ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची खानेपानी आयोजना : सुरुङ मार्गका चारओटै गेट भित्रबाट खोल्ने गरी सारिने

२०७७ सावन, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । पानी परीक्षणका क्रममा सुरुङ मार्गको १७ नम्बर गेटको नटबोल्ट फुस्किएर भएको दुर्घटनापछि अब मेलम्ची खानेपानी आयोजनाले सो जोखिम दोहोरिन नदिन चारओटै गेट भित्रबाट नै खोल्न मिल्ने गरी पुनःस्थापना गर्ने निर्णय गरेको छ । आयोजनाले अम्बाथान, ग्याल्थुङ, सिन्धु र सुन्दरीजलमा रहेका गेटका प्यानल निकाल्ने र सुरुङ मार्गभित्रबाटै गेट खुलाउने निर्णय गरेको हो ।

असार २१ गते सुरुङ मार्गमा पानी परीक्षणका लागि पथान्तरण गरिएको र त्यसको ९ दिनमै अर्थात् असार ३० गते पानीको दबाबका कारण मुख्य मुहान रहेको अम्बाथानको १७ नम्बर गेटको नटबोल्ट फुस्किएपछि मानवीय क्षति भएको थियो । अन्य तीन गेटमा पनि १७ नम्बरमा जस्तै समस्या रहेकाले ती गेट पनि पुनः जडान गरिनेछ । करीब साढे ५ टनका ती गेट भित्रको बाहिर र बाहिरको भित्र सार्न चुनौतीपूर्ण रहेको आयोजनाको भनाइ छ ।

आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले २ महीनाको रिकभरी प्लानअनुसार प्राविधिक अध्ययनका लागि भारतबाट मेकानिकल इन्जिनीयर नेपाल आएको जानकारी दिए । उक्त आयोजनाको परामर्शदाता कम्पनी रहेको स्पेन इप्टिसासँगको छलफलपछि भारतबाट प्राविधिकलाई नेपालमा ल्याइएको उनको भनाइ छ । कोरोनाका कारण स्पेनबाट हाइड्रो मेकानिकल इन्जिनीयरलाई नेपाल ल्याउन समस्या भएपछि परामर्शदाता कम्पनीले नै भारतबाट मेकानिकल इन्जिनीयर ल्याएको हो । ती मेकानिकल इन्जिनीयर सोमवार नेपाल आइपुगेका छन् ।

भारतबाट आएका ती प्राविधिकसहित आयोजनाका प्राविधिकहरू समेत साइटमा गएर परीक्षण गर्नेछन् । आयोजनाले सुरुङ मार्गका ती गेट पुनःस्थापना गर्दा अन्य केही प्राविधिक समस्या भएमा परामर्शदाता कम्पनी मुख्य कार्यालयमा रहेका प्राविधिकसँग सल्लाह लिने तयारीसमेत गरिएको श्रेष्ठले बताए । उनले पहिला गेट कसरी राख्ने भन्ने विषयमा डिजाइन स्पष्ट नभएकाले त्यसलाई पनि पुनर्मूल्यांकन गरिने जानकारी दिए । उक्त दुर्घटनापछि खानेपानी मन्त्रालयले गठन गरेको अध्ययन समितिले पहिला बनाइएको डिजाइनअनुसार काम नगर्दा समस्या भएको भन्दै त्यसलाई सुधार गर्न निर्देशनसमेत दिइसकेको छ ।

आयोजनाले सजिलोका लागि मात्रै बाहिरबाट गेट खोल्ने व्यवस्था गरेको र नटबोल्टहरूले पानीको बहाव थेग्न नसकेर दुर्घटना भएको निष्कर्ष निकालेको थियो ।

अहिलेको परीक्षण सफल भएको भए भदौ अन्तिमसम्ममा पानी आउने दाबी मन्त्रालयले समेत गरेको थियो । तर, परीक्षणका क्रममा उक्त दुर्घटना भएको र गेट राख्ने कार्यमै गम्भीर त्रुटि भएकाले काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने समयावधि पर धकेलिएको छ । आयोजनाले बनाएको रिकभरी प्लानअनुसार २ महीनाभित्र अर्थात् असोजसम्ममा यी गेट राख्ने काम सकिने र त्यसपछि पनि परीक्षण गर्न २ महीना बढी लाग्ने भएकाले आगामी मङ्सिर÷पुससम्म परीक्षणमै बित्ने आयोजनाको भनाइ छ

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

चन्द्र कुमार राई

[Aug 4, 2020 05:59am]

...तर, परीक्षणका क्रममा उक्त दुर्घटना भएको र गेट राख्ने कार्यमै गम्भीर त्रुटि भएकाले काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने समयावधि पर धकेलिएको छ । ... अरु २,४ बर्ष पछि धकेलौं। कमाऔं, रमाऔं... लुट्नसम्म लुट...



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)