ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनपछि रिकन्डिशनका सवारीसाधनमा आकर्षण

महँगा बेच्न चाहने, सस्ता किन्ने बढे

२०७७ सावन, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । लकडाउनका कारण ३ महीनासम्म बन्द अटोमोबाइल बजार लकडाउन खुकुलो पारिएपछि असारदेखि नै खुलेको छ । हाल आफ्ना देशभरका डिलरमार्फत सवारीसाधन विक्री गर्ने कम्पनीको कारोबार घटे पनि समग्र अटोमोबाइल बजारले भने गति लिन थालेको छ । यसमा पनि लकडाउनपछि ग्राहकहरू नयाँ गाडीभन्दा रिकन्डिशनका सवारीसाधनप्रति आकर्षित भएका छन् ।

शिव ज्योति अटो सेन्टर सीतापाइलाका प्रबन्ध निर्देशक विष्णु हरि पाठकका अनुसार लकडाउनपछि सवारीसाधनका किन्न रिकन्डिशन सेन्टरमा आउने ग्राहक  बढेका छन् । तर यो बजार सस्ता सवारीले धानेको छ । ‘सामान्य अवस्थामा भन्दा ५० प्रतिशत ग्राहक बढेका छन्,’ उनले भने । लकडाउनपछिको एक महीनामा आफूले २० ओटाभन्दा बढी साना गाडी विक्री गरेको भन्दै उनले सोही बराबर थप माग पनि रहेको बताए । उनको कम्पनीबाट पहिले ठूला गाडी महीनामा ३० ओटासम्म बिक्ने गरेकोमा यो अवधिमा ठूला गाडी भने दुईओटा मात्र बिकेका छन् । ‘सस्ता गाडीको माग बढी छ, तर मागअनुसार उपलब्ध गराउन सकिएको छैन,’ उनले बताए ।

ए–वन अटो ट्रेडर्स प्रालि बिजुलीबजारका निर्देशक हेमप्रसाद चौधरीको पनि यस्तै अनुभव छ । ‘सस्ता गाडी खरीद गर्न आउनेको संख्या बढेको छ, तर विक्री गर्न आउने चाहिँ महँगा गाडीको प्रस्ताव लिएर मात्र आएका छन्,’ उनले बताए । उनीसँग लकडाउनअघि स्टक रहेका पाँचओटा गाडी विक्री भइसके । सस्ता गाडी खरीद गर्न चाहने ग्राहक आइरहे पनि मागअनुसार विक्री गर्नेहरू नआएपछि बजार बढाउन नसकिएको उनले बताए ।

यता, दुईपांग्रेतर्फ शोरूमबाटै पनि नयाँ मोटरसाइकल र स्कूटर खरीद गर्ने ग्राहक बढिरहेकोमा रिकन्डिशन सेन्टरमा पनि पुराना मोटरसाइकल÷स्कूटर खरीद गर्नेको संख्या पनि सोहीअनुरूप बढेको छ । आरडीटी टाइम्स अटो खुशिबुका सञ्चालक राजेश श्रेष्ठलाई लकडाउनले बजार खस्किन्छ कि भन्ने चिन्ता थियो । तर अवस्था सोचेभन्दा राम्रो भइदियो । ‘कोरोनापछि रिकन्डिशन सेन्टरको बजार अनपेक्षित रूपमा बढेको छ,’ उनले बताए । स्कुटरको माग बढी रहेको र मोटरसाइकल पनि सस्ता मोटरसाइकल किन्न खोज्ने ग्राहकको संख्या बढेको उनले  सुनाए ।

काठमाडौंमा मात्र नभएर काठमाडौंभन्दा बाहिर पनि रिकन्डिशनको बजार बढेको देखिन्छ । गोरखकाली रिकन्डिशन पोखराका सञ्चालक रञ्जित विश्वकर्माले लकडाउन खुलेलगत्तै आफूसँग स्टक भएका ३० ओटा मोटरसाइकल र स्कूटर बिकेको बताए । ‘स्टक छैन, किन्न आउने बढे पनि बेच्न आउने नभएकाले माग भएपनि पुर्‍याउन सकिएको छैन,’ उनले बताए ।

रिकन्डिशनतर्फ ग्राहकको आकर्षण बढ्नुलाई व्यवसायीले कोरोनाको बढ्दो संक्रमणसँग दाँज्ने गरेका छन् । सार्वजनिक सवारीमा जोखिम कायम रहेको दैनिक क्रियाकलापमा फर्कनैपर्ने बाध्यताका कारण रहरभन्दा आवश्यकताले सवारीको माग बढेको हो । रेभा मोटर्स सेन्टर बानेश्वरका सञ्चालक रामस्वरूप प्रधान दैनिक क्रियाकलापमा फर्कन सार्वजनिक सवारीको विकल्पको रूपमा ग्राहकले पुरानो भए पनि निजी सवारी खरीद गरिरहेको बताउँछन् ।

यस्तै कोरोनापछि निजी सवारीप्रति ग्राहकको थप आकर्षण बढेको नाडा अटोमोबाइल डिलर एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)