ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय उडान सुचारु गर्न १२ कम्पनीको प्रस्ताव

उडानका लागि कम्पनीहरूको तयारी तीव्र

२०७७ सावन, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारको भदौ १ बाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णयसँगै आन्तरिक तथा अन्तरराष्ट्रिय विमान सेवा कम्पनीहरूले उडानको तयारीलाई तीव्रता दिएका छन् । अन्तरराष्ट्रिय उडानका लागि सोमवारसम्म नेपालका दुई वायुसेवा कम्पनीसहित १२ ओटा कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रस्ताव पेश गरेका छन् । त्यस्तै, आन्तरिकतर्फ हाल सञ्चालनमा रहेका सबै आन्तरिक वायुसेवा कम्पनीले प्रस्ताव पेश गरेको प्राधिकरणले बताएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म मुलुकभर बन्दाबन्दी लागू गर्दा उद्धार तथा मेडिकल कार्गो उडानबाहेकका सबै व्यावसायिक उडान बन्द थिए ।

झन्डै ५ महीनासम्म बन्द रहेको व्यावसायिक उडान भदौ १ गतेदेखि खोल्ने निर्णय गरेपछि अन्तरराष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजीक्षेत्रको हिमालय एयरलाइन्ससहित भारतको इन्डिगो एयर, चीनको एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजिरा एयर, संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, मलेशियाको मलेशियन एयर र मालिन्दो एयर, साउदी अरबको एयर अरेबिया र टर्कीको टर्किश एयरलाइन्सले उडान शुरू गर्ने प्रस्ताव पेश गरेका छन् ।

यी विमान कम्पनीले सातामा १५८ उडान गर्ने प्रस्ताव गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए । ‘सोमवारसम्म अन्तरराष्ट्रिय उडानका लागि १२ ओटा कम्पनीले सातामा १५८ उडान गर्ने प्रस्ताव आएको छ । यो संख्या अझै बढ्न सक्छ,’ उनले भने ।

प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगमले अधिकतम ५७ उडानको प्रस्ताव पेश गरेको छ भने टर्किश, एअर चाइना र चाइना साउदर्नले न्यूनतम एक÷एक उडानका लागि प्राधिकरणमा प्रस्ताव पेश गरेका छन् ।

प्राधिकरणका अनुसार कसलाई कति उडान गर्न दिने भन्ने बारेमा निर्णय भइसकेको छैन । अन्तरराष्ट्रिय उडानको हकमा बन्दाबन्दी अघि हुने उडान संख्याको २५–३० प्रतिशत मात्र उडान अनुमति दिइने योजना प्राधिकरणको छ ।

सुरक्षित उडानका लागि विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाइसकेको छ । ‘पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको अवस्थामा कहाँ कति उडान गर्ने भन्ने तय गर्न भने बाँकी नै छ,’ क्षत्रीले भने । ‘अन्तरराष्ट्रिय उडानका हकमा गन्तव्यअनुसार कुन एयरलाइन्सलाई कति उडान गर्न दिने  भन्ने बारेमा हामी अझै छलफलमै छाैं ।’

बन्दाबन्दी अघिको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३ नेपालीसहित ३० वायुसेवाप्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दैै आएका थिए । सामान्य अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तरराष्ट्रिय गरी दैनिक करीब ५०० उडान हुने गर्थ्याे ।

आन्तरिक वायुसेवा कम्पनीहरूले आफ्नो स्ट्यान्डर्ड अपरेशन प्रोसिड्युर्स (एसओपी) स्वीकृत गराई उडानका लागि प्रस्ताव प्राधिकरणमा पेश गरेका छन् । आन्तरिक उडानको हकमा अधिकतम ३३ प्रतिशत उडान सञ्चालन गर्न दिने गरी गृहकार्य भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

बन्दाबन्दी अघिको उडानको अनुपातमा भदौ पहिलो साता वायुसेवा कम्पनीले जम्मा १५ प्रतिशतबाट उडान शुरू गर्ने वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेल बताउँछन् । ‘अवस्था हेरी त्यसलाई बढाउँदै लैजाने गरी विमान सेवा कम्पनीहरूले तयारी गरिरहेका छन्,’ उनले भने, ‘शुरूमा यात्रु संख्या कम हुने हाम्रो आकलन छ । देशभित्रै केही स्थानमा कोरोना संक्रमण बढ्दै गएकाले पनि तत्कालै यात्रु बढी हाल्ने देखिँदैन ।’

प्राधिकरणका अनुसार भदौ १ गतेदेखि हुने उडानको अवस्था तथा कोरोना भाइरस संक्रमणको अवस्था र जोखिम हेरेर उडान घटबढबारे थप निर्णय लिइनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)