बानेश्वरस्थित कृष्णा टावरमा नागरिक स्टक डिलरको कार्यालय राख्ने तयारी हुँदै छ । सीईओका लागि विशाल अग्रवाल, सन्तोष नेपाल, महेश्वरलाल श्रेष्ठ र डा. इन्द्रकुमार लुइँटेलले आवेदन दिएका छन् । अग्रवाल पूँजी बजारका अनुभवी व्यक्ति हुन् भने नेपाल पनि पूँजी बजारमा आबद्ध छन् । त्यस्तै, महेश्वरलाल श्रेष्ठ नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी हुन् भने लुइँटेल नागरिक लगानी कोषका नायब कार्यकारी निर्देशक हुन् ।

कोषले शेयर किनबेच गर्ने उद्देश्यसहित गत माघमा नै सहायक कम्पनीका रूपमा नागरिक स्टक डिलर कम्पनी स्थापना गरेको थियो । त्यसमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र नेपाल टेलिकमको शेयर स्वामित्व रहेको छ । स्टक डिलर कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ हुनेछ । त्यसमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्वामित्व छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी रहेको ३० प्रतिशत शेयर भने सर्वसाधारणमार्फत उठाइनेछ । स्टक डिलर कम्पनीले खासगरी बजार निर्माताको काम गर्ने गर्छ । विशेषगरी शेयरबजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्ने, विक्री नभएको शेयर किन्नेजस्ता काम पनि स्टक डिलर कम्पनीले गर्नुपर्ने हुन्छ । नेपालमा यसअघि स्टक डिलर कम्पनी थिएन । नागरिक स्टक डिलर कम्पनी नै नेपालको पहिलो स्टक डिलर कम्पनी हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)